डा.घनश्याम न्यौपाने “परिश्रमी”
१. विषय प्रवेश
आजको साहित्यजगत्मा जताततै गजलको प्रभाव देखिन्छ । हरेक तह र तप्काका व्यक्तिहरू गजल मन पराउँछन् । आजभोलि त्यस्ता साहित्यिक पत्रिकाहरू पाउन मुस्किल पर्छ, जसमा गजल समाविष्ट नभएको होस् । एउटा जमाना थियो— जुनबेला गजल आम जनसमुदायको विषय बनेर सडकमा उत्रेको छ । वस्तुतः साहित्यका हरेक विधाको आफ्नै स्वतन्त्र रूप हुन्छ । गजलको पनि विशेष रूप छ । गेयता, सुकुमारता, सूक्ष्मता वा गहनता, भावसंघनता, प्रतीकात्मकता र अनुभूतिको तीव्रता जस्ता गुणहरू जगलमा विद्यमान हुनु आवश्यक छ । यिनै गुणहरूको विद्यमानताले गर्दा नै गजल आकर्षर्क वं मनमोहक हुन्छ ।
हिन्द–इरानी सांस्कृतिक सुन्दर परम्पराको ज्वलन्त उखाहरणका रूपमा चिनिने गजल यथार्थतः काव्यको एउटा स्वतन्त्र एवं अति नै महत्वपूर्ण विधा हो । मूलतः गजलमा सुकोमल र हृदयस्पर्शी भावहरूको अभिव्यक्ति कोमलकान्त पद र पदावलीहरूका माध्यमबाट रोचक ढंगले गरिन्छ । थोरैभन्दा थोरै शब्दहरूमा धेरैभन्दा धेरै र अति सूक्ष्म विषयवस्तुको प्रस्तुतीकरण गजलका शेरहरूमा गरिन्छ । दुरुह वा क्लिष्ट शब्द गजलहेतु स्वीकार्य हुँदैनन् । यसमा शब्द र अर्थको मञ्जुल समन्वय हुनु आवश्यक हुन्छ । अर्थात् गजल कोमल शब्दहरूबाट बन्दछ र तिनबाट प्रतिपादित अर्थ पनि कोमल नै हुनुपर्दछ ।
गजल शेरहरूको समष्टि रूप हो, जुन एउटै बहरमा बद्ध हुन्छ । शास्त्रीय नियम र मान्यताहरूलाई पालना गरेर संरचना गरिने हुनाले गजलको रूपपक्षमा परिष्कारवादको टड्काराृ प्रभाव पर्दछ । अन्दाजेबया (अभिव्यक्ति कौशल) र तगज्जुल (उक्ति वैचित्र्य) को यस विधामा विशेष महत्व रहन्छ । उस्ताद “रव्वाब” अकवरावादी भन्दछन्— कुनै भाव वा विचारलाई बहर विशेषमा आबद्ध गरी शेरहरूको सृजना गर्दैमा त्यस्तो भाव वा विचार यदि तगज्जुलहीन छ भने गजलको शेर बन्न सक्दैन बरू त्यो त गीत वा कविता बन्न पुग्दछ ।
२. गजल शब्दको व्युत्पति र अर्थ
गजल शब्दको उद्गम भाषिकभूमि अरबी हो । ग+ज+अल पदहरूको यौगिक विधानबाट व्युत्पादन भएको यस शब्दले “स्त्रीसँग कुराकानी” वा “स्त्रीको वाणी” भन्ने अर्थ दिन्छ । कसैको भनाइमा गजल शब्दको व्युत्पति “गजला” बाट भएको हो । गजलाको अर्थ हुन्छ “हरिण” । हरिणको शावकलाई अरबी भाषामा गजला भनिन्छ । वस्तुतः यस शब्दले कोमलता र सुन्दरतालाई बुझाउँछ । संभवतः यसैबाट गजल शब्दको उत्पत्ति भएको हुन सक्छ । एकथरीको भनाइ फेरि अर्कै छ । उहिल्यै अरबमा एकजना शायर थिए । उनले आफ्नो जीवन नै मदिरापान एवं प्रेमगान गरेर विताएका थिए । ती शायरको नाम नै “गजल” थियो । उनको मृत्युपश्चात् प्रेम विषयक रचनालाई उनकै नामको स्मृतिमा गजल भन्न थालियो । परन्तु केही विद्वानहरूको मान्यतामा के छ भने गजल फारसी शब्द हो । जसको तात्पर्य “प्रणय प्रधान गीत” हुन्छ । कसैकसैले त गजलको अर्थ नै “प्रेम” हो भनेका छन् । यसरी गजलको अर्थ “धागोको तान” हुन्छ भनेको पनि पाइन्छ ।
३. काव्य विधाका रूपमा गजलको उद्भव
गजल विधाले यस युगमा निकै प्रश्रय पाएको छ र औधि लोकप्रियता पनि हासिल गरेको छ । खासगरी दक्षिण एसियाका विभिन्न भाषाका साहित्यिक फाँटमा यस विधाले हार्दिक निमन्त्रण र स्वागत पाएको दृष्टिगत हुन्छ । ज्ञातव्य के छ भने गजल अरबी शब्द भए तापनि काव्य विधाका रूपमा यसको जन्म फारसी साहित्यको जमिनमा भएको हो । मूलतः फारसी र उर्दू साहित्यिक धरातलमा महत्त्वपूर्ण स्थान ओगटेको र सर्वाधिक मौलाएको गजल विधालाई विधिवत रूपमा फारसका शायर रोदकीले इसाको दसौं शताब्दीमा जन्माएका हुन् भन्ने भनाई छ ।
गजलको उद्भवको पृष्ठभूमि यस्तो छ— अरबी भाषाको साहित्यमा ‘कसीदा’ नामक एक काव्य विधा छ । काव्य विधाका रूपमा प्रारम्भमा दुई वा चार पंक्तिमा रचिने र प्रणयगीतका रूपमा चिनिने ‘तश्बीब’ बाट कसिदा जन्मिएको हो । कसिदा शनैः राजा–महाराजाहरूको प्रशंसा काव्यका रूपमा विकसित भयो । प्रणयगीतको महत्व बोकेको तश्बीब कसिदामा रूपान्तरित भएपछि प्रशंसा–काव्य बन्न पुगेकाले प्रेम–गीतका पक्षपातीहरूले पुनः यसलाई कसिदाबाट मुक्त गरे । अन्ततः यही तश्बीब नै फारसी साहित्यमा गजलका रूपमा जन्मी विकसित भएको हो । यसर्थ गजलको जन्म तश्बीबको गर्भबाट भउको हो भन्न सकिन्छ ।
गजल काव्यको एउटा अत्यधिक आकर्षक एवं प्रभावकारी सर्वथा स्वतन्त्र विधा हो । तर हामीकहाा पुरातनपन्थी, अतीतजीवी र केही प्राध्यापकहरूले समेत गजललाई विधा नमानेर कविताको उपविधा मान्ने गरेका छन् । यो उनीहरूको पूर्वाग्रह वा अनभिज्ञता मात्र हो । वस्तुतः गजलको उद्भव नै स्वतन्त्र काव्य विधाका रूपमा भएको हो र फारसी तथा उर्दूमा यसको स्वतन्त्र काव्य विधाको रूपमा उच्च महत्व छ । यति मात्र होइन, हिन्दी साहित्यमा पनि गजलले विधाको रूपमा मान्यता पाएको छ । डा.जे.पी. गंगवार, डा.सरदार मुजावर र डा.रोहिताश्व अस्थाना जस्ता चिन्तक, समालोचक एवं शोधकर्ताहरूले आफ्ना शोध ग्रन्थहरूमा गजललाई ािर्धक्क विधा नै स्वीकार गरेका छन् । नेपालीमा पनि मनु ब्राजाकी, ललिजन रावल, घनश्याम न्यौपाने ‘परिश्रमी’ प्रभृतिले गजल विषयक सैद्धान्तिक वा समीक्षात्मक आलेखहरू एवं शोधग्रन्थमा समेत गजललाई विधाकै रूपमा चर्चा गरेका छन् ।
गजल गीत र कविता दुवै विधाको सन्निकट देखिन्छ । त्यसैले यसलाई कसैले कविता मान्दछन् त कसैले गीत । वस्तुतः गेयात्मकता र संगीतात्मकताका दृष्टिले गीतको नजिक देखिने गजल प्रतीकात्मकता, भावगांभीर्य, विम्बविन्यास र अनुभूतिको सत्याभिव्यक्तिले गर्दा कविता जस्तो प्रतीत हुन्छ । तर गजल न कविता हो, न त गीत नै । गीत र कविता आ–आफ्नो अस्तित्व र विशेषताले युक्त पृथक्–पृथक् नाम भएका दुई नदी हुन् भने ती दुवै नदीको दोभानपछिको प्रवाह गजल हो । जब गीत र कविता रूपी नदीका मधुर लय र गंभीर भावरूपी जल गजलरूपी संगममा सम्मिलित हुन्छ अनि त तिनको स्वतन्त्र अस्तित्व पनि स्वतः विलय भइदिन्छ र नवीन एवम् पृथक् अस्तित्व निर्माण हुन्छ । गजललाई गीत वा कविताको उपविधा भन्नु वस्तुतः अनभिज्ञताको परिचायक हो । आफूभित्र गीत र कविता दुवेको महत्व बोकेको गजल सर्वथा स्वतन्त्र काव्य विधा हो भन्ने कुरालाई स्वीकार्न हामीले कन्जुस्याई गर्नु हुँदैन ।
४. गजलको वण्र्य विषय
गजल प्रमुखतः प्रणयगीतका रूपमा चिनिएको तश्बीबको गर्भबाट जन्मिएको काव्य विधा हो । यसको पदगत अर्थले पनि प्रेमिकासँगको सम्वादलाई संकेत गर्दछ । वस्तुतः गजलको उद्भव प्रेम र श्रृंगारकै पृष्ठभूमिबाट भएको दृष्टिगत हुन्छ । खासगरी स्त्रीसित सम्बन्धित अर्थको संवाहक भएकाले गजललाई पहिले–पहिले प्रणयधर्मी र श्रृंगारिक काव्य विधाका रूपमा लिइन्थ्यो र श्रृंगाररस नै यसको मुख्य रस हुनु पर्दछ भन्ने दृढ मान्यता पनि थियो । त्यसैले त पुरातनपन्थी अर्थात् अतीतजीवीहरू अद्यपर्यन्त पनि गजलको मूलकथ्य प्रेम–विषयक नै हुनुपर्दछ भन्ने आग्रह गर्दै छन् ।
स्त्रीको वाणी वा स्त्रीसँगको कुराकानी भन्ने अर्थको आधारमा गजललाई प्रेम वा श्रृंगारको संकर्णि परिवृत्तमा बन्दी बनाउनु उचित हुँदैन भन्ने मान्यताका साथ उर्दूका प्रसिद्ध शायर मौलाना अलताफ हुसेन ‘हाली’ र मौलाना मोहम्मद हुसेन ‘आजाद’ ले सर्वप्रथम गजललाई प्रेम र श्रृंगारको साँगुरो घेराबाट बाहिर ल्याएका हुन् । उनीहरूले गजललाई समग्र जनवर्गको जीवन र युगबोधसँग संयोजन गर्ने पक्षमा वकालत गरेपछि मात्र यस विधामा उर्दूका प्रगतिवादी कविहरूले पनि सहजतापूर्वक कलम चलाउन थालेको उदाहरण पाइन्छ । फैज अहमद ‘फैज’ उर्दूका सर्वश्रेष्ठ प्रगतिवाद िगजलकार मानिन्छन् ।
आज गजलको कथ्य विषय प्रेममा मात्र बन्धित छैन । यसको अर्थ विस्तार भयसकेको छ । आजका गजलकारहरूले पुरातन मान्यताको प्राचीरलाई गल्र्यामगुर्लुम्म भत्काइसकेका छन् । प्रयणधर्मी र श्रृंगारिकताको संकुचनबाट आधुनिक गजल उन्मुक्त भइसकेको छ । समाजमा आफूले देखेका, भोगेका र अनुभूति गरेका विषयलाई आजका गजलकारहरूले गजलको ऐनामा जस्ताको तस्तै प्रतिविम्बित गर्दछन् । वस्तुतः व्यक्तिको जिन्दगी र समाजको प्रतिविम्ब बनिसकेको छ आजको गजल । सामाजिक, राजनीतिक र व्यावहारिक जीवनका विविध पक्षहरूले अधुनातन गजलमा वण्र्यविषयका रूपमा स्थान ओगटिसकेका छन् । आजका गजलको सेरोफेरोमा सामाजिक चेतनाको व्याप्ति देखिन्छ । प्रणयभाव मात्र गुन्गुनाउने हिजोको गजल आज विद्रोहको स्वर उराल्छ, अव्यवस्था र अन्याय–अत्याचार विरुद्ध कुर्लन्छ । कोमलाङ्गी अङ्गनाहरूको नख–शिख वर्णनमा रमाउने र अङ्गप्रत्यङ्ग सुम्सुम्याउने हिजोको गजल आज कुकर्मीहरूका अनुहारमा चिथोर्ने भएको छ । सुन्दरीहरूको अधर रसपान वा चुम्बनमा लट्ठिने हिजोको गजलले आज रनाहा पार्ने गरी टोक्छ । वस्तुतः पुरानो गजल सुरा र सुन्दरीको संकीर्ण परिधिमा सीमित र कुण्ठित थियो । तर गजलको अधुनातन आयतन निकै विस्तीर्ण र यथेष्ट लचिलो भइसकेको छ । सारतः अब गजलको वण्यविषय प्रणय–वस्तु मात्र होइन भन्ने कुरामा दुईमत छैन ।
५. गजलको रुपगत परिचय
गजलको अति व्यापकता र प्रभावकारीताले गर्दा साहित्य र संगीतसँग सम्बद्ध वा यी विषयमा अभिरुचि राख्नेहरू यस विधासँग सामान्यतः परिचित त हुन्छन् नै तर यसको संरचना विधि एवं स्वरूपका बारेमा भने धेरैजसो अनभिज्ञ नै रहेको पाइन्छ । यसर्थ यहाँ परिचयका लागि आवश्यक तत्वहरूको संक्षेपमा चर्चा गर्नु आवश्यक ठानेको छु ।
(क) बहर— गजल मूलतः क्लासिकल साहित्य र संगीतसँग सम्बन्धित हुन्छ । यसको संरचना गीत–कवितादि जस्तै सहज र मुक्त शैलीमा हुन सक्तैन । बहरवद्धता गजलका लागि अपरिहार्य मानिन्छ । बहर भनेको छन्द हो । कुनै न कुनै छन्दमा बन्धित हुनु गजलको शास्त्रीय मान्यता हो । संस्कृत वाङ्मयमा अनेकानेक वार्णिक र मात्रिक पिङ्गल छन्दहरूसँग निकै सन्निकट समेत देखिन्छन् । यथा—
पिङ्गल छन्द बहर
भुजङ्गप्रयात बहरे मुतकारिव मुसम्मन सालिम
स्रग्विणी बहरे मुतदारिक मुसम्मन सालिम
पञ्चचामर बहरे रजज मुसम्मन मकबुज
विद्युन्माला बहरे मुतदारिक मुसम्मन मकतुअ
विधाता बहरे हजज मुसम्मन सालिम
तोटक बहरे हजज अखरव अवतर मुसद्दत
रुपमाला कहरे रमल मक्तुअ महजुफ
संयुत्ता बहरे कामिल मुरब्बा सालिम
हरिगीतिका बहरे रजज सालिम
पिङ्गल छन्दका लागि भ,ज,स,य,र,त,म,न जस्ता आठवटा गण भएझैं गजलको बहरका लागि पनि निम्नलिखित आठ रुक्नहरू निर्धारित गरिएका छन् । यथा—
१. मफाईलुन् (।ऽऽऽ) २. मुस्तफ्इलुन (ऽऽ।ऽ) ३. फाइलातुन् (ऽ।ऽऽ)
४. फऊलुन (।ऽऽ) ५. फाइलुन् (ऽ।ऽ) ६. मुतफाइलुन् (।।ऽ।ऽ)
७. मुफाइलतुन (।ऽ।।ऽ) ८. मफ्ऊलातु (ऽऽऽ।)
रुक्नहरूको मेललाई अर्कान भनिन्छ । यिनै रुक्न र अर्कानहरूको संयोगबाट बहरहरूको निर्माण हुन्छ । उर्दू वृत्तशास्त्रले गजल संरचनाथ अनेकौं बहरहरू निर्दिष्ट गरेको छ । झन्डै पचासवटा बहरहरू गजल निर्माणका लागि तोकिएका छन् । गजलका सबै बहरहरूलाई मुख्यतः तीन किसिमले वर्गीकरण गरिएको छ ।
१. मुफरद बहर (मूल छन्द)
२. मुरक्कब बहर (मिश्रित छन्द)
३. मुजाहिफ बहर (परिवर्तित छन्द)
मुफरद बहर अन्तर्गत हजज, रजज, मुतकारिब, मुतकारिब, कामिल, वाफिर नामक सातवटा बहरहरू पर्दछन् ।
मुरक्कव बहर अन्तर्गत मुन्सरेह, मुक्तजिब, मुजारे, खफील, वसिद, मुसाज, सरीअ, मुसकील, जदप्द, करी, मदीद र तबील गरी बाह्रवटा बहरहरू पर्दछन् ।
प्रमुख मुजाहिर बहर २२ प्रकारका छन् । तिनको निर्माणमा माथिका बहरहरूको मिश्रित प्रभाव पर्दछ ।
आजका अधिकांश गजलकारहरूले यी शास्त्रीय सूत्रहरूको परिपालना गरी गजल संरचना गर्न छाडेका छन् । बरू बहर बद्धता विना गजल बन्नै नसक्ने भएकोले मुसिकियत (लयात्मक) गुणको महत्वलाई आत्मसा तगर्दै स्वतन्त्र बहर निर्माण गरी गजल रचना गर्ने कार्यले यस युगमा व्यापकता पाएको छ । यस स्वतन्त्र बहरहरूमा गायन हेतु उच्चार्थ मात्रात्मक एकरूपता तथा गति र यतिको सन्तुलन हुनु आवश्यक हुन्छ ।
ख) शेर— गजल भनेको नै शेरहरूको समष्टि रूप हो । एउटा शेरका दुई पंक्ति हुन्छन् । शेरको प्रथम वा माथिल्लो पंक्तिलाई ‘मिसरा ए उला’ र द्वितिय वा तल्लो पंक्तिलाई ‘मिसरा ए सानी’ भनिन्छ । हरेक शेरको मिसरा ए उलाले कुनै विषयको उपस्थापन गर्दछ र मिसरा ए सानीले त्यसलाई पुष्टि गर्दछ । एउटा गजलमा कम्तीमा पनि पाँच शेर हुनु पर्दछ भन्ने काव्यशास्त्रीय मान्यता छ तापनि कतिपय फरसी र उर्दूका गजलगोहरूले नै तीन÷चार शेरका मात्र गजलहरू रचेको पनि देखिन्छ । पाँच शेरभन्दा अधिकतम शेरहरूको कुनै पनि निश्चित संख्या काव्यशास्त्रमा निर्धारण गरिएको पनि पाइँदैन । औसत गजलहरू पाँच शेरदेखि तेह्र शेरसम्मका हुन्छन् । साधारणतः एक्काईस वा बाईस शेरभन्दा बढ िशेरका गजलहरू देखिदैनन् । प्राचीन काव्यशास्त्रीहरूको कथन के छ भने गजलहरूका शेरहरूको संख्या विषम हुनुपर्दछ । तर यस नियमलाई कडाइका साथ परिपालन गरिएको भने पाईदैन ।
गजलका प्रत्येक शेरहरू यद्यपि एउटै बहरमा समावद्ध हुन्छन् तथापि विषयवस्तुको दृष्टिले तिनको स्वतन्त्र अस्तित्व रहेको हुन्छ । अझ यसो भनूँ, एउटा गजलमा जतिवटा शेरहरू छन् त्यति नै पृथक–पृथक विषयवस्तु भाव र विचार हुन्छन् । प्रत्येक शेरका कथ्य विषयमा पार्थक्य हुनु गजलको मौलिक विशेषता एवं मान्यता पनि हो । एउटै गजलभित्रका अलग–अलग शेरहरूमा प्रेम विरह, वेदना प्रकृति चित्रण, चिन्तनमनन, सामाजिक एवं राजनैतिक व्यङ्ग विद्रोह तथा विकृति–विसंगति जस्ता विविध पक्षहरूको प्रतिविम्बन गर्न गजलकारले पूर्ण रूपमा छुट पाएको हुन्छ । यसर्थ गीत र कविताहरूमा जस्तै एउटै कथ्य विषयवस्तुको श्रृंखलाबद्ध प्रस्तुति गजलमा अपरिहार्य मानिदैन । शेरको विषयवस्तुको प्रस्तुतिको दृष्टिले गजल दुई प्रकारका हुन्छन् ।
१. गजल मुसलसल
२. गजल गैरमुसलसल
एउटा गजलका समग्र शेरहरूमा एउटै विषयवस्तुको श्रृंखलावद्ध प्रस्तुति भएको गजललाई मुसलसल भनिन्छ । विविध विषयवस्तुका शेरहरूबाट बनेको गजललाई गैरमुसलसल भनिन्छ ।
ग) काफिया— गजलमा काफियाको सर्वाधिक महत्व रहन्छ । काफियाविना गजल बन्न सक्तैन । त्यसैले गजलरूपी शरीरको मुटुको रूपमा काफियालाई लिइन्छ । काफियाको शुद्ध र समुचित प्रयोगले नै गजललाई जीवन्त बनाएको हुन्छ । काफियामा स्वरुको समता हुनुपर्दछ । रदीफभन्दा पूर्व प्रयोग हुने अनुप्रासयुक्त पद, पदावली, अक्षर वा अक्षर समूहलाई नै काफिया भनिन्छ । मत्लाका दुवै मिसरा र अन्य शेरहरूका मिसरा ए सानीमा काफियाको प्रयोग हुन्छ । भाँडने, माड्ने, गाड्ने, छाड्ने तथा हुने, रुने, छुने, धुने जस्ता स्वरको समता शब्दहरू नै काफियाको रूपमा गजलमा प्रयोग हुन्छन् । जान्ने, सुन्ने, किन्ने जस्ता स्वरको सन्तुलन नमिलेका शब्दहरूलाई काफियाको रूपमा लिनु हुँदैन ।
घ) रदीफ— काफिया र रदीफ दुवै मञ्जुल समन्वितिले गजललाई आकर्षक र मधुर तुल्याएको हुन्छ । मतलाकादुवै मिसरा र अन्य शेरहरूका मिसरा ए सानीको अन्तमा प्रयोग हुने उही पद, पदावली, अक्षर वा अक्षर समूहलाई रदीफ भनिन्छ । रदिफमा यथार्थतः व्यञ्जनहरूको पुनरावृति हुन्छ । यो काफियाको ठीक पछाडिपट्टि प्रयोग हुन्छ । रदीफ गजल हेतु अनिवार्य तत्व भने मानिदैन, तथापि यसको प्रयोगले गजलको सौन्दर्य प्रसाधनमा महत्वपूर्ण भूमिका खेल्ने र गायनमा श्रुतिमधुर समेत हुने हुनाले अधिकांश गजलकारहरू यसलाई त्याग्न सक्दैनन् । सिकारु व नवोदित गजलकारहरूमध्ये कतिपयले त रदीफलाई नै अनिवार्य तत्व ठान्दछन् । बरू उनीहरू काफियालाई महत्व दिदैनन् । वस्तुतः बुझ्नै पर्ने कुरा के हो भने काफिया विनाको गजल बन्नै सक्दैन तर रदीफविना गजल बन्न कुनै व्यवधान उत्पन्न हुँदैन । रदीफको प्रयोगको आधारमा गजल दुई प्रकारका हुन्छ् ।
१. मुरद्दफ गजल
२. गैरमुरद्दफ गजल
जुन गजलमा रदीफको प्रयोग भएको हुन्छ त्यसलाई मुरद्दफ गजल भनिन्छ ।
जुन गजलमा रदीफको प्रयोग भएको हुँदैन त्यसलाई गैरमुरद्दफ गजल भनिन्छ ।
ङ) मतला— मतला शब्दबाट “प्रारम्भ” भन्ने अर्थ बुझिन्छ । गजलको पहिलो शेरलाई मतला भनिन्छ । मतलाका दुबै मिसरामा काफिया र रदीफको प्रयोग हुन्छ । (यदि गैरमुरद्दक गजल छ भने मतलामा पनि रदीफ रहँदैन ।) एउटै गजलमा दुई शेरका मतला पनि हुन सक्छन् । कसै कसैले उपयुक्त मतला बनाउन नसकेर दुवै मिसरामा काफिया र रदीफको सन्तुलनको नियम उल्लंघन पनि गर्दछन् । त्यसो त बाव्य शास्त्रका अनुसार गजलमा मतला हुनै पर्छ भनी अनिवार्य गरिएको छैन । तर पनि यो नियम रुढबनिसकेको छ, त्यसैले गजल भनेपछि मतला आवश्यक जस्तै देखिन्छ । वस्तुतः मतलाको व्यवस्थापनले गजललाई श्रुतिमधुर बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गायकले गजल गाउँदाखेरि प्रत्येक शेरहरू पछि मतलाको पुनरावृत्ति गर्दछन् । जसबाट एक प्रकारको श्रुतिमधुरता र झंकारमयता प्रकट हुन्छ । यसर्थ काफिया र रदीफको दुवै मिसरामा सन्तुलन प्रयोग भएको मतला हुनु गजलका लागि आवश्यक नै ठान्नु उपयुक्त हुन्छ ।
च) मक्ता— गजलको अन्तिम शेरलाई मक्ता भनिन्छ । यस शब्दले ‘समाप्ति’ वा ‘काटिएको’ भन्ने अर्थ बुझाउँछ । यसबाट के स्पष्ट हुन्छ भने ‘मक्ता’ भनेको गजललाई टुंग्याउने अवयव वा अन्तिम शेर हो । मक्ताका मिसरामा साधारणतः साधारणतः कविगण आफ्नो तखल्लुख पनि प्रयोग गर्दछन् ।
छ) तखल्लुख— तखल्लुख भनेको कविको छोटो नाम वा उपनाम हो । गजल सिद्धान्तका केही व्याख्याताहरूले तखल्लुख प्रयोग नभएको शेरलाई मक्ता भन्न मिल्दैन पनि भनेका छन् । वस्तुतः यो भनाई युक्तिसंगत छैन । यदि अन्तिम शेरभन्दा पूर्ववर्ती शेरहरूमा गजलकारले तखल्लुस प्रयोग गरेमा त्यो शेर नै मक्ता बन्दैन । मक्ता भनेको गजललाई टुंग्याउने अन्तिम शेर हो । जसमा गजलकारले तखल्लुख प्रयोग गर्न पनि सक्छ, नगर्न पनि सक्छ । तखल्लुख गजलार्थ अपरिहार्य तत्व होइन ।
६. नेपाली साहित्यमा गजल प्रादुर्भाव
गजल फारसी र उर्दू साहित्यिक धरातलको नितान्त मौलिक र अति लोकप्रिय काव्य विधा हो । यसको प्रभाव दक्षिण एशियाका विभिनन भाषामा साहित्यमा परेको देखिन्छ । हिन्दी, नेपाली, गुजराती, सिन्धी, पंजावी, मराठी, काश्मिरी, मैथिली, भोजपुरी जस्ता आधुनिक आर्य भाषाका अतिरिक्त नेवारी, राई, लिम्बू जस्ता भोटचिनिया परिवारका भाषामा पनि गजल लेखिनुले यस विधाको प्रभाव सबैतिर परेको स्पष्ट हुन्छ । वास्तवमा अब गजल विधा फारसी र उर्दूको मात्र सम्पति रहेन । यसले व्याप्ति पाएको छ ।
हिन्दी गजलका प्रवर्तक अमीर खुसरो (१२५३–१३२५ ई.) र उर्दू गजलका प्रवर्तक जनाव वली औरंगावादी (१६३८–१७०७ ई.) भउझैं नेपाली गजलका प्रवर्तक युवाकवि मोतीराम भट्ट (१९२३–१९५३ वि.सं.) हुन् । यसर्थ नेपाली साहित्यको माध्यमिक काललाई नेपाली गजलको प्राथमिक काल भन्नुपर्ने हुनछ । मोतीराम भट्टले आफूले मात्र गजल लेखेनन्, प्रत्युत आफ्ना समकालीन कविहरूलाई यस विधातर्फ आकर्षित गराई लेख्न समेत प्रचोदित गरे । फलतः मोतीमण्डलीका सबे जसो कविहरूले यस विधामा सक्रियता र सचेततापूर्वक कलम चलाएको देखिन्छ । मोतीरामले प्रारम्भ गरेको गजलसेजनको यालालाई निरन्तरता दिने कार्यका आशुकवि शम्भुप्रसाद ढुंगेलको देन पनि अविस्मरणीय छ । यसैगरी भीमनिधि तिवारी र उपेन्द्रबहादुर जिंगरले त दिने कार्यका आशुकवि शम्भुप्रसाद ढुंगेलको देन पनि अविस्मरणीय छ । यसैगरी भीमनिधि तिवारी र उपेन्द्रबहादुर जिगरले त एक एकवटा गजल संग्रह नै दिएर नेपाली गजलको विकासमा अभूतपूर्व योगदान गरेका छन् । यसरी मोतीराम भट्टद्वारा विक्रमाब्द १९४० पछि सूत्रपात भएको गजल विधाको सृजनले उपेन्द्रबहादुर जिगरसम्म आइपुगेर झन्डै अद्र्धशताब्दीपश्चात् १९९६ पछि तिरदेखि विश्राम पाएको दृष्टिगत हुन्छ । मोतीराम भट्टदेखि जिगरसम्मका गजलहरू विशेषतः प्रेम विषयमा आधारित रबहरवद्ध देखिन्छन् । विषयवस्तु शैली र प्रवृतिका दृष्टिले उस्तै भएकाले यस कालखण्डलाई नेपाली गजलको प्राथमिक काल या प्रारम्भिक युग मान्नु युक्तिसंगत देखिन्छ ।
७. नेपाली गजलको पुनर्जागरण
नेपाली साहित्यमा गजलको सूत्रपात भएको झन्डै सवा एक शताब्दी (एकसय पन्ध्र वर्ष) भएको छ । मोतीराम भट्ट र मोती मण्डलीसँग सम्बन्धित कविहरूले नेपाली साहित्यमा यस विधालाई जन्माउने र हुर्काउने सुकार्य गरे भने शम्भुप्रसाद ढुंगेल, भीमनिधि तिवारी, उपेन्द्रबहादुर जिगर प्रभृतिले यसलाई विकासको गति दिने प्रयत्न गरे । तर वि.सं. १९९६ पछि गजल रचनामा गतिरोध आयो । बीसको दशकदेखि मनु ब्राजाकी र बूँद रानाले फाट्टफुट्ट गजल लेखेको संकेत मिले तापनि तिनलाई प्रकाशन गर्ने र यस विधालाई चर्चामा ल्याउने काम भएन ।
जसले गर्दा चार दशकसम्म सुषुप्त रहेको गजललाई वि.सं. २०३६ देखि प्रकाशनका माध्यमबाट बिउँझाउने ऐतिहासिक कार्य ज्ञानुवाकर पौडेलले गरे । त्यसैले गजलविज्ञहरू यस कालखण्डलाई पुनर्जागरण काल मान्दछन् । यस कालको प्रारम्भिक चरणमा ज्ञानुवाकर पौडेल, ललिजन रावल, मनु ब्राजाकी, धर्मोगत शर्मा ‘तुफान’ जस्ता गजलकारहरू यस विद्यामा क्रियाशील देखिन्छन् । चालीसको दशकको उत्तराद्र्धदेखि भने यस विधामा कलम चलाउने कविहरूको अनियन्त्रित भिड नै लाग्यो । आज त्यस भिडबाट धेरै जना किनारा लागिसकेका छन् । तर बूँद राना, रवि प्राञ्जल, घनश्याम न्यौपाने ‘परिश्रमी’, मुन पौडेल, वियोगी बूढाथोकी, श्रेष्ठ प्रिया पत्थर जस्ता स्रष्टाहरू भने आफ्ना अग्रजहरूसँग काँधमा काँध मिलाउँदै र अनुजहरूलाई डो¥याउँदै नेपाली साहित्यिक धरातलमा गजलसृजनले निरवच्छिन्न रूपमा गति पाएको छ । फलतः आधुनिक नेपाली गजलले अपेक्षाकृत निकै अल्पावधिमा त्वरित् गतिमा उल्लेखनीय फड्को मार्न सकेको हो ।
नेपाली गजलको पुनर्जागरणपछि विभिन्न सानाठूला साहित्यिक पत्रिकाहरूले गजल विशेषांकहरू प्रकाशित गरेर पु¥याएको योगदान उल्लेखनीय छ । यस्ता पत्रिकाहरूमध्ये आरोहण (२०४६), विजया (२०४७), बसुन्धरा (२०४९), कविता (२०५२), नव प्रज्ञापन (२०५ ), शिवपुरी सन्देश (२०५७) लगायत थुप्रै पर्चा साहित्यिक पत्रिकाहरू पनि छन् । यसैगरी इन्द्रकुमार श्रेष्ठ सरितले २०४७ देखि ‘गजल’ नामक पत्रिका प्रकाशन गरेका छन्, जुन अनियमित छ तापनि गजल र गजल विषयक लेख रचनाहरू मात्र समावेश गरिने यो पत्रिकाको पनि आफ्नै किसिमको महत्व रहेको छ । हालै युवा गजलकार अमर त्यागीले “मूच्र्छना” (गजल प्रधान द्वैमासिक) को प्रकाशन शुरू गरेका छन् । यसले नियमितता प्राप्त गर्न सकेमा नेपाली गजलका लागि थप उपलब्धि हुने आबा गर्न सकिन्छ ।
नेपाली गजल एकातिर आज पनि संघर्षरत नै छ भने अर्कातिर यस विषयमा खोज अनुसन्धान र शोध कार्यहरू पनि भइरहेका छन् । एम.ए. नेपालीमा कतिपय विद्यार्थीहरूले नेपाली गजल तथा गजलकारहरूलाई विषय बनाएर शोध ग्रन्थहरू लेखिसकेका र कतिपयले लेखिरहेका छन् । यसैगरी घनश्याम न्यौपाले “परिश्रमी” ले नेपाली र हिन्दी गजलको विश्लेषणात्मक अध्ययन शीर्षकमा शोधकार्य गरी गजलमा पि.एच.डी. गर्ने पहिलो नेपाली भएका छन् भने कृष्णहरि बराल पनि माध्यमिक कालीन नेपाली गजल शीर्षकमा पी.एच.डी. का लागि शोध कार्य गर्दै छन् । अब क्रमशm यस विधामा शोध गर्नेहरूको संख्या पनि वृद्धि हुँदै जाने देखिन्छ । वस्तुतः गजल फाँटका लागि यो खुशी र प्रतिष्ठाको विषय हो ।
मुलुकका विभिन्न ठाउँमा समय–समयमा क्षेत्रीय रुपमा नै भए पनि यदाकदा गजल प्रतियोगिता र गजल गोष्ठीहरू भइरहेका छन् । यद्यपि यी कार्यक्रमहरू त्यति प्रभावकारी देखिएका छैनन् तर पनि नहुनुभन्दा केही हुनु धेरै राम्रो हो । यस्ता गोष्ठीहरूमा मूलतः कायृपत्रहरू प्रस्तुत हुन र धेरैलाई सहभागी गराउन सकेमा बढी प्रभावकारी र उसलब्धि मूलक हुने देखिन्छ ।
८. हालसम्म प्रकाशित नेपाली गजलका कृतिहरू
नेपाली साहित्यमा अहिलेसम्म झन्डै चार दर्जन जति गजलका कृतिहरू प्रकाशित भएका देखिन्छ । विशेषतः पचासको दशकपछि नै गजलका कृतिहरूको प्रकाशन कार्य तीव्रगतिमा भएको पाइन्छ । जानकारी भएसम्मका प्रकाशित कृतिहरूको सूची तल प्रस्तुत गरिएको छ ।
क) सामयिक संकलन
१. संगीत चन्द्रोदय –वि.सं. १९६९) सं.गोपीनाथ लोहनी÷दुर्गादेव पाण्डे
२. समकालीन नेपाली गजल (२०४७) सं.ललिजन रावल
३. समसामयिक नेपाली गजल (२०५०) सं.दुबसु क्षेत्री
४. प्रतिनिधि नेपाली गजल (२०५७) सं.वियोगी बूढाथोकी÷कृसु क्षेत्री
ख) व्यक्तिगत संग्रहहरू
१. बयासी र बीस गजल–मेरी (१९९३) भीमनिधि तिवारी
२. एकसय एक गजल (१९९६) उपेन्द्रबहादुर जिगर
३. मोतीराम भट्टका गजलहरू (२०३८) प्र.नेपाली शिक्षा परिषद् काठमाडौं ।
४. केही गजलहरू (२०४२) ललिजन रावल
५. बिरानो यो ठाउँमा (२०४६) ललिजन रावल
६. तूफानका गजलहरू (२०४२) धर्मोगत शर्मा ‘तूफान’
७. देशको माटो दुख्ने गर्छ (२०४९) धर्मोगत शर्मा ‘तूफान’
८. केही गजलहरू निराशाका (२०४६) वद्रीलाल श्रेष्ठ निराशा
९. तारिदेऊ न माझी दाइ (२०४७) रवि प्राञ्जल
१०. उही बाढी उही भेल (२०५२) रवि प्राञ्जल
११. दैलातुङ फाँटबाट शुरु भएको यात्रा (२०४९) खगेन्द्र प्रसाद बस्याल
१२. खण्डहर नयाँ नयाँ (२०४९) ज्ञानुवाकर पौडेल
१३. यो मौसम (२०५०) घनश्याम न्यौपाने “परिश्रमी”
१४. घामको छहारीमा (२०५३)घनश्याम न्यौपाने “परिश्रमी”
१५. शिशिरका शीतहरू (२०५०) कुमार शिशिर
१६. बाँच्ने रहरहरू (२०५०) यज्ञविक्रम शाही
१७. धर्ती र आकाश (२०५१) चन्द्र पोख्रेल प्रभात
१८. गजल गंगा (२०५२) मनु ब्राजाकी
१९. काँढाका फूलहरू (२०५६) मनु ब्राजाकी
२०. आफन्तका चोटहरू (२०५२) वियोगी बूढाथोकी
२१. गजलोत्सव (२०५२) मुन पौडेल
२२. पग्लिएका व्यथाहरू (२०५३) श्रेष्ठ प्रिया पत्थर
२३. पुष्पाञ्जली (२०५४) रोशनकुमार राजभण्डारी
२४. ज्वालाका रापहरू (२०५४) आर.बी.फ्लेम
२५. जेलभित्रको मुटु (२०५४) के.बी. उदय
२६. बादलको गुफा (२०५४) खड्गसेन ओली
२७. धर्तीको धूलो (२०५४) गोवद्र्धन पूजा
२८. सागर लहर किनार (२०५४) दिव्य गिरी
२९. प्रेयसीका आँखासित पिरतीका कुरा (२०५४) राममान तृषित
३०. ढुंगाको मन (२०५५) गोविन्द नेपाल
३१. परिभाषा हराउँदा (२०५५) राजेश्वर रेग्मी
३२. मनको बह (२०५६) देवी पन्थी
३३. जिन्दगीका रेखाहरू (२०५६) काशीराम विरस
३४. स्पन्दन (२०५६) शान्तिनारायण श्रेष्ठ
३५. परिवेशका धूनहरू (२०५६) टीकाराम उदासी
३६. निर्मम निर्मम घडीहरू (२०५६) गोविन्दराज विनोदी
३७. एउटा लहर सागरको (२०५६) दिव्यसागर साउद
३८. जीवनको लेक र वेसी (२०५६) गोपाल अश्क
३९. रातो मलाई प्यारो (२०५६) बूँद राना
४०. हत्केलामा आकाश (२०५७) रामलाल जोशी
४१. संकल्प शिखा (२०५७) पूर्ण भण्डारी “पंकज”
४२. भीम विरागका गीत गजल (२०५७) भीम विराग
४३. बाँसुरीमा आँसुको गीत (२०५७) अमर त्यागी ।
समकालीन नेपाली साहित्यमा जुनजुन रचना विधा प्रतिष्ठित र बढी प्रचलित छन् तिनमा गजलले नै अग्रस्थान ओगटेको स्पष्टतः दृष्टिगत हुन्छ । वास्तवमा यस विधाले विशिष्टता नै हासिल गरेको छ । खासगरी आफ्नो राष्ट्रको माटोसँग जोडिएको सांस्कृतिक सन्दर्भ र वार्तमानिक विसंगति–विकृति, अमानवीयता, भ्रष्टाचार, अस्थिरता जस्ता विडम्बनापूर्ण विषयहरूलाई सफलतापूर्वक शेरहरूमा रुपायित गर्दै लेखिएका हुनाले नै आजका नेपाली गजल मर्मस्पर्शी र प्रभावकारी बन्न गुगेका हुन् । गद्य कविताको चरम विकास भइरहेको वर्तमान परिप्रेक्षमा यस विधाले छन्द÷लयको प्रतिष्ठाको पुनस्थापनाका सन्दर्भमा समेत अहम भूमिका निर्वाह गरेको छ । आज नेपाली गजलका फाँटमा नयाँ पुस्ताका रासा, देवी पन्थी, अमर त्यागी, माधव काफ्ले, गोविन्दराज विनोदी, कपिल अज्ञात, राजेश्वर रेग्मी, चंकि श्रेष्ठ, सनत कुमार, व्याकुल पाठक, गोपाल अश्क, टीकाराम उदासी, धर्मेन्द्र भट्टराई, कृसु क्षेत्री, रमेशहरि “समर्थन”, राम पराजुली लगायतका केही प्रतिबद्ध र अभिज्ञ स्रष्टाहरू क्रियाशील देखिएका छन् । अतः यस विधाले प्राथमिक कालपछि जसरी लामो निद्रा सुत्नुपरेको थियो, संभवतः त्यस्तो स्थिति पुनः नदेखिएला भनी आशा गर्न सकिन्छ ।
९. केही सुझाव
गजलप्रतिको आकर्षष आज नेपाली साहित्यमा तीव्र रुपले बढेको छ । नवोदिन प्रतिभाहरू गजलबाट आफ्नो साहित्यिक यात्रा शुरू गर्न चाहन्छन् भने अन्यान्य विधामा ख्याति आर्जन गरिसकेका स्रष्टाहरू पनि यसको मोहनीले आकर्षित भएका छन् र गजल लेख्ने रहर गरेका छन् । कतिपयले त राम्रा राम्रा गजलहरू लेखेका पनि छन् । तर जानेर र बुझेर लेख्नेहरूको संख्या भने अति नै न्यून छ । काफिया र रदीफ मिल्नु मात्र गजल होइन, काफिया नै नमिलेको त झन् गजल हुँदै होइन । गजल मूलतः शास्त्रीय विधा हो र यो यान्त्रिक हुन्छ । यस विधामा तुरुन्तै हात हालेर सहजै सफलता पाइन्छ भनी ठान्नु अज्ञानता हो । जति बढी परिष्कार गर्न सक्यो उति गजल राम्रो हुन्छ । यसर्थ यस विधातर्फ आकृष्ठ कविहरूले यसका काव्य शास्त्रीय नियमहरू र मान्यताको सम्यक् ज्ञान गर्नु जरूरी हुन्छ ।
नेपाली गजलका क्षेत्रमा केही पुरातन पन्थी, अतीतजीवी र दुराग्रहीहरूले निकै भ्रमहरू पनि फैलाएका छन् । यसबारे सचेत हुनु आवश्यक छ ।
कतिपय सिकारू समालोचक र विद्वान समालोचकहरूले समेत गजल सम्बन्धी अल्पज्ञानकै भरमा पनि समीक्षा, समालोचना तथा भूमिका र लेखहरू लेख्नाले निकै भ्रम उत्पन्न हुने गरेको छ । अतः गजलको रुपपक्ष र शिल्प विधानको समीचन ज्ञानविना यसबारे कलम नचलाउनु नै वेश हुनेछ ।
पत्रपत्रिकाहरूमा छापिने गरेका गजल शीर्षकका अधिकांश रचनाहरू गजलको कोटिमा पर्दैनन् । सम्पमदकवर्गले गजललाई रूप र शिल्पको आधारमा ठम्याएर मात्र गजल शीर्षकमा छाप्नु राम्रो हुनेछ ।
नेपालमा गजल गायकीले संस्थागत रूपमा विकास गर्न सकेको छैन । गजल लेखनको बाढी नै आए पनि गजलगायन क्षेत्र सुख्खाग्रस्त छ । त्यसैले केही गजल गायकहरू जन्माउनु आवश्यक भइसकेको छ ।
गजललाई विद्यालयस्तरदेखि उच्चसम्म नै पाठ्य क्रममा स्वतन्त्र विधाका रूपमा मान्यता दिएर समावेश गर्नु उचित र यस विधाप्रति न्याय हुनेछ ।
१०. निष्कर्षत
क) गजल एक स्वतन्त्र काव्य हो ।
ख) नेपाली साहित्यमा गजलले अति लोकप्रियता हासिल गरेको छ ।
ग) नेपाली साहित्यमा गजल प्रतिष्ठित भइसकेको छ ।
घ) नेपाली गजलको सूत्रपात मोतीराम भट्टबाट भएको हो ।
ङ) प्राथमिक कालीन नेपाली गजल मूलतः प्रणय विषयवस्तुमा आधारित थियो ।
च) आजको नेपाली गजलमा समग्र जनवर्गको जिन्दगी प्रतिविम्वित भएको छ ।
छ) आजको नेपाली गजल सामाजिक परिवेशमा बाँचेको छ ।
ज) नेपाली गजलमा बहरका रूपमा विशेषगरी नेपाली गिितलय नै प्रयोग हुने गरेका छन् ।
झ) केही मात्र नेपाली गजलकारहरूले काफियाको प्रयोग अति नै सफलतापूर्वक गरेका छन् ।
ञ) नेपाली गजलमा तगज्जुलको निर्वाह भने राम्ररी हुन सकेको छैन ।
ट) नेपाली गजल गायकीले सांस्कृतिक र सांगीतिक रूप प्राप्त गर्न सकेको छैन ।
ठ) नेपाली गजलको भविष्य सुन्दर एवं समुज्जवल देखिन्छ ।
सन्दर्भ ग्रन्थ र पत्रपत्रिकाहरू
१. हिन्दी गजलका विविध आयाम— डा.सरदार मुजावर
२. उर्दू भाषा और साहित्य— फिराक गोरखपुरी
३. इन्द्र धनुषी हिन्दी गजले— डा.रोहिताश्व अस्थाना
४. साहित्य सन्दर्भ— घनश्याम न्यौपाने “परिश्रमी”
५. गजल (वर्ष ४ अंक २) सं.इन्द्रकुमार श्रेष्ठ “सरित”
६. तन्नेरी (वर्ष १६ अंक ३) सं. प्र.विदुर गौतम
७. मधुपर्क (वर्ष २९ अंक ३) सं.कपिल घिमिरे
८. सगर (समालोचना अंक) कार्यकारी सं.घनश्याम परिश्रमी
९. मूच्र्छना (वर्ष १ अंक १) कार्यकारी सं.अमर त्यागी
१०. हिन्दी और नेपाली गजलो का विश्लेषणात्मक अध्ययन (विद्यावारिधि शोधग्रन्थ) घनश्याम न्यौपाने “परिश्रमी”
मिति २०५८÷१÷८
रौतहट रश्मि
अंक १०
वैशाख, जेष्ठ, आषाढ २०५९