घायलश्री
पिता श्री देवेन्द्रबहादुर लामिछाने र माता दुर्गादेवी लामिछानेको पहिलो सन्तानको रुपमा वि.स. २०२५ साल पौष ०९ गते आइतबारका दिन जलजला गाउँपालिका वाड नं. ३ सिरनघरमा जि. सी. लामिछानेको वाख्लो वस्तीमा शिक्षा प्रेमी एवं साहित्यकार चन्द्रबहादुर लामिछानेको जन्म भएको हो । साहित्यमा ‘प्रभात’ उपनामले चिनिने लामिछाने हुने विरुवाको चिल्लो पात भनेझैँ वाल्यकाल देखि नै प्रतिभाशाली र अध्यनशील थिए । हरेक दिनको सङ्केत विहानीले दिन्छ भने झैँ उहाँमा पनि त्यस्तै सङ्केत थियो । वाल्यकाल देखि नै एकान्तमा बस्ने सँधै अध्ययनशील स्वभावका उँहालाई आमाले सधैँ मन्दिरहरुमा लैजानु हुन्थ्यो । त्यसैगरि कुल देवताको मन्दिरमा लगेर संस्कारका बारेमा सिकाएको कुरा उहाँलाई अहिले पनि उत्तिकै सम्झना आउँछ ।
ग्रामिण परिवेश र किसान परिवारमा जन्मिनु भएका चन्द्रको बाल्यकाल निकै कष्ट र केही असहज परिस्थितिमा बितेको थियो । दुःखका साथ उच्च शिक्षा प्राप्त गर्नु भउको थियो । समाजसेवी, साहित्यकार, धार्मिक व्यक्तित्व एवं पत्रकारितामा रुचि राख्ने चन्द्रले २०३० सालमा प्रारम्भिक शिक्षा सुरु गर्नुभएको थियो । उँहाको पहिलो शिक्षिका माता दुर्गादेवी नै हुनुहुन्थ्यो । आमाले यो धरतीमा जन्म दिनुभयो र पढ्ने प्रेरणा पनि आमाले दिनुभएको थियो । २०४७ सालको फागुन महिनाको १८ गते शनिबारको दिन पर्वत जिल्लाको लेकफाँट गा.वि.स. (हालःजलजला-५) गिद्देश्वरमा धार्मिक व्यक्तित्व लालबहादुर के.सी.को प्रथम सुपुत्री लक्ष्मी के.सी.सँग उहाँको विवाह भएको थियो । किरण लामिछाने, अरुण लामिछाने र अपिल लामिछाने गरेर उहाँका तीनवटा छोराहरु छन् ।
समाजसेवी, साहित्यकार तथा पत्रकार लामिछाने अहिले पनि आफ्नो मनमा सधैँ आफूले धेरै अध्ययन गरेर देशको सेवा गर्नुपर्छ भन्ने भावना लिनुहुन्छ । दुःखपछि सुख मिलनपछि विछोड स्वभाविक हुन् भन्ने कुरालाई आत्मसाथ गरि जीवनमा अघि बढ्नुभयो । उहाँको जीवनमा कहिले खुसी कहिले बेखुसी भएर जीवन बितेको छ । आफ्नो जीवनका उकाली/ओराली, आरोह/अवरोहहरु सरल रुपमा व्यतित गर्नु भएको छ । आफ्नो समाज र देशप्रति असाध्यै प्रेम बोक्ने उँहा जिज्ञासु स्वभाव भएकोले गर्दा नै आफ्नो जन्मभूमि मल्लाज, काँलञ्जर पहाड, घोप्टे छहरा, पुङदी खोला, सिर्फुलेक, लेसपार्क, सालिजा, जलजला, हम्पाल, लेकफाँट, बेनी, गलेश्वर धाम, बागलुङको कालिका मन्दिर परिसर, पर्वतको मालढुङ्गा, सुन्दर नगरी कुश्मा वरिपरि भएर बाँच्ने र हाँस्ने उँहाको चाहना छ । साहित्यमा अत्याधिक रुचि छ । २०६२ सालदेखि साहित्यिक यात्रामा निरन्तर लाग्नुभएको छ । राजनीति भन्दा साहित्यमा बढी रुचि लिनुभएका लामिछानेका म्याग्दीबाट निस्कने रुप्से दैनिक पत्रिका, नवविकल्प, म्याग्दी सञ्चार, समृद्ध साप्ताहिक, बुलबुल साहित्यिक पत्रिका, पुष्पाञ्जली, काँलञ्जर साहित्य सँगालो लगायतका विभिन्न लेखरचना र कविता निस्केका छन् । बुलबुल साहित्यिक पत्रिकाको प्रधान सम्पादकको भूमिका निर्वाह गर्नुभएको उँहाको सक्रियता र कामको मुल्याङ्कन गर्दै साहित्यिक क्षेत्रमा निरन्तर सक्रिय संस्था म्याग्दी साहित्य सञ्चार लगायत विभिन्न साहित्यिक संस्थाहरुले सम्मान पनि गरेका छन् । लमिछानेको “चन्द्रका भजनहरु” नामक भजन सङ्ग्रह २०७५ सालमा प्रकाशित भएको छ भने अहिले फेरि नयाँ कृतिको तयारीमा हुनुहुन्छ ।
आफ्नो घरमाथि सल्लेरी वन छ, त्यो वन देख्दा मनमा आनन्द आउँछ । तल काली गण्डकी सुसाएको, बीचमा गलेश्वरधाम शिलामा बसेर कविता लेख्दा साँच्चै बैरागिंदो रहेछ मन । त्यहाँका साधु, महात्मालाई देख्दा मन बहकिदोे रहेछ । यो जीवनमा हामी पहिला कहाँ थियौँ ? के का लागि यहाँ आयौँ ? यो संसारमा के का लागि लडिरहेका छौँ ? किन तँछाडमछाड गरिरहेका छौँ भन्ने कुराले उहाँलाई साँच्चिकै पिरल्दो रहेछ । यी र यस्तै कुराहरुले आफू साहित्यमा लागेको बताउनुहुन्छ । साहित्यमा लाग्नको लागि प्रकृतिले पनि साथ दिएको रहेछ । आफू गलेश्वर मा.वि. तोरीपानीमा पढाउन जाँदा जङ्गलमा आँखा लाग्ने, विभिन्न किसिमका दृष्यहरु देख्ने, बाटोमा पर्ने विभिन्न घटनाहरु, राखु, मल्लाज, धार्मिक तथा पर्यटकीय स्थलहरुले पनि उहाँलाई साहित्यमा लाग्न प्रेणित गरे ।
उहाँ प्रकाशोन्मुख नयाँ कृतिले सफलता पाओस् । जीवनको उकाली मात्र होइन साहित्यको उकालीसँग पनि कहिल्यै नहार्ने चन्द्रको प्रभात बनेर साहित्य र समाजमा उदाउने एक मात्र लक्ष्य रहेको छ । उहाँको नाम र कामप्रति सिङ्गो समाज र राष्ट्रले गर्व गर्न सकोस्, हार्दिक शुभकामना ।