पूर्णचन्द्र घिमिरे
✍️ मानव चोलाको मुक्तिको मार्ग योग ,ध्यान र ज्ञान मा छ भन्ने धेरै विद्वानहरुको धारणा छ । भनिन्छ चित्त र वृत्तिको निरोध नै योग हो । योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योगक्रियाले मानिसको चेतना र शरीरबीचको सम्बन्धलाई जोड्ने काम गर्छ । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिन्छ। योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौँ आयाम छन् ।
योग सूत्रको प्रारम्भ देवादिदेव शिवबाट भएको मानिन्छ । शिवबाट शुरुवात भएका योगविधाहरू क्रमशः सप्तऋृषिहरूमार्फत् पुस्तौँपुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको हो भन्ने भनाइ छ। वास्तुकला अध्ययन अनुसार आदिनाथ भगवान शिवले ध्यान मुद्रामा रहेको मूर्ति सबैभन्दा प्राचीन मानिएको छ । महावीर जैनको समेत ध्यान गर्दै गरेको मूर्ति छ ।
योगलाई शुरुमा व्यास र पछि वाचस्पति मिश्रले व्याख्या गरेका थिए भन्ने भनाइ छ । जैन धर्मगुरु हेमचन्द्रले समेत योगलाई धर्मको ध्यान–विधिका रूपमा प्रयोग गरेको पाइन्छ। १९औँ शताब्दीमा स्वामी विवेकानन्दको योग अभ्यासलाई समेत पश्चिमा देशहरूमा फैलाउनसमेत महत्वपूर्ण योगदान छ । मुस्लिम समुदायमा समेत यसलाई योगसूत्रको अनसावदका रूपमा प्रयोग गरिएको छ।
योगको अर्को आधार भगवान् बुद्धको ध्यान मूर्ति पनि हो, यो मूर्ति विश्वप्रसिद्ध मानिन्छ । अर्को कथन अनुसार योगशास्त्रको श्रेय भगवान् श्रीकृष्णलाई पनि दिइएको पाइन्छ । भगवान श्रीकृष्णका अनेक नामहरूमध्ये योगेश्वर नामले समेत उनको पूजा गर्ने चलन छ । यूनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सन् २०१६ मा दर्ता गरेको छ ।
विश्व योग दिवस हरेक वर्षको जून महिनाको २१ तारिखमा मनाइन्छ । सन् २०१४ बाट यो दिवस मनाउन शुरु गरिएको हो । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक सोचको विकास गराउँछ। आफ्नै नजरमा आफ्नो महत्व र उपस्थितिको मूल्य योगको माध्यमबाट जागृत हुने भएकाले मानसिक रोग र आत्म–बल एवम् सम्मान वृद्धिका लागि पनि योग सरल र सहज उपाय हो ।
आफू र आफूभन्दा परसम्म चित्त पुर्याउन र एक आपसमा सहयोगी बन्न पनि योगले प्रेरणा दिन्छ । जीवनको उद्देश्यको गहकिलो ज्ञान पनि योगबाट थाहा पाउन सकिने तथ्य क्रमश: उजागर हुँदै गएको पाइन्छ ।
योग र ध्यानबाट ज्ञान प्राप्त भइ आफ्नो र जगत कै राम्रो गर्न सकिने हुनाले योगले सबैलाई सत्मार्गमा हिँड्न अभिप्रेरित गर्नेछ ।
जामुने गाविस-७, डिहिँने तनहुँ
(परिवर्तित म्याग्दे गॉउपालिका-३, डिहिँने )
हाल- रेडियो नेपालमा कार्यरत ।