१२ मंसिर २०७९, सोमवार

सीता पाण्डेको चर्चित याैनकथाः “ज्वरो”


सीता पाण्डे 

‘मम्मी, आज जाने भन्या होइन ?’ऊ दौडिँदै छेउमा आउँछे र पढ्दै गरेको मेरो हातको पत्रिका थुत्छे । अनि मेरा औँलाहरु समाउँदै तान्न थाल्छे । उसको भर्खर आज जाँच सकिएको छ । ऊ खुसी र चञ्चल देखिन्छे । धेरै दिनदेखी ‘रमाईलो मेला’हेर्न जान भनेकी थिई। जाँच सकिएपछि जाऔँला’ मैले टार्दै आएकी थिएँ । तर आज भने ऊ मान्ने छैन, मैले उसको जिद्दि प्रष्टै बुझिरहेकी थिएँ । त्यसैले अल्छी लागे पनि आफुलाई तयार गर्न डेसिङ टेबुलअघिल्तिर उभिन्छु । केश कोर्दाकोर्दै ठूलो ऐनाबाट अचानक देख्छु, छोरी फ्रक बदल्दै छे । उसको छातीका स–साना दुई विन्दुहरु गोलाकार गुलाफी हुँदै केही उचालिएका पनि रहेछन । म उसलाई ऐनाबाट नियाल्छु । सोच्छु, उसलाई मैले सधैँ देखेर पनि अहिलेसम्म कस्तो यादै नगरेकी । कता , उसलाई पनि थाहा छैन कि ! म पनि आफ्नो त्यो बेला अचानक पहिलोपल्ट आभास पाउँदा अचम्म र लाजले कस्तरी खुम्चेकी थिएँ ।
म,मेरी दिदी र गाउँका अरु पनि स्वास्नीमानिसहरु सँगै थियौँ । हामी सबै नजिकको आँप बगैँचामा बसिरहेका थियौँ । कोही रुखमा चढेका थिए । कोही भुइँमा बेसर के–के गफ गर्दै, आँप ताछ्दै खाइरहेका थिए । म पनि उनीहरुसँगै बसेर आँप त खाइरहेकी थिएँ । तर गफमा भने त्यति ध्यान दिएकी थिइनँ । भनौँ त्यसबेलाको मेरो उमेर ठूलाहरुको कुरामा खास रुचि नराख्ने हुँदो हो । त्यसैले होला म भने रुखमा चढेको मानिसलाई आँप देखाउनमा नै तल्लीन थिएँ । अचानक ठूलो पानी पर्यो । हुरी, बतास चल्न थाल्यो । सबै भिज्न थाले र आ–आफ्ना लुगाहरु सँभाल्न थाले । म पनि भिजेँ । मेरो पातलो फ्रक पानीले निथ्रुक्क भएर जीउमा टपक्क टाँसियो ।
त्यसैबेला पहिलोपटक मैले अनुभव गरेँ, मेरो फ्रकको कुनै भाग शरीरको कोही अस्वाभाविक आकृतिले उचालिएको रहेछ । र भिजेको कारण ती फ्रकभित्र थिए कि बाहिर देख्नेलाई भ्रम उत्पन्न गर्दथ्यो– मलाई लाग्यो । म तिनलाई ढाक्न सक्थेँ । तर त्यसको आकारलाई लुकाउन सक्दिनथेँ, जसरी मेरी दिदी र अरु आइमाईहरु सारीको सप्को वा पछ्यौराले मुश्किलले ढाक्ने कोसिस गरिरहेका थिए । मलाई असजिलो भयो र त्यहाँबाट जतिसक्दो छिटो भाग्न चाहन्थेँ । तर तिनीहरु सबलाई छाडेर कुद्न पनि सक्दिनथेँ । तिनीहरु भने हतार गर्नुको साटो अझ हुरी, बतास पर्खिरहेका थिए । म भने जतिसक्दो घोप्टो पर्न र तिनीहरुका आँखाहरुबाट जोगिन चाहन्थेँ ।
तिनताका म धेरै बेचैन रहेँ । अक्सर एक्लो हुने मौका खोज्थेँ र कुनै एकान्तमा आफ्नो प्राकृतिक अवस्था हेरेर टोह्लाउन थाल्थेँ । तिनलाई दबाउन वा लुकाउन म विशेष प्रकारर्को पट्टी’ बनाउँथे र भित्रपट्टि लगाउँथे । तर ती हराउनु वा दबिनुको साटो झनझन पुष्ट र टड्कारो हुँदै आउन थाले ।
घरमा बाथरुम वा विशेष बारिएको नुहाउने ठाँउ थिएन । आमा, दिदी र घरका अरु स्वास्नीमानिसहरु कम्मरदेखि मास्तिर पेटिकोट वा त्यस्तै कुनै कापडा बाँधेर निर्धक्क कलधारामा मिचिमिची नुहाउने गर्दथे तर म भने अझै त्यसो गर्न सकिरहेकी थिइनँ वा गर्न लायक ठान्दिनथेँ । दुई घुँडाहरु छातीमा टाँसेर टुक्रुक्क धारामा बस्थेँ र पहिलेझैँ नुहाउन थाल्थेँ । यस्तो बेला बरण्डामा बसेका दिदी , आमा वा अरु कोही स्वास्नीमानिसहरु धारातिर हेर्दै आपसमा विस्तारै केही फुस्फुसाइरहेका म देख्थे र लाजले अझ दोब्रिन थाल्थे । यधपि त्यो क्रम धेरै दिनसम्म चल्न पाएन । मलाई पनि लुगा बेर्न बाध्य गराईयो, जुन नगरेर उनीहरुको आँखामा पहिलेझैँ देखिन म चाहन्थेँ । त्यसैले पनि केही दिनसम्म रिसाउनु र रुनुको बोधो हतियार लिइरहेँ ।
पछि, जो नचाहनु वा नहुनु थियो त्यो सहज र स्वाभाविक हुन थाल्यो ।
दिदी र मेरो सुत्ने कोठा एउटै थियो ।हामी सँगै सुत्थ्यौँ । हाम्रा लुगाहरु पनि एकै ठाउँमा राखिएका हुन्थे । एकदिन म आफ्नो कुनै फ्रक खोजिरहेकी थिएँ र जति खोजे पनि भेट्टाउन सकिरहेकी थिइनँ । खोज्दाखोज्दै हैरान भइसकेपछि धुन छुट्याइएको भुइँको लुगा उधिन्न थालेँ । यसैबीच एउटा कुनै हो जस्तो लाग्यो र तान्न थालेँ । त्यो पनि होइन रहेछ । तर त्यससँगै अर्को कुनै कपडाको हुक’अल्झेर आएको रहेछ । हेर्छु दिदीले लगाएको ब्लाउजभित्र कहिलेकाहीँ मैले देख्ने गरेको विशेष आकार, बनौटको एकधरो कपडा रहेछ । त्यो देखेर मलाई खुसी र लाज लाग्यो । अनि केही उत्सुकता पनि । म त्यो उत्सुकतालाई रोक्न सक्तिनँ । रोमाञ्चित हुन्छु । तर आफ्नो शरीरको त्यो भागको वृद्धि एकदमै धीमा भएझैँ लाग्यो अनि अलिकति खिन्न पनि भएँ ।
सानै देखिनै म स्वस्थ मात्र हैन, हृष्टपुष्ट पनि थिएँ । कक्षा चढनुको साथसाथै ममा शारीरिक परिवर्तन पनि देखिन थालेका थिए । यसबेला म यस्तै छैठौ–सातौँ कक्षामा पढ्दी हुँ । मेरो केटी सहपाठीहरु भने मेरो उमेरभन्दा निक्कै अगाडि देखिन्थे । कारण तिनीहरु पढाईमाभन्दा शिक्षकहरुको कपडा, कपडाको डिजाइन वा हेयर स्टालइलबारे विशेष ध्यान राख्ने र चर्चा गर्न थालिसकेका थिए । कोही–कोही भने आफ्नो कक्षाका वा सो भन्दा माथिका केटाहरुसँग प्रेमपत्र लेख्न र पढ्न पनि थालिसकेका थिए । तिनीहरुमा म नै सायद सबभन्दा कम उमेरकी थिएँ । शिक्षकले दिएको ‘होमवर्क’ गर्दथे र तिनीहरुका कापीहरुमा सारिदिएर सबैको सहयोगी, प्रिय र कौतूहलमयी पनि बनेकी थिएँ । कौतूहल कुन अर्थमा भने म जे लुकाउन चाहन्थे तिनीहरु त्यही खोतल्न चाहान्थे । म कहिले रिसाउँथे, कहिले भाग्थेँ । तिनीहरु भने अवसर मेरो फ्रकको गलाभित्र च्याउने मौका खोज्थे त कहिले फकाउने आदि किसिमका अनुरोध गर्ने पनि गर्दथे । तर पछिसम्म पनि मैले बुझन सकेकी थिइनँ–वास्तवमा तिनीहरु त्यो सब किन चाहन्थे ।
एकदिन टिफिनको समयमा कक्षाका सबै केटाहरु बाहिर निस्किसकेपछि तिनीहरुले अचानक ढोका बन्द गरे । अनि आपसमा खासखुस गर्दै हाँस्न थाले । म भने आत्तिन थालेँ । तिनमध्ये एउटी अरुलाई हाँस्न छोडेर अघि सरी र भनी, तिमीलाई हामी केही गर्दैनौँ, नरिसाऊ । मात्र एकपल्ट..कस्तो रैछ…!’त्यसबेला मेरो अनुहार कालो–निलो भयो । म रुनै के लागेकी थिएँ , बाजले चल्ला झम्टेझैँ तिनीहरुले एकै निमेषमा मेरो फ्रकमा झम्टे । त्यसलाई मेचमाथि राखिदिएर खितखिताएर हाँस्न थाले । म विवश, सरमले रुन थालेँ । त्यसपछि मैले कहिल्र्यै तिनीहरुबाट भाग्नु वा रुनु परेन ।
स्कुल पूग्नु केही अगाडि आठ–दसवटा स–साना पसलहरु गुजुमुज्ज भएको ठाउँ आइपुग्थ्यो जहाँ हप्तामा दुईपल्ट हाट लाग्ने गर्दथ्यो । त्यहाँ भर्खर–भर्खर कुनै बैङकको उपशाखा कार्यालय खुलेको थियो । बैङकको ठीक अगाडिपट्टिको भागमा, टिनको सानो छाप्रोमुन्तिर गार्ड उभिन्थ्यो । त्यसले सधैँ विशेष एउटै प्रकारको पोसाक लगाएको हुन्थ्यो र हरेक घण्टामा समयको जानकारी घण्टी ठोकेर दिन्थ्यो । हाम्रो घरमा ढिला खाने चलन थियो र अक्सर मलाई स्करल जान ढिला हुन्थ्यो । त्यसैले स्कुल पुग्दा स्वाँ–स्वाँ गरिरहेकी हुन्थेँ । तर जतिसुकै हतार भए पनि स्कुल पुग्नुअगाडि, जुन त्यो बैङक आउँथ्यो –त्यसको पालेलाई एकपल्ट हेर्न म यसकारण भुल्दिनथेँ कि अब त्यसले हान्ने घण्टी कतियौँ हो । हेर्दाहेदै घण्टी ठोकिएको देखिनु मात्रले पनि म त्यसबेला रोमाञ्चित हुन्थेँ । त्यो दृश्यले अथवा समयबोध गराउने त्यस तरङगले मात्र पनि निक्कै आनन्द अनुभव गर्दथेँ । लाग्थ्यो, त्यसबेलाका मेरा सारा खुसीहरु हावामा झुण्डिएको त्यही घण्टीसँगै गाासिएका छन् । घरबाट बजार या बैङकसम्म पुग्ने मेरा गति सधैँ उस्तै हुने गर्दथ्यो अर्थात् म करिब–करिब दौडेजस्तो गरी हिँड्थेँ । अझ सडकमा कोही पनि देखिएनन्, र सुनसान भयो भने दौडी नै दिन्थेँ । बजार भनौँ बैङक आइपुग्थ्यो म त्यस पालेलाई हेर्थे– कहीँ घण्टी हान्ने आँटेको छ कि ! यदि हानेकै देखियो भने गन्ने पनि गर्थे कि त्यो दसौँ हो या एघारौँ । त्यसअनुसार म फेरि अगाडिको हिँडाइको गति निर्धारण गर्थे या कहिलेकाहीँ त्यहीँबाट घर फर्किने पनि निर्णय गदथेँ ।
बैङकको पछाडि एउटा हाते कलधारा थियो । अक्कसर त्यहाँ स्कुले केटाकेटीहरुको पानी खान धुइरो लाग्थ्यो । म पनि बजार घुम्दै कहिलेकाहीँ त्यहीँ पानी खान र खुट्टा भिजाउन पुग्थेँ । त्यस्तोबेला त्यो पाले धारो चलाइदिन्थ्यो । सानातिना प्रश्नहरु पनि गथ्र्यो । छुट्टी भइसक्यो ? आज किन ढिला या अर्की साथीचाहिँ खोइ नि ?’आदि यस्तै त्यसका जिज्ञासाहरु हुन्थे । म पनि कहिलेकाहीँ थोरैजसो साँचो नै भनिदिन्थेँ । अर्नि कति बज्यो ? ’सोधेर हिँडथे ।
कहिलेकाहिँ त्यहाँ पानी पिउन आउँदा त्यो पाले त्यतैकतै कुनामा निक्कै घोप्टो परिरहेको पनि देखिन्थ्यो । त्यस्तो देख्दा हामीलाई लाग्थ्यो–कस्तो बेशर्मी पाले ! बेसोमती ! जहाँतहीँ झाडी, ओझल वा बाथरुमभित्र गरिने काम गर्छ ।
हामी आउनुको आभास पाएर ऊ हतपताउँदै उठ्थ्यो । हामी, ऊ घोप्टो परेको भाग नियाल्थ्यौँ र सोचेजस्तो त्यहाँ कुनै अवशेष नदेखेर अचम्म मान्ने गथ्यौँ र ऊ केही लुकाएझैँ दुवै हात तिघ्रादेखि केही मास्तिर अघिल्लो भागमा अल्झाइरहन्थ्यो । हामी भने उसको हातमा के होला , उसलाई थाहा नदिने गरी खुब प्रयत्न गरेर पटक–पटक चियाइरहेका हुन्थ्यौं तर त्यहाँ आधा खुलेको फस्नरमात्र देखिन्थ्यो ।
एकदिन गर्मीको कुनै मध्याह्न । म त्यही कलधारा एउटा हातले । मुश्कीलले तान्दै अर्को हात टुटीमा थापेर निहुरिएर पानी पिइरहेकी थिएँ । अचानक कसैले मेरो हात पन्छाएर धाराको हाते डण्डी बेस्करी चलाइदियो । म मज्जाले पानी पिसकेपछि हेर्छु त उही बैङकको पाले रहेछ ।
अहिले कति बज्यो ? ’हाँस्तै सोधेँ ।
उसले जवाफ दिएन र सधैँ गर्नेजस्तो प्रश्न पनि गरेन । एकटक चितुवाका आँखाले झैँ मलाई घुर्न थाल्यो । म आश्चर्य र अलि सशङकित पनि भएर उसलाई हेर्दै थिएँ। यता आऊ त मैयाँ !’भन्दै घिसार्दै एउटा कुनातिर पुर्यायो । मेरो हातमा कुनै तात्तातो, घिनलाग्दो स्पर्श गरायो । मलाई सर्प छोएजस्तै भयो । ताातो सर्प ! कस्तो तातो सर्प ? म फुत्किन खोजेँ । उसले कस्न थाल्यो, म चिच्याउन लागेँ । त्यसपछि म धारातिर धकेलिएँ छु । झण्डै धाराको डण्डीमा ठोकिन पुगेँ । आफुलाई सँभाल्दै आवाज घाँटीमै दबाएर आँखा मिच्दै छिटोछिटो हिँडन थालेँ ।
त्यस दिन घर पुग्दा मलाई हनहनी ज्वरो आइरहेको रहेछ । म बेहोसजस्तै भएकी थिएँ तर अझै कतै हातेमै साँप अल्झिरहेजस्तो भइरहेको थियो । म डराइरहेकी थिएँ, घिनाइरहकेकी थिएँ र भित्रभित्रै साँप लागिरहेको थियो । मानौँ साँप मेरो हत्केलामै टाँसिको थियो र हरेक स्पर्शमा डस्न उठ्थ्यो ।
त्यसपछि म धेरै दिनसम्म स्कुल जान सकिनँ ।
मम्मी ! छिटो गर्नुस न ढिलो भइसक्यो’ धेरै बेरदेखि टोलाइरहेकी म झल्याँस्स हुन्छु । अहो ! काइँयो हातको हातमै अल्झिरहेछ । केश त्यसै असरल्ल । टीका लगाउन त अझ बाँकी नै छ । म सहज हुन खोज्दै हतारहतारमा ती सब एक छिनमे गर्छु र छोरीलाई अघि लाउँदै हिँडछु । बाटोभरि मलाई लाग्छ, अब मेरी छोरीलाई पनि विस्तारै–विस्तारै ज्वरो आक्रान्त पार्दै ल्याइरहेछ ।
(गरिमा, पुर्णाङक–६०, मङसिर २०४४)

Leave a Reply

Your email address will not be published. Required fields are marked *