गङ्गा दसहराको महत्व !
( गङ्गा धरतीमा पैदा भएको दिन)
दस प्रकारको पाप हरण गर्ने भागीरथी गङ्गा उत्पत्ति भएको ज्येष्ठ शुक्ल दशमी तिथिलाई गङ्गा दसहराको रूपमा मनाइन्छ । ज्येष्ठ महिनाको शुक्ल पक्षको दशमी तिथिलाई हिन्दूहरूले भागीरथी गङ्गाको उत्पत्ति भएको दिन मान्दछन् । यो वर्ष यस पर्व असार ६ गते आइतबारको दिन परेको छ । दसहराको अर्थ हो दस प्रकारका पापहरूलाई हरण गर्ने तिथि । ती दस पाप निम्न छन- १) कसैले नदिईकनै कुनै वस्तु लिनु । २) विनायज्ञ हिंसा गर्नु (३) परस्त्री गमन गर्नु यी तीन शरीरबाट हुने पाप हुन्) (४) कठोर वचन बोल्नु (५) असत्य बोल्नु (६) परनिन्दा गर्नु (७) बेमतलबको प्रलाप गर्नु यी चार वाणीबाट हुने पाप हुन् (८) अरूको सम्पत्ति हडप्ने इच्छा राख्नु (९) अरुलाई हानि पुयाउने इच्छा राख्नु (१०) विना कारण दुराग्रह राख्नु यी तीन मानसिक पाप हुन्) ।
उपयुक्त दस पाप मोचनका लागि ज्येष्ठ शुक्ल दशमीका दिनमा दसहरा स्नान गरेमा ती सबै पापबाट मुक्ति मिल्दछ । दसहरा स्नान गङ्गामै गएर गर्नुपर्दछ भन्ने बाध्यता वा अकाट्य नियम छैन । गङ्गाभन्दा सय योजन चार सय कोशः टाढा बसेर पनि श्रद्धापूर्वक गङ्गाको नामोच्चारण गर्दै खोला वा त्रिवेणीमा गएर जसले स्नान गर्दछ उसले सबै पापबाट मुक्ति पाई विष्णुलोक प्राप्त गर्दछ भनेर भनिएको छ । हिन्दूहरू यस दिन पितृपूजा पनि गर्दछन् र दस प्रकारका हरिया सागसब्जीहरू पकाएर खाने गर्दछन् जहाँजहाँ त्रिवेणीसङ्गम हुन्छ त्यहाँ गएर स्नान गर्दछन् । त्रिवेणीहरूमा स्नान गर्न जाने भक्तहरूको घुइँचो नै लाग्दछ । यस दिनमा दसयोग परेको मानिन्छ (ज्येष्ठ महिना, शुक्ल पक्ष, दशमी तिथि, बुधवार, हस्ता नक्षत्र, व्यतिपात र आनन्दयोग, कन्या राशिमा चन्द्रमा र वृष राशिमा सूर्य, गर करण, हस्ता नक्षत्र र सोमवार पनि परेको खण्डमा त दस पापका साथै अन्य पाप पनि नष्ट हुन्छन् भनी भनिएको छ ।
यस पर्वका विषयमा यस्तो किंवदन्ती प्रचलित छ- परापूर्वकालमा अयोध्याका राजा सगरले लोककल्याणका लागि भागीरथी गङ्गालाई पृथ्वीमा ल्याउने दृढ सङ्कल्प गरे र उनको सङ्कल्प पूर्ण गराउन उनका साठी हजार छोराहरू पनि अहोरात्र लागे । राजा सगरले अश्वमेध यज्ञ गरे । यसका लागि छोडिएको घोडा पक्रिने वीरलाई यज्ञ गर्ने पक्षले युद्धमा जितेर घोडा फिर्ता ल्याउनुपर्ने परम्परा थियो । राजाका साठी हजार पुत्रदेखि डराएर देवराज इन्द्रले यज्ञ असफल गराउने उद्देश्यले घोडा महात्मा कपिलको आश्रममा लुकाइदिए। राजा सगरका साठी हजार पुत्रहरू घोडा खोज्दै पृथ्वी, आकाश, पाताल जताततै पुगे । पातालमा कपिल ऋषि तपस्या गरेर बसेका थिए । उनैका छेउमा बाँधिएको घोडा चरिरहेको थियो । घोडा देख्दासाथ सगर पुत्रहरू खुसी भएर होहल्ला गर्न थालेलाई । ऋषिलाई घोडा चोरको दोष लगाएर कुट्न थाले ।कपिल ऋषिको तपस्या भङ्ग भयो र उनले आँखा खोल्दासाच निस्केको तेजाग्निले ती सबै त्यहीं भष्म भए । धेरै समयपछि राजा सगरका पनाति भगीरथ राजा भए । उनले पातालमा भष्म भएका पितृहरूलाई मुक्त गर्न गङ्गालाई पृथ्वीमा ल्याउने उद्देश्यले दिनमा एकछाक भोजन गरेर खुट्टाको बुढी औलाले टेकेर तपस्या गर्न थाले । उनको यस्तो कठोर तपस्या देखेपछि शिवजीले दर्शन दिनुभयो । राजा भगीरथले शिवजीसंग गङ्गाको वेगलाई जटामा धारण गरी आफ्ना पितृहरू जलेर भष्म भएको खरानीको थुप्रोमा झारेर उद्धार गरिदिने वर मागे । शिवजी प्रसन्न भई भगीरथको इच्छा पूरा गरिदिनुभयो । भगीरका पितृहरूले मुक्ति पाए। भगीरथले गाजीलाई स्वर्गवाट पृथ्वीमा ल्याउन सफल भएकाले भागीरथी गङ्गा भन्न थालियो । प्राणीमात्रलाई मुक्ति दिने पवित्र गङ्गामाता पृथ्वीमा ज्येष्ठ शुक्ल दशमीका दिनमा अवतरण गरेकी थिइन् । त्यसैले यस दिनलाई पवित्र एवम् महान पर्वको रूपमा लिइन्छ । ती साठी हजार पितृहरूको उद्धार भएको ठाउँ कपिल मुनिको आश्रम भएकाले त्यस ठाउँलाई कपिलवस्तु भनिन्छ । त्यसैले गङ्गा दसहराका दिनमा कपिलवस्तुको वाणगङ्गामा स्नान गर्न जानेहरूको ठूलो भिड लाग्छ । त्यस्तै भिड नवलपरासीको त्रिवेणी सङ्गममा पनि लाग्दछ ।
गङ्गाको उत्पत्ति हिमालयको गङ्गोत्रीवाट भएको हो । ऋग्वेद स्मृति पुराणादि साहित्यहरूमा गङ्गाको महत्वको वर्णन पाइन्छ । नदीको रुपमा गङ्गाको अवतरण किन कसरी भयो भन्ने कुरामा पौराणिक आख्यान पाइन्छन् । “दस हरतीति” भन्नाले दस किसिमको हरण गर्ने भन्ने बुझिन्छ । हाम्रा शरीर, मन वचनद्वारा हुने दस किसिमका पाप हरण गर्ने हुनाले दसहरा भएको हो । यस दिनको महत्व गङ्गाको भूतलमा अवतरण गर्दा मानिएको हो । गङ्गा दसहराको दिन गरिने विशेष कृत्यमा गङ्गा स्नान नै मुख्य हो । त्यस दिनमा स्नान गर्नु भन्नाले जुनसुकै विशिष्ट नदीको स्नान भन्ने बुझ्नुपर्दछ । त्यसमा पनि हिमनदीको स्नानले बढी महत्व राख्दछ । भनिएको पनि छ “यां काञ्चित् सरितं प्राप्य दद्यादर्घ्य तिलोदकम्” अर्थात् जुनसुकै नदीमा स्नान गरेर तिलद्वारा अर्घ्यदान गर्नु । त्यसपछि चन्दन, अक्षता, फूल, धूप, बत्ती नेवरा आदि पूजासामग्रीले नदीको पूजा गर्नुपर्छ । अर्पण गरिने वस्तुको सङ्ख्या दस हुनुपर्दछ । दस किसिमको पाप नाश गर्नलाई दसथरी वस्तु अर्पण गरिनु स्वाभाविक लाग्छ। पापको दस सङ्ख्याका बारेमा मनुस्मृतिका १२ अध्यायमा उल्लेख छ । गङ्गाको पूजा गर्दा शक्तिअनुसार सुन, चाँदी, माटो वा पिठीका प्रतिमा बनाई पूजा गर्ने विधान छ । गङ्गाको साथसाथै ब्रह्मा, विष्णु महेश्वर, हिमालय मैगीरथको पनि अङ्ग रूपमा पूजा गर्नुपर्दछ । पूजाको साथ दस मुठी कालो तिल दस मुठी जौं दान गर्ने विधान छ । पूजापछिको प्रार्थना यस्तो छ:
नमः शिवायै प्रथम नारायण्यै पदं ततः ।
नमः शिवायै गङ्गायै शिवदायै नमो नमः ।
नमस्ते रुद्ररूपिण्यै शाङ्क्यै ते नमो नमः ॥
दसहराको दिन दस थरी वस्तु मिसाएर तरकारी खाने चलन पनि छ । गङ्गाकिनारमा प्राण छोड़ने जोसुकैले विष्णुपद प्राप्त गर्छ भन्ने शास्त्रीय कथन छ । गङ्गाको नामोच्चारण गरे पनि पापमुक्त भइन्छ भन्नेबारे यस्तो श्लोक प्रसिद्ध छ:
“गङ्गा गङ्गेति यो ब्रुयध्योजनानां शतैरपि
मुच्यते सर्वपापेभ्यो विष्णुलोक स गच्छति ॥”

ज्योतिष अनुसन्धान केन्द्र
क्याम्पसचोक बेनी, म्याग्दी
सम्पर्क: ९८४७१३८७०६