कालीगण्डकी डाईभर्सन विरुद्ध वालिङमा राँके जुलुस निकालिएको छ ।
विपि स्टडि सर्कल स्याङ्जाले बुधबार साँझ वालिङ मोडमा राँके जुलुस निकालेको हो । कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै नेपाल शिक्षक संघका क्षेत्रिय अध्यक्ष डण्डपानी पंगेनीले प्राकृतिक स्रोत साधनमाथि राजनिति गर्न अन्यायपुर्ण रहेको बताउनुभयो ।
साथै उहाँले डाईभर्सनले गण्डकी र लुम्बिनी प्रदेशबीचको पारस्पारिक सम्बन्धलाई फाटो ल्याने दावी गर्नुभयो । कालीगण्डकीको धार्मिक तथा ऐतिहासिक महत्व रहेकाले पनि डाईभर्सनले धार्मिक महत्वलाई नष्ट गर्न सक्ने भन्दै यो परियोजना राष्ट्रहितमा नभएको बताउनुभयो ।
कार्यक्रममा नेपाल तरुण दल वालिङ, नेपाल विद्यार्थी संघ वालिङ, स्कुल अफ डेमोक्रेसीलगायतका युवाहरुको सहभागिता थियो । कार्यक्रमको सञ्चालन सागर डुम्रेले गर्नुभएको थियो ।