२० मंसिर २०७९, मंगलबार

राष्ट्रपतिज्यू, कमरेड मदनको नाम बदनाम गर्ने अधिकार तपाईंलाई छैन !



सविता विमली

प्रिय विद्यादेवी भण्डारीज्यू ! 
नेपालको संविधान २०७२, जारी भएपछिका दोस्रो संसद् विघटनका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा तपाईंको जवाफ पढेपछि म त ‘अवाक्’ भएँ । अनि लाग्यो कि केही त लेख्‍नुपर्छ । बोल्नुपर्छ । 


तपाईं पहिला नागरिक । अनि मात्रै वर्तमान नेपालको राष्ट्रपति । यो पदको पनि निश्चित आयु छ । राष्ट्रपति संस्था हो । तपाईं व्यक्ति हो जो राजनीतिको गणित मिलेकाले आज यो पदमा आसीन हुनुहुन्छ । यो संस्था वर्तमान नेपालको राजनीतिक प्रणालीअनुसारको पदीय सोपानको सर्वोच्च स्थान हो । यो संस्थाको पदीय सोपानका कारण तपाईं स्वभावतः सर्वोच्च मानको हकदार हुनुहुन्छ नै । यद्यपि कहिलेकाहीँ पद मात्र सम्मानको मानक नहुँदो रहेछ महामहिम ! 
पद सम्मानित भए पनि सम्मान कमाउने त अन्ततोगत्वा व्यक्तिको कर्म नै रहेछ, जुन तपाईंले गर्न सक्नु भएन । निर्दलीय पञ्चायतविरुद्ध लड्नु भएकी तपाईंलाई कसरी लाग्यो कि तपाईंका गैरसंवैधानिक कदमविरुद्ध प्रश्न उठाउन पाइँदैन ? तपाईं सार्वभौम नागरिकको सार्वभौम राष्ट्रको संविधानभन्दा ‘माथि’ कसरी ? 
‘अहँ !’ यस्तो दाबी गरेर तपाईं जग नहँसाउनुस् । 
तपाईंलाई ‘संविधानभन्दा माथि’ छु भन्‍ने भ्रम भए, केही समय प्रतीक्षा गर्नुस् । त्यो भ्रमको पनि निवारण हुने नै छ । राष्ट्रपतिका रूपमा तपाईंले गरेका गलत कामको जवाफदेही तपाईं नै हुनुपर्छ । तपाईंका गलत कार्यविरुद्ध जहाँ पनि प्रश्न उठ्छ । एउटा सार्वभौम नागरिक हैसियतमा त्यसरी प्रश्न गर्ने अधिकार मसँग सदैव सुरक्षित छ । 
तपाईंका कारण त्यो सम्मानित संस्थाको साह्रै बदनाम भयो । तपाईंले सर्वोच्चमा पेस गरेको उत्तर जस्तो गणतन्त्रको अनुहार नेपाली नागरिकले चाहेका होइनन् । 
किशोर उमेरमा राजनीति सुरु गरेकी तपाईं तपाईंसँगै राजनीति सुरु गरेका, तपाईंजस्तै राजनीति गरेका, राजनीतिमा तपाईंको जत्तिकै योगदान गरेका वा तपाईंको भन्दा बढी योगदान गरेका महिला मात्र होइन राजनीतिक सहकर्मीको तुलनामा राजनीतिको, सत्ताको, शक्तिको उपल्लो अभ्यास गर्न पाउनुमा तपाईं मात्र निर्विकल्प भएर त पक्कै होइन । 
तपाईं जहाँ पुग्‍नुभयो, जे प्राप्त गर्नुभयो त्यही स्तरको उच्च-क्षमता प्रदर्शन गरेको पनि देख्‍न/सुन्‍न पाइएन । तसर्थ, के भन्‍न सकिन्छ भने राजनीतिको सामान्य पृष्ठभूमि भएकी तपाईंको सफलता तथा शक्तिको यो उडान कमरेड मदन भण्डारीको विरासत हो । त्यसरी कमरेड मदन भण्डारीको नाम बदनाम गर्ने अधिकार पनि तपाईंलाई छैन । 
संविधान रक्षकको भूमिकामा रहेर संविधानकै अपव्याख्या र मानमर्दन गर्ने अधिकार छैन, तपाईंलाई । आफ्नो संवैधानिक भूमिकाप्रति तपाईंले गरेको अन्याय इतिहासले कदापि बिर्सनेछैन । कुनै समय यस्तो आउनेछ कि ती तमाम कारनामाका निम्ति तपाईंलाई लज्जा मात्र होइन, आत्मग्लानि हुनेछ । याद रहोस्, तर तपाईंलाई इतिहासमा माफी मिल्नेछैन ।   
मदन भण्डारीको मृत्यु (हत्या ?) भयो । भण्डारीको मृत्युपछि तपाईंको राजनीति उकालो लाग्यो । भण्डारीसँगै मृत्युवरण गरेका जीवराज आश्रितकी पत्नी बल्लतल्ल माननीय हुँदासम्म तपाईं यो देशको सम्माननीय सर्वोच्च पदमा दुई/दुईपटक आसीन हुने एकमात्र महिला होइन, व्यक्ति हुनुहुन्छ । यसरी हेर्दा भण्डारीको मृत्यु तपाईंलाई सर्वाधिक फापेको छ । २०४६ को परिवर्तनपछि लाभको पदमा पुग्‍ने, शक्तिको उच्चतम अभ्यास गर्ने व्यक्ति तपाईं हो भन्‍न हिच्किचाउनु पर्दैन ।
कहिलेकाहीँ लाग्छ, कमरेड मदन भण्डारी जीवित हुन्थे भने उनको यही सुनाम कायम रहन्थ्यो-रहन्‍नथ्यो ? उनी कस्ता हुन्थे होलान् ? गिरिजाप्रसाद कोइराला जस्ता कि खड्गप्रसाद ओली जस्ता ? प्रचण्ड जस्ता कि बादल जस्ता ? सिपी मैनाली जस्ता कि मोहनचन्द्र अधिकारी जस्ता ? उनको विचारको बिजले अंकुराएका बागी स्वरहरूको तेज कस्तो हुन्थ्यो होला ?
 देशमा भागबण्डा त थियो र छ । राजनीतिक दलहरू मिलिजुली लाभका पदमा आफ्ना मानिस नियुक्त गर्थे । गरिरहेछन् । तर जब राष्ट्रपतिका नाममा पनि कोटा छुट्टिन थाल्यो नि विश्वविद्यालयदेखि न्यायालयसम्म, संसद्‌देखि मन्त्रिमण्डलसम्म । अब म त तपाईंलाई निर्वाचन आयोगमा दर्ता नभएको अर्को एउटा दल देख्छु ।
फेरि लाग्छ, नियतिलाई उनको नाममा नराम्रो पोतिएको हेर्न मञ्जुर थिएन । त्यसैले आफ्नो विचारको राप नसेलाउँदै उनको ईहलीला अन्त्य भयो । उनको मृत्यु उनको सुनाम बचाइराख्‍ने सुयोग पो थियो कि ! उनको मृत्युले उनलाई नेपाली राजनीतिको सम्भावित खलनायक बन्‍नबाट बचाएको पो हो कि ! त्यो असामयिक मृत्युकै कारण उनलाई नागरिकको मनमा बसिरहने लाभ प्राप्त छ । एकप्रकारले शंकाको सुविधा प्राप्त छ ।
देशमा भागबण्डा त थियो र छ । राजनीतिक दलहरू मिलिजुली लाभका पदमा आफ्ना मानिस नियुक्त गर्थे । गरिरहेछन् । तर जब राष्ट्रपतिका नाममा पनि कोटा छुट्टिन थाल्यो नि विश्वविद्यालयदेखि न्यायालयसम्म, संसद्देखि मन्त्रिमण्डलसम्म । अब म त तपाईंलाई निर्वाचन आयोगमा दर्ता नभएको अर्को एउटा दल देख्छु । 
केही वर्ष अगाडिको कुरा हो एउटा कार्यक्रममा गएकी थिएँ । सँगैको कुर्सीमा एक संवाददाता थिइन् । ‘कुन पत्रिकाको ?’ उनलाई काम गर्ने संस्थाबारे सोध्छु । उनी एउटा अनलाइन मिडियाको नाम लिन्छिन् । ‘कसको हो ?’ उनी कानमा तपाईंको नाम फुसफुसाउँछिन् । कसैले नयाँ व्यवसाय, स्कुल, कलेज खोलेसँगै अदृश्य लगानीकर्ताको नाममा सम्बन्धित संस्थाका व्यक्तिले तपाईंको नाम लिन्छन् । 
दुई छोरीकी आमा, दुई नातिनीकी हजुर-आमा जब तपाईंको नाम गम्भीर अपराधका आरोपीलाई अदालती उन्मुक्ति दिने कुरामा जोडिएको सुन्छु नि म भित्रकी नारी मूर्छा पर्छे । अनि म तपाईंलाई नारी देख्दिनँ । तपाईंको कार्यशैलीले तपाईंलाई मानिसकै रूपमा बचाइराख्छ भन्‍ने पनि मलाई आजभोलि लाग्‍न छोडेको छ । 
तपाईंको सक्रिय उमेर बाँकी नै छ । यो कार्यकाल (बीचमा अन्यथा नभएमा) पूरा भएपछि संविधानतः सक्रिय राजनीतिबाट तपाईं टाढिनु हुन्छ । तर तपाईं राजनीतिबाट टाढिनु हुनेछैन । सम्भवतः जेठी छोरीलाई आगामी निर्वाचनमा कुनै जित्ने ठाउँबाट उठाउनु हुनेछ । बिस्तारै कान्छी छोरीलाई पनि । र, आफ्नो राजनीतिको बाँकी भोक त्यहीँबाट तृप्त गर्नु हुनेछ ।
भण्डारीकी पत्नी हुनुको उच्चतम लाभको उत्कर्षबाट हुने तपाईंको अधोगमनको यात्राले भोलिका दिनमा तपाईंका छोरीहरूलाई मदन भण्डारीकै छोरीहरू मात्र हुने लाभ प्राप्त हुनेछैन । ती विद्यादेवी भण्डारीका छोरीहरू पनि हुनेछन् । यो सत्यले उनीहरूको राजनीतिक भविष्यमाथि कस्तो प्रभाव छाड्छ, त्यो हेर्न भने समयलाई नै पर्खनुपर्ने हुन्छ । 
तपाईंको यात्रा त्यहाँदेखि यहाँसम्म आइपुग्दा के देखिन्छ भने नि तपाईं कमरेड मदन भण्डारीको विचारको विरासत बोक्न योग्य व्यक्ति त कम्तीमा पनि होइन । हुँदै होइन । 
तपाईंका आजका कर्तुतले भण्डारीको वंश विरासत पनि कलंकित हुँदै छ । मदनको ‘लिगेसी’मा तपाईं कहीँ पर्नुहुन्‍न । कम्तीमा भोलि इतिहासले तपाईंलाई मदन भण्डारीसँग जोडेर सम्झनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *