१७ असार २०७९, शुक्रवार

एमाले एक हुने लक्षण देख्दिनँ: प्रदीप ज्ञवाली

सत्तारुढ नेकपा एमाले दुई खेमामा विभक्‍त छ । दुई विपरीत धारमा विभक्‍त एमाले विभाजन हुने हो कि भन्‍ने आशंका पनि छ । नेताहरूले एकताको रटान पनि छाडेका छैनन् । अनि नेता प्रदीप ज्ञवाली प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको बचाऊका निम्ति प्रखर रूपमा उभिएका छन्, एमाले प्रवक्ताको धर्मअनुरूप । केही साताअघि मात्र परराष्ट्र मन्त्रीबाट हटाइएका ज्ञवाली मृदुभाषी, वाकपटुता र कडा परिश्रम गर्न सक्ने नेतामा पनि गनिन्छन् । उनले परराष्ट्र मन्त्री रहँदा उल्लेख्य काम गर्न नसके पनि सँधै चर्चामा रहे । विभक्त एमाले मिल्ने लक्षण उनी अझै देख्दैनन्, तर आशा नमारेको बताउँछन् । नेता ज्ञवालीसँग एमालेको पछिल्लो विवाद, मिल्ने अवस्था, अड्‌चनलगायतका सवालमा केन्द्रित रहेर चन्द्रशेखर अधिकारीले गरेको संवाद :
सत्तारूढ दल एमालेभित्र उत्पन्‍न समस्या समाधानउन्मुख छ कि छैन ? र, मिलेर अघि बढ्ने चालु वार्ता कहाँ पुगेको छ ?

एमालेभित्र खास समस्या छैन । तर, समस्या अनाहकमा झिकिएको छ । पार्टीभित्रका केही नेताहरूमा एकदमै र कहिल्यै तृप्त नहुने महत्वकांक्षा जागेको छ । त्यो महत्वकांक्षा पूर्तिका लागि जस्तोसुकै कदम चाल्न तयार हुने र यस्ता कार्यले आजको अवस्था आएको हो । त्यो जडलाई जति पनि तन्काउन सकिन्छ । हिजो नेकपा क्रियाशील थियो । त्यो अवधिमा केपी शर्मा ओलीले आगामी महाधिवेशनसम्ममा पार्टी अध्यक्ष रहने र आउँदो निर्वाचनसम्म मात्र आफू रहने घोषणा गर्नुभएको थियो । कतिपय सहमति भएर पनि पुनः सहमति भएका थिए । त्यो आफू पदमा टाँसिरहने नेपाली राजनीतिको विकृत पक्षलाई चिर्ने खाले घोषणा थियो । प्रधानमन्त्रीले निर्वाचनमा नउठ्ने र महाधिवेशनमा पनि आफू अघि नसर्ने घोषणा गर्नुभएको थियो । जुन नेपाली राजनीतिको लागि एउटा सन्देश पनि हुन्थ्यो । राजनीतिको बांगो-टिंगो खेलमा बलियो हस्तक्षेप पनि थियो । अर्को महाधिवेशनसम्म अध्यक्ष र अर्को निर्वाचनसम्म सरकार चलाउने थियो । उहाँले अर्को कार्यकाल सोच्‍नु पनि भएको थिएन । 
 

जे कारणले नेकपा विभाजित भयो, त्यही रोग एमालेमा पनि सर्‍यो, त्यही रोगलाई व्यापकीकरण गर्न खोजिएको छ । त्यो किमार्थ उचित होइन ।

तर नेताहरूमा महत्वकांक्षा झाँगिदै गयो, उहाँहरू पार्टी नेतृत्वका लागि अर्को महाधिवेशन कुर्ने धैर्यता पनि देखाउनु भएन, न त प्रधानमन्त्रीका लागि लोकतान्त्रिक बाटो कुर्न नै तयार हुनुभयो । त्यसपछि पार्टीभित्र फरक-फरक समिकरण भनौँ या गठबन्धन सुरु भयो । फरक-फरक मोर्चाबन्दी सुरु भए, त्यही लम्बिँदै जाँदा नेकपा हुँदै एमाले विभक्त भयो । अदालतले पनि दुई दल बनाइदियो । त्यही रोग एमालेभित्र रह्यो । जे कारणले नेकपा विभाजित भयो, त्यही रोग एमालेमा पनि सर्‍यो, त्यही रोगलाई व्यापकीकरण गर्न खोजिएको छ । त्यो किमार्थ उचित होइन । केही नेताहरू हिजो जुन चुनाव चिन्हमा चुनाव लड्नुभयो । जुन घोषणा-पत्र लिएर जनताको मत लिनुभयो । आफूलाई टिकट दिने पार्टी सबैलाई लत्याउने काम भएको छ । जसका निम्ति संघर्ष भइरहेको छ । त्यही स्थानमा उहाँहरू अघि बढ्नु भएको छ । विपक्षी दलको नेतालाई प्रधानमत्री बनाउन सबैखाले त्याग गर्न तयार हुनुभएको देखिन्छ । त्यहाँ गएर चुनाव लड्न खोज्‍नु भएको देखिन्छ । पार्टीभित्र बसेर नीतिगत रूपमा बहस गर्ने र चलायमान बनाउने भन्दा पनि व्यक्तिगत आकांक्षा पूरा गर्न अझ भनौँ ‘खरानीका लागि घरमा आगो लगाउने’ काम उहाँहरू गरिरहनु भएको छ । यस्तो काम नगर्नु भए समस्या समाधान हुने देखिन्छ । यसमा हामी छलफल गरिरहेका छौँ, वार्ताहरू भइरहेका छन् ।
पार्टी बचाउने वार्ता कुन चरणसम्म पुग्‍यो ? कहिले यो टुंगोमा पुग्‍ने यहाँले देख्नुभएको छ ?
वार्ता ठीकै ढंगले अघि बढेको देखिन्छ । हामी निरन्तर संवादमा छौँ र सकारात्मक संकेत पनि देखिएका छन् । केही साथीहरू र हामी पार्टी बचाउनुपर्छ भनी क्रियाशील छौँ । कतिपय साथीहरू अनौपचारिक रूपमा पनि सक्रिय रहेर पार्टी बचाउन लाग्‍नु भएको छ । वार्ताबाट केही सकारात्मक संकेत पनि मिलेको छ । सकारात्मक परिणाम ल्याएको देखिन्छ । पुरानै अवस्थामा फर्किएर केही काम गर्न सुरू भएको छ । असन्तुष्ट नेताहरू पनि सरकारमा सामेल भएर काम गर्नुभयो । यतिखेर दल मिलाउन पनि उत्तिकै सक्रिय हुनुहुन्छ । यो सकारात्मक पाटो हो । तर एमाले आज पनि एकताका निम्ति मुख्य चुनौती भनेको कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउनेतिर जानु नै हो । प्रमुख प्रतिपक्षी दल जो एमालेको प्रतिस्पर्धी दल पनि हो । कांग्रेसलाई समर्थन गरेर आफूले बनाएको दल सक्ने काममा लाग्‍नु भनेको गम्भीर भूल हो । विचार नमिल्ने र प्रतिस्पर्धी दलको रूपमा रहेको दलको नेतालाई नेता मान्दै आफ्नै अध्यक्षविरुद्ध मोर्चा कस्‍ने कार्य गलत हो । यसमा उहाँहरू सच्चिनुपर्छ । आफ्ने दललाई निस्प्रभावी बनाएर यसरी अघि बढ्न मिल्छ ? त्यो हस्ताक्षर बाधक छ । त्यो फिर्ता लिने र उहाँहरूलाई त्यसलाई निश्प्रभावी तुल्याउनुपर्छ भनेका छौँ ।  

 
नागरिकलाई खोप लगाऊ भनेर सर्वोच्चले आदेश दिन्छ, तर स्वास्थ्यमन्त्री नराख पनि उही भन्छ । विपत्ति सम्बोधन गर भन्छ र गृहमन्त्री हटाउन उसैको आदेश आउँछ । अनि कसरी तारतम्य मिल्छ ?


एमालेभित्र कारबाहीको पनि नाटक मञ्‍चन भयो, त्यो फुकुवा हुँदै फेरि पुरानै अवस्थामा फर्कने तयारी भइरहेको वा आत्मआलोचना गरेर मिलेर अघि बढ्ने तयारीका टिकाटिप्पणी पनि आइरहेका छन्, एमालेभित्र के भइरहेको छ र त्यसलाई नागरिकले कसरी बुझ्‍ने ?
पार्टीमा कारबाही एउटा अवस्था आयो । त्यतिबेला प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने अवस्थामा उहाँहरूले मतदान त गर्नु भएन-भएन । उल्टै उहाँहरूले विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन आफ्नो पार्टी नै बिर्सेर लाग्‍नुभयो । जुन दल प्रतिद्वन्दी हो, उसैलाई नै समर्थन गर्दै जनमतको उपेक्षा गर्ने काम गर्नुभएको छ । सूर्य चिन्ह र एमालेको झण्डामा चुनाव लड्ने अनि अर्को दललाई समर्थन गर्ने ? त्यही अनुशासनको वास्तविकतामा रहेर कारबाही भएको हो । त्यसपछि उहाँहरू अदालत जानुभयो, अदालतबाटै प्रधानमन्त्री बोकेर योजनासहित । परमादेशबाट प्रधानमन्त्री हुने चाहना देखाउने विपक्षी दलका नेताका निम्ति पहल गर्नु आफैँमा गलत कार्य हो । २०५३ तिर राप्रपामा यो विकृति देखापरेको थियो । तर त्यो समयमा पनि यो हदसम्म पुगेको थिएन । यतिखेर त राजनीतिक विषय अदालतबाट पूर्ण गर्ने अपेक्षा राखेको देखियो । यो अनौठौ खेलमा मुलुक र राजनीति प्रवेश गरेको देख्छु ।
अध्यक्ष र प्रधानमन्त्रीको शैलीका कारण यस्तो भएको भन्‍छन् नि ?
पार्टीभित्र चित्त नबुझेको विषय त पार्टीमै समाधान गर्ने हो । तर विपक्षी उचाल्दै बाहिर हिँड्ने होइन । अनि समाधान पनि अन्यत्र खोज्‍ने होइन । घरभित्रको समस्या बाहिर लगेर छताछुल्ल पार्ने मात्र होइन, विपक्षी दलका नेतालाई आफ्नै घरको नेता झैँ मान्दै हिँड्ने दृश्य संसारमा कहाँ छ ? मैले देखेँ सुनेसम्म यस्तो जानकारी छैन । दलभित्रका समस्या पार्टीकै समितिमा समाधान गर्ने हो  । यसका लागि दल जोगाउन सबै लागि परेका छौँ ।

 
एमालेप्रति भन्दा बढी अर्को दलसँग निष्ठा र विश्वास हुने मात्र होइन नेता नै अर्को दलको नेतालाई मान्‍ने भएपछि उहाँ कुन मुखले आउने ? त्यहीकारण एउटा समस्या देख्छु ।


हाम्रो भूगोल र अवस्थाले पनि यहाँको राजनीतिमा सबैको आँखा जान्छ । त्यसमा ध्यान दिएर पाँच वर्षे ‘म्यान्डेट’ पाएको सरकारलाई किन यसरी गिजोलेको हो ? किन अतृप्त बनेको हो ? यो विषयमा गम्भीर बहस हुन जरुरी छ । केपी शर्मा ओलीले आफ्नो आगामी ‘रोडम्याप’ स्पष्ट पारिसक्नु भएको कुरा अघि भने नै । अनि कसरी उहाँ गलत र ?
परराष्ट्र मन्त्रीसमेत रहेर काम गर्नु भयो, त्यहीँ रहेर बाह्य शक्तिले खेलेको आभास भयो कि भएन ?
यसमा म खासै टिप्पणी गर्न चाहन्‍न । अन्य शक्तिले खेल्ने विषयमा मेरो टिप्पणी नै हुँदैन । हामीले पहिले आफ्नो थैली बलियो बनाउनुपर्छ । अनि मात्र अन्यलाई दोष दिने हो । मार्टिन लुथर किङले भनेको सँधै भन्‍ने गरेको छु, ‘तिमी जबसम्म निहुरिन्दैनौँ, तबसम्म अरूले बुईँ चढ्न सक्दैनन् ।’ अरु पक्षलाई दोष दिन भन्दा पनि हामीले आफू के हौँ र के गरिरहेका छौँ भन्‍ने बुझ्नु आवश्यक छ । हामीले पानी धमिल्यायौँ भने अन्य त्यस्ता शक्तिहरूले बाटो हेर्छन् । धमिलो पानीमा माछा मार्नु त स्वभाविक हो । हाम्रै नेताले यो ढंगले यसमा खेल्नु भएन । यहाँको भूगोल त मैले भन्‍नै पर्दैन । त्यसैले अरुलाई दोष दिनु भन्दा पहिले हामी आफू दरिलो हुनुपर्छ ।
तर यहाँहरूसँग असन्तुष्ट एमालेभित्रकै केही नेता र गठबन्धन नेताहरूले त यहाँहरू नै बाहिरबाट परिचालित भएको आरोप लगाएका छन् नि ?
त्यो उहाँहरूले जान्‍ने कुरा हो । तर, स्पष्ट छ । बाबुरामजीहरूले आफ्ना युद्धकालमा कोसँग कसरी सहकार्य गर्नुभयो र त्यही स्मरण गर्दै जोडतोडले यस्ता विषय उठाउनु भएको होला । म त्यतातिर जान चाहन्‍न । सिंगो राजनीतिक कालभरि विदेशीकै साहरामा लिएको स्पष्ट छ । अनि तिम्रो मुलुकको चासोभन्दा बाहिर जान्‍न भनेर साहरा लिएर बाचा गरेकाले यस्ता कुरा गरेको सुहाउँदैन । त्यस्तो काम गर्नेहरूले सरकारलाई कसरी भन्‍न सकेको हो ? त्यो उहाँहरूले जान्‍ने कुरा हो । त्यतातिर नजाऔँ । वास्तविकता के हो भने समस्या हामीभित्र छ । हामीभित्रका समस्यामा अरू पक्षले खेल्न खोज्छन् । हामीले जे कुरामा पनि बाहिरी पक्षलाई तान्‍ने भन्दा हामी ‘अर्डर’मा रहनुपर्‍यो । घर सम्हाल्न पर्‍यो हामी सम्हालिनु पर्‍यो । अनि निडर भएर हिँड्न सकिन्छ । पहिला हामी अनुशासित हुनुपर्‍यो ।
तपाईँले सुन्‍नु भएकै होला, एमालेभित्रकै एक पक्षले केपी शर्मा ओलीले अलिकति फरक मत राखे पनि निर्दयी तवरमा’ भित्तामा पुर्‍याउने’ नीतिको कारण यस्तो भएको भनिरहेका छन् नि ?
पहिलो कुरा, कुनै पनि विषय कसले भन्यो त्यसमा निर्भर गर्छ । त्यो कुन तहसम्म छ त्यसमा रहन्छ । त्यसको औचित्य के छ ? यदि कुरा सही नै छ भने त्यो पार्टीभित्र छलफल गर्ने कुरा हो । विपक्षीसँग गठबन्धन गर्ने अनि कसरी अध्यक्षलाई आरोप लगाउने ? कुन विषय कहाँ छलफल गर्ने भन्‍ने त पार्टीमा होला नि । कतिपय कुराहरू व्यक्तिगत र अनि कति देश-नागरिकका निम्ति के असर पार्ने त्यसमा पनि स्पष्ट हुनुपर्छ । यस्ता विषय पार्टीभित्र छलफलको विषय हुनुपर्ने हो । हामीले बुझ्‍न जरुरी छ, कुनै पनि नेतृत्वमा रहने व्यक्तिले त योजना बनाएको हुन्छ ।
 

केही नेताहरूको व्यवहार हेर्दा उहाँहरू एकतामा आउनु हुन्‍न कि भन्‍ने निश्कर्ष मेरो व्यक्तिगत रूपमा छ । विश्वास हुने मात्र होइन नेता नै अर्को दलको नेतालाई मान्‍ने भएपछि उहाँ कुन मुखले आउने ?

मुलुक र पार्टी यसरी चलाउँछु भनेर । त्यही आधारमा पार्टीमा जितेर र जनतामा पनि चुनिएर आएको हुन्छ । त्यही व्यक्तिलाई सबै हात खुट्टा बाँधेर काम गर्न नदिने अनि सकिनस् भन्‍ने ? त्यो राम्रो होइन । तर एमालेमा भएको त्यही हो । कुनै पनि नेतृत्वलाई अवधिभर चल्न दिऔँ । तर बीचैमा हात-खुट्टा बाँधेर कामै गर्न नदिने, अनि नेतृत्व असफल भयो भन्‍ने परम्परा त्यागौँ । त्यस्तो सोच नै नराखौँ । नेतृत्वलाई केही न केही ‘लिभरेज’ आवश्यक छ । नेतृत्वलाई ‘टेस्ट’ गर्नु दिनुपर्छ । अनि न परिणाम आउँछ । पाइला-पाइलामा काम गर्न नदिने नगरौँ । त्यही विषयमा स्पष्ट हुँदै सुझाव लिएर काम गर्ने हो । उनीहरूले के सुनिएन भनिएको हो, त्यसमा छलफल गर्न सकिन्छ ।
सत्तारूढ एमालेभित्रको किचलोको कारण जनता असहजतामा परेको झैँ लाग्दैन ? एकातिर कोभिड-१९ को प्रकोप छ नागरिक खोपको आशामा छन्, त्यसमा सोच्‍न किन नसकेको होला, सत्तारुढ दलले ?
निश्चय नै हामीकहाँ प्रकोप बढ्दो छ । नागरिक प्रताडित हुनुहुन्छ । यसमा सरकारले ध्यान दिएको छ । पार्टीभित्रको कारण केही समस्या त परेको छ । तर पनि सरकारले आफ्नो तर्फबाट काम गरिरहेको छ । नेपालको व्यवस्थापनमा काम त भएका छन् । तर हाम्रा केही नेताहरूका कारण समस्या परेको छ । मेरो नै कुर्ची, म नै नेतृत्व, म नै पदमा रहुनपर्छ, भन्‍ने सोचले गर्दा हिजो पनि समस्या थियो । आज पनि समस्या कचल्टिएको छ । समग्र ध्यान महामारीविरुद्ध लड्न केन्द्रित हुनुपर्ने हो । हो, त्यसैमा सारा उर्जा शक्ति स्रोत केन्द्रित हुनुपर्ने हो । तर असजता निम्तिएको छ ।

 
मार्टिन लुथर किङले भनेको यो भनाई सँधै भन्‍ने गरेको छु, ‘तिमी जबसम्म निहुरिन्दैनौँ, तबसम्म अरूले बुईँ चढ्न सक्दैनन् ।’


दलभित्रका झगडाका कारण हामी पाँच मन्त्रीमा खुम्चिनु परेको छ । मुख्य चुनौतीमा केन्द्रित हुनुपर्ने, तर अन्यत्र समय खर्च भएको छ । सर्वोच्च अदालतको फैसला कारण पाँच जनाको मन्त्रिपरिषद् बाँकी छ । सबै नागरिकलाई खोप लगाऊ भनेर आदेश सर्वोच्चले दिन्छ, तर स्वास्थ्यमन्त्री नराख पनि उही भन्छ । विपत्ति सम्बोधन गर भन्छ र गृहमन्त्री हटाउन उसैको आदेश आउँछ । अनि कसरी तारतम्य मिल्छ ? यति हुँदा-हुँदै पनि प्रयत्‍न जारी छ । चीनबाट खोप तत्काल आउनेछ । अन्य मित्रराष्ट्रहरूसँग पनि छलफल अन्तिम चरणमा पुगेको छ । निर्वाचनअघि लक्षित वर्गले खोप लगाई सक्ने विश्वास छ । त्यसमा सरकारले काम गरिरहेको छ । सत्तारुढ दल त्यसमा स्पष्ट छ, आमनागरिकले खोप लगाउनुपर्छ ।
यहाँको कुरा सुन्दा आशावादी देखिनु भयो, के लाग्छ यहाँको दल एकजुट भएर पहिलेको अवस्थामा फर्किएला त ?
केही नेताहरूको व्यवहार हेर्दा उहाँहरू एकतामा आउनु हुन्‍न कि भन्‍ने निश्कर्ष मेरो व्यक्तिगत रूपमा छ । कतिपय नेताको व्यवहार पार्टी एकताका पक्षमा नदेखिएकाले मैले यसो भनेको हुँ । एमालेप्रति भन्दा बढी अर्को दलसँग निष्ठा र विश्वास हुने मात्र होइन नेता नै अर्को दलको नेतालाई मान्‍ने भएपछि उहाँ कुन मुखले आउने ? त्यहीकारण एउटा समस्या देख्छु । जति पद भए पनि नपुग्‍नेले आगामी निर्वाचनपछि ‘हंग पार्लियामेन्ट’ हुन्छ र आफू बीचमा रहेर सँधै सत्ताको राप लिउँ भन्‍ने छ होला, त्यस्तो दाउ थाप्‍ने र मुलुकलाई स्थायित्वतर्फ होइन अन्यत्र पुर्‍याउनेसँग कसरी कुरा मिल्ला भन्‍ने लाग्छ । तर पनि एमालेको वर्तमान नेतृत्व हदैसम्मको लचकता अपनाएर एकता प्रयास गरिरहनु भएको छ । यसले न्यायोचित परिणाम दिन्छ कि भन्‍ने लागेको छ । संवादमा रहेका साथीहरू पनि पार्टी एक गराउनेमा चिन्तन गरिरहनु भएको छ । त्यसमा इमानदार प्रयास भएको देख्छु । आफूहरूले अझै आशा नमारेको र औपचारिक-अनौपचारिक सम्वादमार्फत् प्रयास भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.