सोमबार विहानदेखि लगातार परेको बर्षाका कारण पहिरो जाँदा अबरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड एकतर्फी रुपमा सुचारु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं ८ चुवाभिरमा निरन्तर पहिरो झरेका कारण गए रातीदेखि अबरुद्ध सडक २० घण्टापछि एकतर्फी रुपमा सुचारु बनेको हो ।
उक्त स्थानमा सडक भन्दा करिव ५० मिटरमाथिबाट ठूलो पहिरो झरिरहेकाले सडक अबरुद्ध बनेको थियो । सडकको दुवै तर्फबाट हटाएपछि मंगलबार साँझबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उक्त स्थानमा विगत देखिनै सामान्य वर्षा हुने वित्तिकै पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।
सडक अबरुद्ध बनेपछि विभिन्न मालबहाक ढुवानीका सवारी साधन सँगै एम्बुलेन्स सेवा समेत प्रभावित बनेका थिए । कोरोना कहरको महामारीमा सडक बन्द भएपछि बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका स्थानबाट थप उपचारका लागि पोखरा लैजानुनपर्ने विरामीहरु प्रभावित भएका थिए भने अत्यावश्यक कामका लागि आवातजावत गर्ने सर्वसाधारणहरु पनि मर्कामा परेका थिए ।
सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरु पर्वतको नयाँपुलमा अलपत्र बनेका थिए भने ती जिल्लाबाट पोखरा, काठमाण्डौका लागि छुटेका सवारीसाधनहरु पनि गन्तब्यमा पुग्न नसक्दा अलपत्र थिए । सडकमा पहिरो आएपछि विद्युत पोल भाँच्चिदा सोमबार राति देखि अबरुद्ध बनेको धौलागिरिका बागलुङ, म्याग्दी र पर्वतमा वितरण गरिएको विद्युत लाइन समेत ठूलो प्रयास पछि मंगलबार विहान ११ बजे मात्रै सुचारु भएको थियो ।