३ चैत २०७९, शुक्रवार

सामाजिक अभियन्ताहरुको हिरासत यात्रा: ठगीदेखि अभद्र ब्यवहारसम्म !

सामाजिक सञ्जाल फेसबुकमा गरेको टिप्पणीको विवाद मिलाउन प्रहरी कार्यालय जाँदा कुटपिट गरेको आरोपमा ज्वाला सङ्ग्रौला अहिले प्रहरी हिरासतमा छिन्। युवा सङ्घकी नेतृ खुम्बु घिमिरेमाथि अभद्र व्यवहार गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले उनीसँगै उनको श्रीमान् हिमाल उपाध्याय र सहयोगी शर्मिला वाइबालाई पक्राउ गरेर अभद्र व्यवहारमा अनुसन्धानका लागि हिरासतमा राखेको छ।
आफूलाई समाजसेवी दाबी गर्ने ज्वालामाथि घिमिरेले फेसबुकमा एक अर्कप्रति गरेको टिप्पणीबारे छलफल गर्न महानगरीय प्रहरी वृत्त गौशालामा जाँदा जेठ १६ मा कुटपिट गरेको दाबी गरेकी छिन्। उनको जाहेरीपछि आइतबार प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो।
जेठ १६ को घटना भए पनि घिमिरेले कतै उजुर गरेकी थिइनन्। ज्वाला प्रहरीलाई रङ्गभेदी प्रतिक्रिया दिएपछि विवादमा आएपछि घिमिरेले घटना सार्वजनिक गर्दै जाहेरी दिएकी थिइन्। ज्वाला पक्राउ परेपछि प्रहरी कार्यालय गएका उनका समर्थकलाई कुटेको आरोपमा प्रहरीले घिमिरे समर्थक सुजन खत्री र सुमन चित्रकारलाई समेत पक्राउ गरेको काठमाडौँ परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए।
ज्वाला जापानमा रहेको बेला नेपालमा टेलिभिजन कार्यक्रम मार्फत विभिन्न अभियान चलाउन सक्रिय रबी लामिछानेको पक्षमा खुलेर चर्चामा आएकी थिइन्। उनको सामाजिक सञ्जालको सक्रियता हेर्दा उनी लामिछानेको विभिन्न अभियानमा चन्दा उठाएर सघाउन सक्रिय रहेको देखिन्छ।
उनी जापानबाट नेपाल आएर आफूलाई सामाजिक अभियन्ताको रूपमा चिनाउँदै आएकी थिइन्। उनी प्राय विभिन्न व्यक्तिहरूसँग चन्दा उठाएर सहयोग गर्ने अभियानमा संलग्न देखिँदै आएकी छिन्।
सङ्ग्रौला अगाडि आफूलाई सामाजिक अभियन्ता भएको दाबी गर्ने ज्ञानेन्द्र शाही पनि प्रहरी हिरासतमा पुगिसकेका छन्। आफूलाई भ्रष्टाचार विरुद्धको अभियन्ता दाबी गर्ने शाही पटक-पटक विवादमा आउने गरेका छन्।
युट्युबका कन्टेन्ट क्रियटरका प्रिय उनी २०७७ वैशाख ९ मा ललितपुर प्रहरीको हिरासतमा पुगेका थिए। लकडाउन उलङ्घन गरेको आरोपमा पक्राउ परेका उनी केही दिन अगाडि कुटपिटको घटनाले विवादमा आएका थिए। उनी अहिले चेक बाउन्सको विवादमा समेत तानिएका छन्।
उनी यस अगाडि २०७६ भदौ २९ मा पनि ललितपुरमै पक्राउ परेका थिए। पुलचोकमा उनले पत्रकार सम्मेलन गर्दा विद्यार्थी नेताहरूले अवरोध गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर पछि हिरासतमा राखेको थियो।
टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रममार्फत कहिले विदेशमा रहेको नेपाली फर्काउने, अस्पताल बनाउने त कहिले अन्य अभियान सुरु गर्ने रबी लामिछाने समेत पक्राउ परेका थिए। उनी आफ्नै सहकर्मीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा चितवन प्रहरीले पक्राउ गरेको थियो।
गलत भिसामा नेपालमा बसेको, व्यक्तिगत घरायसी सम्बन्ध लगायतका घटनाले विवादमा आएका लामिछानेले पछि सो गम्भीर मुद्दाबाट सफाइ पाए।
बेवारिसे शव उठाएर जलाउन सक्रिय भएका विजयजङग बस्नेत आफ्नै चेलीबारे अभद्र टिप्पणी गर्दा महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा पुगेका थिए। उनले आफ्नै चेली सपना मगरको नग्न तस्बिर सार्वजनिक गर्ने धम्की दिएको आरोपमा पक्राउ परेका थिए। उनी विरुद्ध पनि अभद्र व्यवहार को आरोप लागेको थियो।
आफूलाई सामाजिक अभियन्ता बताउने आशिष मल्ल ठकुरी प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ लिएको आरोपमा बाँकेमा पक्राउ परेका थिए। ठकुरीले सल्यानका भिम बहादुर घर्ती र तारा मन्तासँग प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ लिएको आरोपमा पक्राउ परेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *