१६ चैत २०७९, बिहिवार

पछैमा रामायण पार्क बन्ने !

पछैमा रामायण पार्क बन्ने !
धार्मिक हिसावले जिल्ला मात्र होइन देशकै बहुचर्चित योजनाको रुपमा लिइएको रामायण पार्क बन्ने भएको छ । धार्मिक ग्रन्थ रामायणका प्रसिद्ध पात्र रावणको जन्म स्थान भनेर चिनिने पछैमा रामायण पार्क निर्माण हुने भएको हो ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न म्याग्दीको बेनी नगरपालिका-५, पछैमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा बन्न लागेको रामायण पार्क निर्माणका लागि बिस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भैसकेको छ । पछैमा गत शनिबार रामायण पार्क निर्माणका विषयमा स्थानीय र सरोकारवालाहरुबीच पहिलो चरणको छलफल समेत भएको छ । पौराणिक प्रमाणहरुलाई यथावत राखेर पार्क निर्माण गरिने भएको हो । हालको मन्दिर, हवन कुण्ड, रावणको नाबी गाडेको ठाउँ लगाएतका पुराना संरचनाहरुलाई यथावत राखेर पहिलो चरणमा रामायणको मूर्ति, धर्मशाला, बगैँचा, विश्राम स्थल लगायतका थप गरिने र प्रत्येक वर्ष खोज अनुसन्धान गर्दै रामायण पार्कलाई पूणर्ता दिइने छ । २०७४ देखिनै बजेट बिनियोजन गरिएको भएपनि मन्त्रालय र नगरपलिकाबीच समन्वय नहुँदा पार्क निर्माणमा ढिलाई भएको बेनी नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनु भयो । पुलह पुलत्स्य क्षेत्रको १४ रोपनी जग्गा मध्य पहिलो चरणमा चार रोपनीमा रामायण पार्क बनाउन लागिएको हो । योजना दुई बर्षभित्रमा पूरा गर्ने लक्ष्य राखिएको छ । ठेक्का प्रक्रियाबाट निर्माण गर्न लागिएको पार्कलाई चालु आर्थिक वर्षमा पर्यटन मन्त्रालयले दुई करोड ११ लाख र नगरपालिकाको एक करोड १४ लाख बिनियोजन गरेका छन् ।
स्रोत अभावमा निर्माणमा ढिलाई भएकोे रामायण पार्कको योजनालाई नगरपालिकाको गौरवको आयोजनाको रुपमा कार्यान्वयनमा लैजान लागिएको नगर कार्यपालिकाको भौतिक पूर्वाधार विकास समितिका संयोजक कृष्णकुमार बिश्वकर्माले बताउनुभयो । रामायण पार्क पौराणिक विषयहरुका साथै धार्मिक र पर्यटनको विकासमा सहयोग पुग्ने निवर्तमान संघीय सांसद भूपेन्द्र थापाले बताउनुभयो । रामायण पार्कमा धार्मिक कुराहरु झल्काउन सके आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र हुने उहाँको भनाई छ ।
रामायण पार्कले आन्तरिक पर्यटकसँगै दक्षिण भारत, श्रीलंका, भुटान लगाएत हिन्दु र बौद्ध धर्मावलम्वीहरुको बसोबास रहेका देशबाट समेत पर्यटकलाई आकर्षित गर्न सकिने छ । रावणको मूर्ति सहितको संरचना बनाएमा श्रीलङ्का र भारतबाट हजारौं भक्तजनहरुलाई भित्राउन सकिने छ । बेनीबजारको शीरमा अवस्थित पौलस्त्य आश्रममा लङ्काको राजा रावणको जन्मस्थान मानिन्छ । पौलस्त्य आश्रम क्षेत्रको वणर्न श्रीमद्भागवत,मत्स्य पुराण लगाएतका ग्रन्थहरुमा समेत उल्लेख छ । रावण पौलस्त्य क्रृषिका नाति थिए । रामायणमा उल्लेख गरिएका लङ्काका राजा रावण पौलस्त्य ऋषिका नाति थिए भने उनको जन्म श्री भागवत् पुराणको पाँचौ अध्यायमा पछैको पौलस्त्य आश्रममा भएको उल्लेख गरिएको छ ।
(बुलबुल साप्ताहिक पत्रिकाबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *