बुधबार बालकोटबाट एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई गद्दार घोषणा गर्दै माफी नदिइने बताएका थिए । निवर्तमान प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्तिले अब पार्टी एकता र १० बुँदे सहमतिको स्थिति के होला भन्ने प्रश्नमा नेता नेपालले ओलीलाई ‘बर्बराउन छाडेर धर्तीमा उभिन’ सुझाव दिए । ओलीले पार्टी एकताको ढोका बन्द गरेको उनले बताए ।
‘उहाँले एकताको ढोका बन्द गर्नुभएको छ, उहाँ बर्बराउन थाल्नुभएको छ, नग्न स्वरुप देखाउनुभएको छ’ बरिष्ठ नेता नेपालले रातोपाटीसँग भने, ‘उहाँ सत्ताको नसाबाट तल आउनुपर्छ । धर्तीमा उभिनुपर्दछ । निरंकुशताबाट मुक्त हुनुपर्छ । अराजकहरुको मण्डलीबाट मुक्त हुनुपर्छ ।’
केपी ओली अराजकतत्वहरुको पछि लागेको बताउँदै नेता नेपालले अगाडि भने, ‘अराजक तत्वहरुले कम्युनिस्ट पार्टीलाई सिध्याउँछन् । ओलीले यसैगरी पार्टी र आन्दोलनलाई गलत दिशामा हिँडाउन खोज्नुभयो भने उहाँको योभन्दा ठूलो पतन हुनेछ ।’