१२ मंसिर २०७९, सोमवार

एक सातादेखि अवरुद्ध बेनी- जोमसोम सडक खुल्यो !

सुन्दरकुमार थकाली
 ०८ असार २०७८
जोमसोम : लगातारको अविरल वर्षासँगै आएको बाढी-पहिरो र नदी कटानका कारण एक सातादेखि अवरुद्ध बेनी-जोमसोम ७६ किमी सडक सोमबार साँझ ९ बजेबाट भर्खरै सञ्चालनमा आएको छ । 
बेनी-जोमसोम सडकको प्याकेज नम्बर २  र ३ को  सडक स्तरोन्नतिको जिम्मा लिएको शर्मा गजुरमुखी जेभीको उपकरणले सडक सफा गरपछि बेनी-जोमसोम सिधा सडक सञ्चालनमा आएको सुपरभाइजर इन्द्रसिंह शेरचनले अन्नपूर्णलाई जानकारी दिए ।
बाढी-पहिरो गएको स्थानमा निर्माण कम्पनीले सडक सफा गरेसँगै बेनी-जोमसोमको दुबैतर्फ मालबाहक सवारी साधन रातारात गन्तव्यमा प्रस्थान गरेको सुपरभाइजर शेरचनले बताए । ‘ एक सातादेखि बाढी-पहिरो र नदी कटानले सडक अवरुद्ध बनायो, ‘ निरन्तरको वर्षाले सडक खुलाउन कठिन पर्‍यो,’ सुपरभाइजर शेरचनले भने,’ ‘बेनी-जोमसोम सडक खुलाउन बिहान ४ बजे देखि ९ बजेसम्म ३ दिनसम्म खटियौं ।’ सुपर भाइजर शेरचनले सडक खुलेपछि २ दर्जन मालबाहक सवारी गन्तव्यतर्फ प्रस्थान गरेको उल्लेख गरे ।
केहीदिन अघिको अवरल वर्षाले बेनी-जोमसोम सडकको म्याग्दीतर्फ अन्नपूर्ण गापा -३ को तातोपनी,नौनी बगर ,रुप्से झरनामा बाढी-पहिरो र नदी कटानले सडक डाईभर्सन बगाउने लगायतका कारण सडक अवरुद्ध बनेको थियो भने बेनी-जोमसोम सडकको मुस्ताङतर्फ मार्फा ,कैकु र मिसी खोलालगायतका बाढी-पहिरोले सडक अवरुद्ध भएको थियो । 
यस्तै ,वर्षाका कारण म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीर सडकमा पहिरोले २५ मिटर सडक भासिएको थियो ।मुस्ताङतर्फ सडक सफा गरी संञ्चालनमा ल्याइए पनि म्याग्दी खण्डमा सडक सफा गर्न वर्षाका कारण चुनौती बनेको थियो । आइतबारदेखि मौसममा केही सुधार आएकाले सडक खुलाउन सहज भएको शर्मा गजुरमुखीका प्रोजेक्ट मेनेजर नरेन्द्र न्यौपानेले जानकारी दिए ।
वर्षाका कारण सडक अवरुद्ध हुदा मुस्ताङमा खाद्यान्न  तथा निर्माण सामाग्री ढुवानीमा समस्या पर्दै आइरहेको थियो भने बिरामीलाई उपचारमा पोखरा लैजान अप्ठ्यारो परेको थियो । अविरल वर्षाले मुस्ताङ र म्याग्दीको दर्जनौ स्थानमा सडक अवरुद्ध हुदा गन्तब्यमा पुग्ने यात्रुलाई समस्या परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *