३ चैत २०७९, शुक्रवार

ऐतिहासिक मल्लाज दरबारमा ‘द हेरिटेज याट’ रिसोर्ट सञ्चालन



  प्रताप बानियाँ

पर्वतको जलजला गाउँपालिका–३ मल्लाज माझफाँटमा रहेको ऐतिहासिक मल्लाज दरबारमा रिसोर्ट सञ्चालन भएको छ । नेपालमा तत्कालीन बाइसे–चौबीसे राज्यताका शक्तिशाली मानिने ऐतिहासिक पर्वत राज्यको अवशेष मल्लाज दरबारमा ‘द हेरिटेज याट’ रिसोर्ट सञ्चालन गरिएको हो । 
सन् २०१२ मा दरबारको पुनर्निर्माण गरी रिसोर्टमा परिवर्तन गरिएको सञ्चालक मुकुन्द मल्लले बताउनुभयो । उहाँले नेपालमा चलेको १० वर्षे जनयुद्धका क्रममा मल्लाज दरबारमा पनि चोरी, डकैती हुनुका साथै तोडफोड भएको जानकारी दिनुभयो । दरबारमा तोडफोड भएपछि त्यसभित्र रहेका खुँडा, तरबार, बन्दुक, खुकुरी, ढाल, गोलीगठ्ठालगायत ऐतिहासिकता झल्कने महत्त्वपूर्ण र पुरातात्विक सरसामानहरु हराएका थिए । 

सञ्चालक मल्लका अनुसार उहाँका जिजुबुबा कर्णेल तेजबहादुर मल्लले तत्कालीन समयमा भक्तपुरबाट दक्ष कालीगढहरु ल्याएर दरबारको निर्माण गर्नुभएको थियो । १ सय वर्षभन्दा धेरै पुरानो दरबारमा स्वदेशी र विदेशी पर्यटकहरुलाई लक्षित गरेर रिसोर्ट सञ्चालन गरिएको मल्लले बताउनुभयो । झण्डै २० रोपनी क्षेत्रफलमा रहेको तीनतले दरबार परिसर बाहिरको अर्गानिक गार्डेनमा रिसोर्टमा आउने पर्यटकहरुका लागि अर्गानिक कृषि उत्पादनहरु लगाइएको छ । 

द्वन्द्वकालीन समयमा दरबारमा लुटपाट हुनुका साथै तोडफोडबाट जीर्ण बनेपछि आफूले पुनर्निर्माण गरी रिसोर्टमा परिवर्तन गरेर अहिले सञ्चालनमा ल्याएको सञ्चालक मल्लको भनाइ छ । पर्वत राज्य नेपालमा गाभिएको अहिले २ सय ४९ वर्ष पूरा भइसकेको छ । तत्कालीन समयमा नेपालमा रहेका राज्यहरुमध्ये ऐतिहासिक पर्वत राज्य निकै शक्तिशाली मानिन्थ्यो । गोरखाका राजा एवं एकीकृत नेपालका अभियानकर्ता तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले आक्रमण गर्न पर्वत राज्यमा पठाएको उनका फौजलाई पर्वत राज्यले लडाइँमा हराएर फिर्ता पठाएको थियो ।

ऐतिहासिक महत्त्व झल्कने राजदरबार रिसोर्ट बनेपछि पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । दरबार भित्रको रिसोर्टमा पाहुनाका लागि ७ वटा कोठा रहेका छन् भने दरबारभन्दा बाहिरको परिसरमा ७ वटा टेन्ट हाउस निर्माण गरिएको सञ्चालक मल्लले बताउनुभयो । मल्लाज दरबारको रिसोर्टमा एक रातमा २८ जना पर्यटकहरु बस्न सक्ने क्षमता रहेको छ । त्यस रिसोर्टमा नेपालका साथै विदेशी पर्यटकहरु अस्ट्रेलिया, बेलायत, चीन, कोरिया, जर्मन र स्पेनबाट आउने गरेका छन् । तीमध्ये विदेशी पर्यटकहरु अस्ट्रेलियाबाट धेरैे आउँछन् ।

रिसोर्टमा बास बस्न गएपछि साँझमा क्याम्प फायर गर्न पाइन्छ । यसैगरी भुटेको मकै, कालीभट्ट, मुस्ताङको आलु तथा अर्गानिक खानाको स्वाद चाख्न पाइने रिसोर्टमा व्यवस्था छ । रिसोर्टमा कतिपय पर्यटकहरु सिधै सम्पर्क गरेर आउने गर्दछन् भने कोही म्याग्दी सदरमुकाम बेनीबाट मल्लाज दरबार पुग्छन् । म्याग्दी र मुस्ताङ भित्रिने स्वदेशी तथा विदेशी पर्यटकहरु म्याग्दीको बेनीबाट पर्वतको मल्लाज–बाँसखर्क–डाँडाकटेरी हुँदै नागी–महरेडाँडा–पुनहिल र घोडेपानी पुगेर फर्कन्छन् । पर्यटकीय रुटमा पर्ने भएकाले मल्लाज दरबारमा बसेर पर्यटकहरु नागी–महरेडाँडा–घोडेपानी र पुनहिलको भ्रमणमा निस्कन्छन् ।
ऐतिहासिक र पर्यटकीय आकर्षणको महत्त्व बोकेको मल्लाज दरबार चलचित्र, भिडियो डकुमेन्ट्री र विभिन्न कार्यक्रमहरु छायाङ्कनका लागि समेत उपयुक्त स्थल मानिन्छ । यसअघि दरबार परिसरमा नेपाली चलचित्र छक्का पञ्जा–३ को छायाङ्कन समेत गरिएको थियो । त्यस्तै मल्ल परिवारले जलजलाको लामाखेतमा पर्यटकलक्षित रेष्टुरेण्ट र स्वीमिङ पुल निर्माण गरी सञ्चालनमा ल्याएको छ । त्यस्तै गेष्टरुमको भने निर्माणकार्य भइरहेको रिसोर्टले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *