१७ चैत २०७९, शुक्रवार

सिक्का र नोट !


कविता :- “सिक्का र नोट
रोशन परियार
*******””
सिक्काहरुको एउटा मिठो सपना हुन्छ, नोट बन्ने
यसकारण पनि नोटहरुले नोट भई दिईरहनु पर्छ
ता कि सिक्काहरुले नोट बन्ने
अधुरो सपना देख्न पाइरहुन्
ता कि सिक्काहरुले आफैं बेचिने
धमिलो सपना देख्न पाइरहुन्
प्राय सिक्काहरुको सपना साझा हुन्छ, उस्तै हुन्छ
सपना र बिपना प्राय आधा हुन्छ तर दुरुस्तै हुन्छ
सिक्काहरु हरेक दिन सपना देख्छन्
जस्तो कि
एक दिन उडिरहेको रंगिन नोटले
बसिरहेको साधा सिक्कालाई भन्यो
मेरो दाँजोमा के औकात छ तेरो ??
मेरो अगाडि के हैसियत छ तेरो ??
बडो हार्दिकताका साथ सिक्काले जवाफ दियो
आदरणीय नोट ज्यू
छिल्लिदै हिंड्नु र छपक्क बस्नुमा
केही त पक्का भिन्नता हुन्छ
कच्याककुचुक्क बनेर कुच्चिनु र सग्लो बनेर टल्किनुमा
केही त पक्का भिन्नता हुन्छ
हलुङ्गो बनेर हावा सँगै उड्नु र गरुङ्गो बनेर गोजी भित्र बस्नुमा
केही त पक्का भिन्नता हुन्छ
ज्युँदै मा मुर्दा जस्तो पानी माथि तैरिनु
र तैरिंदा तड्पिएको तमासा हेर्न पानी मुनी
गहिरिनुमा
केही त पक्का भिन्नता हुन्छ
भिन्नता यस्तो हुन्छ कि
हजुर कुनै पनि बेला च्यातिन सक्नु हुन्छ,
ढडेर खरानी बन्न सक्नु हुन्छ,
उडेर आकाशमा विलाउन सक्नु हुन्छ,
म त मर्दा पनि शिरमा बस्छु, शरिरमा बस्छु, निधारमा टाँसिन्छु, बाटो देखाउँछु
हजुर जस- जसको हातमा पुग्नु हुन्छ
सबै भन्दा पहिले दोब्रिनु हुन्छ,
भाँचिनु हुन्छ, खुम्चिनु हुन्छ, मैलिनु हुन्छ,
र फेरि अर्काकै हातमा पुग्दा पनि ऋण बनेर पुग्नु हुन्छ
त्यसैले हजुर बैशाकी टेक्ने तानाशाह जस्तो देखिनु हुन्छ
त्यसैले हजुर निर्धो निरंकुश जस्तो देखिनु हुन्छ
म जस- जसको हातमा पुग्ने छु
टुट्ने छैन, फुट्ने छैन, मैलिने छैन
बरु निर्णय गर्न गाह्रो भएको बेला माथि उफ्रने छु
र तल झर्दा निर्णायक भई सक्ने छु
र फेरी अर्काकै हातमा पुग्दा पनि
भेटी बनेर पुग्ने छु
एक सिक्काको दुई पाटो भन्ने उखान बनेर पुग्नेछु
त्यसैले म आदिम काल देखिको संस्कार जस्तो देखिने छु
त्यसैले म फैसलाको विश्वासिलो आधार जस्तो देखिने छु
म प्राय मन्दिरमा बस्छु
मेरा आफन्त नै भगवान हुन्छन्
हजुर घर घरमा बस्नु हुन्छ
हजुरका आफन्त नै प्राय दुश्मन हुन्छन्
नभुल्नुहोला
हजुर म भन्दा हजार गुणा ठूलो हुनु हुन्छ
तै पनि एकै पटकमा च्यातिनु हुन्छ
म हजुर भन्दा हजार गुणा सानो छु
तर हजार पटकमा पनि च्यात्न सक्दैनन् मलाई
म माटाको खुत्रुकेमा पनि सुरक्षित हुन्छु
हजुर बैंकको बाकसमा पनि असुरक्षित हुनुहुन्छ
मेरो औकात नभए कै कारण हजुरको रवाफ बढेको हो
मेरो हैसियत नभए कै कारण हजुरको दबाब बढेको हो
माफ गर्नुस्
गाढालाई “गाढा” भन्न पनि फिक्का चाहिन्छ
नोटलाई “नोट” भन्न पनि सिक्का चाहिन्छ ।
-: रोपनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *