३ चैत २०७९, शुक्रवार

इन्जिनियर भन्छन्: “बिचल्लिमा पार्दिई पापीले, विश्वासघातीले !”

घायलश्री
इञ्जिनियर भन्छन्ः
‘विचल्लीमा पार्दिई पापीले, विश्वासघातीले !’

घरको खबर के कसो छ छोरी ?
घरै छोडी गै भन्थे निष्ठुरी,
जीवनसाथीले !
विचल्लीमा पार्दिई पापीले
विश्वासघातीले ।

माथि लेखिएका गीतको टुक्का लोक दोहोरी एल्वम ‘विश्वासघाती’ बाट लिइएको हो भने यस गीतमा स्वर दिएका छन् कुमार खड्काले । यो उनको पहिलो लोकदोहोरी एल्वम हो ।
२०२१ साल श्रावण २० गते कागेश्वरी मनहरा नगरपालिका-२ आलापोटमा जन्मिएका उनी पेसाले इञ्जिनियर हुन् तर गीत सङ्गीत भनेपछि हुरुक्कै हुने गर्दछन् । हाल खानेपानी, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दीको प्रमुखका रुपमा कार्यरत खड्का प्रगतिशील साहित्य र सङ्गीतमा रुची राख्दछन् । स्कुले जीवनदेखि नै सङ्गीतप्रतिको लगाव र मन मिल्ने साथीहरुको सङ्गत र सहयोगको कारण एल्वम नै बजारमा ल्याउन सफल भए ।
०५८ सालदेखि ०६४ सालसम्म साहित्य, गायन र सङ्गीतमा निकै सक्रिय रहे । यहीवीचमा ‘विश्वासघाती’-२०६० लोक दोहोरी एल्वम बजारमा ल्याउन सफल पनि भए । साइड एमा रहेको ‘विश्वासघाती’ मा बाबु परदेशिएपछि घरमा छोरीसँगका मर्मस्पर्शी संवादहरु छन् भने उनलाई गायिका गीता देवीले गायनमा साथ दिएकी छन् । त्यसैगरि साइड विमा रहेको ‘लर्के जोवन’मा उनलाई गायिका सिन्धु मल्लले साथ दिएकी छन् । दुवै गीतहरुमा सोम शर्माको शब्द रहेको छ भने लय गायक खड्काकै रहेको छ ।
हिजोआज भेटघाट भा’छैन
सच्चो छ कि विसञ्चो था’छैन ।
लर्के जवान !
मेरो जवान तिम्रै हो धन्दै नमान ।।


‘बाडी’ सांस्कृतिक परिवारमा आवद्ध रहेर धेरै समय काम गर्ने अवसर पाएका कारण पनि हरेक सिर्जनाहरु विम्बात्मक हुनुपर्ने उनको बुझाई रहेको छ । स्कुल पढ्दा औंलामा गनिने विद्यार्थी भएकै कारण सरहरुको रोजाइमा पर्थे उनी र स्कुलमा हुने हरेक सांस्कृतिक कार्यक्रमहरुको नेतृत्व गर्ने अवसर पाउथे । स्कुल मात्र होइन कलेज जीवनमा पनि कहिले साहित्यिक मन्त्री त कहिले सांस्कृतिक मन्त्री भएर धेरैपटक साहित्यिक तथा सांस्कृतिक कार्यक्रहरु सम्पन्न गरेको अनुभव छ उनीसँग । उनले गाएको गीत ०६२ सालमा रेडियो नेपाल, लगायत विभिन्न एफएम र टिभीहरुबाट समेत प्रसारण भएको थियो ।
छातीभरि छुरा घसी हाँस्न सक्छौ कसोगरी
मुटुभरि विष घोली बाँच्न सक्छौ कसोगरी ।
बनै रुन्छ गुलाबका पत्रहरु चुड्यो भने
संसार रुन्छ नशासँग जीवन साटी हिँड्यो भने ।

रामेश, मञ्जुल जस्ता अग्रजहरुको सुझाव र माया तथा आभाष, राजेन्द्र, गणेश कुमार लगाएत साथी र सङ्गीतकर्मीहरुको सङ्गतले साङ्गितिक क्षेत्रमा अगाडि आएको स्मरण गर्दै उनी भन्छन्: “स्कुले जीवनदेखिनै हार्मोनियम, गिटार, मादल, तवला बजाउने, गाउँदैगर्दा रामेश, मंजुलजस्ता अग्रजहरुको माया र सुझावबाट अगाडि बढेका तथा आभाष, राजेन्द्र, गणेश लगाएतका समकालीन साथी र सङ्गीतकर्मीहरुको साथले मोफसलमा धेरै साङ्गितिक कार्यक्रमहरु समेत प्रस्तुत गरेको छु ।” उनको नसानसामा गीत/सङ्गीत बहेको छ । निकट भविष्यमा एकल एल्वम निकाल्ने योजनामा रहेका उनी कविता, गीत, मुक्तक जस्ता विविध विधाहरुमा उत्तिकै कलम चलाउछन् । “कला तथा सङ्गीतविहिन मान्छेको जीवन अपूर्ण” जीवन जिउने क्रममा उनलाई प्राप्त ज्ञान हो यो ।
बाँदर स्वर्गमा गयो खेलाई नरिवल झार्दछ
बिरालो पुग्यो भने अझै खोजेर मुसा मार्दछ ।
जसले पनि आफ्नो औकात देखाउने न हो
मूर्खलाई दिएमा बागडोर अमरावती नरक सार्दछ ।।

गीतको लयमा गुनगुनाउँदै गीत, कविता अनि मुक्तकहरु लेख्ने भएकै कारण उनका हरेक सिर्जनाहरु सजिलैसँग गाउन पनि सकिन्छ । गद्य तथा पद्य विधामा कविता लेख्न रुचाउने खड्काका सयौं मुक्तकहरु डायरीमा त्यसै थन्किएका छन् । भन्छन्-‘छिटै एउटा मुक्तक सङ्ग्रह प्रकाशन गर्नेछु ।’
भूगोल नाप्ने हातहरुले मन नाप्दाको परिणाम कस्तो आउला ?

उनले कोरेका भूगोलका बाटाहरुमा जस्तै उनले कोरेका शब्दका बाटाहरुमा पनि सहजै हिँड्न पाइयोस् । उनका सिर्जनाहरु मार्फत् देश बोलून्, हार्दिक शुभकामना ।
(बुलबुल साप्ताहिक पत्रिकाबाट)

“बिचल्लिमा पार्दिई पापीले, विश्वासघातीले !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *