कुमार खड्का
भन्छ ऊ साह्रै ईख भएको मान्छे रे
म पनि त्यस्तै हुनुपर्छ रे
म भन्छु ईख मान्छेमा त हुन्छ
तर ज्यादा सन्तुलनमा हुनुपर्छ,
धेरै ईख विष सरह हुन्छ
त्यो बिषालु सर्पमा हुन्छ
जो म बन्न चाहन्न ।
ऊ भन्छ तिमी गरुँगो बन कसैले जोख्ने आँट नगरुन्
म भन्छु म स्वयं धर्तीमा छु, थप वजन दिन चाहन्न धर्तीलाई आफैं बुझ्नु ।
हो खुला कितावको पाना जस्तै भएर गाउँमा बस्छु
प्वाँखजस्तै हलुङ्गो भएर कहिले शहर पस्छु
समस्याग्रस्त दलदलमा, भोक र रोगको कहरमा छु
सके दुस्कर्म र पापबाट अलग बस्ने रहरमा छु ।
जोख्नेहरुले जोखुन
पढ्नेहरुले पढुन् मलाई
संगत चाहन्छन्, गर्दाहुन्छ
छोड्न चाहन्छन्, छोड्दा हुन्छ
म सदा आफ्नै निष्ठामा रहनेछु
यही आत्माबिश्वासमा छु ।
जिन्दगीलाई जटिल मान्छ ऊ
आफैंलाई सबथोक ठान्छ ऊ
म भन्छु सहजता र जटिलता आफैंभित्र हुन्छ,
नरम र कठोरताको आफ्नै चित्र हुन्छ
र भन्छु हामी स्वयं एक तृण मात्र हौं
प्रकृतिका एक बीज मात्र हौं ।
दम्भमा अडिने ? कायरता देखाउने ?
मद ,मात्सर्यको दलदलमा भासिने
या अझै
लोभ लालचाको हाँगामात्र समाउँने ?
समस्याको ब्युह गाँठो फुकाउने हो या
पाप र विष्मयको भारी बिसाउने ? निराकार आत्मालाई सुमार्गमा हिँडाउने ?
अवचेतन मनलाई चेतनाले डोर्याउने ?
सबै आफ्नै बिश्वासको भर हो ।
मनमनै उस्को जवाफ दिईरहँदा
आफैंप्रति शंका गर्छु,
अनि दुबिधाको भासमा पर्छु ..
लाग्छ आफैं भ्रमित भई त्रासमा छु
तात्व्यिक उत्तर खोज्दा खोज्दै हिनताको
मनोभावनाले घेरिएको हुन्छु ।
तर म आँट गर्छु,
आफैंले आफैंलाई समीक्षा गर्छु
विगतको बिहङगम आत्मालोचना गर्दै
वर्तमानको सापेक्ष मूल्य राख्छु , आफैंप्रति बिश्वास जगाउँछु ,
सुन्दर भविस्यको आँकलन गर्छु
भित्रभित्रै अझ भौंतारिए पनि, असहजताको आँधीमा फसें पनि, निरन्तर द्वन्द्वात्मकताको कसीमा आफ्नै विगतलाई घोटिरहन्छु, सत्य असत्यको सिमाना लगाउँदै
आफैंलाई चिमोटिरहन्छु, पल पल । त्यसैले भौतिक अलौकिकताको जगमा
उँभिदै अझै पनि म भन्छु ,
बिना ईख, बिना अहम् बाँच्न चाहन्छु बिना बोझ हलुङ्गो भै केही गर्न चाहन्छु।
डस्नेहरुबाट डसिइरहुँ
जोख्नेहरुबाट जोखिइरहुँ
स्वतन्त्रताको श्वास फेर्दै, उड्दो चङ्गा जस्तै
म हावाको दिशामा नाँच्न सकुँ,
हुरी चल्दा मोडिन सकुँ,
गन्तव्य पहिल्याउन सकुँ,
अनि
स्वनियन्त्रण रआत्मनुशासनमा रहन सकुँ ।
बस ! यत्ति भएपुग्छ
मेरो आत्मविश्वास !
(प्रमुख: सिँचाई तथा खानेपानी कार्यालय, म्याग्दी)