ओलीको राजनीतिक भविष्य निकै माथि पुगेको थियो । त्यो सफलतालाई उहाँले ह्यान्डल गर्न सक्नुभएन । सफलता हासिल गरेपछि उहाँ यसरी पतन हुनुभयो कि अब उहाँको जीर्ण र रोगी शरीर फेरि माथि उठ्ला भन्ने लाग्दैन ।
अबको राजनीतिक भविष्यमा जनताले ओलीलाई कम्युनिस्ट आन्दोलनको खलनायक नै भनेर सम्झनेछन् । यत्रो कम्युनिस्ट एकता गरेको, दुई तिहाई मत पाएको, महाशक्ति राष्ट्र चीनसमेत सहयोग गर्न अग्रसर भएको, भारतले पनि सहयोग गरेको अवस्थामा उहाँ पतन हुनुभयो ।
कम्युनिस्ट पार्टी फुटाउनुभयो । नेपाली जनताको आशा र भरोसामा तुसारापात गर्नुभयो । गरिब, अभावमा बाँचेका , दलित मधेसी, जनजाति, आदिवासी ती सबैले अब त हाम्रै सरकार आयो, गरिबको कम्युनिस्ट सरकार आयो, अब केही हुन्छ भनेर सोचेका थिए । उहाँले ती सबै कुरालाई तुसारापात गर्नुभयो ।
धेरैले आफ्नो इतिहासको पुनर्लेखन गरेका छन् । गिरिजाबाबुले उत्तरार्द्धमा आएर प्रचण्डजीजस्तो बन्दुक बोकेको मानिसलाई राजनीतिमा ल्याउनुभयो, राजतन्त्र फाल्नुभयो र नयाँ इतिहास लेख्नुभयो । गणेशमानजीले जीवनको उत्तरार्द्धमा कम्युनिस्टसँग मिलेर ०४६ सालको जनआन्दोलन सफल बनाउनुभयो । त्यसपछि राजाबाट प्रधानमन्त्रीको अफर आउँदा अस्वीकार गरेर त्यागको नयाँ इतिहास लेख्नुभयो ।
यो देशमा विश्वेश्वरप्रसाद कोइरालाजस्ता, मनमोहन अधिकारीजस्ता मानिस पनि थिए भनेर जनताले सम्झन्छन् । तर, आफ्नै नयाँ इतिहास निर्माण गर्ने, कम्युनिस्ट पार्टीको नयाँ इतिहास बनाउने, जनताको आशा–भरोसालाई टिकाउने कुरामा प्रधानमन्त्री ओली असफल हुनुभयो । उहाँले राष्ट्रपतिसँग मिलेर विधि र विधान कुल्चनुभयो र कम्युनिस्ट आन्दोलनलाई विघटन र विखण्डनतर्फ लैजानुभएको छ ।
विश्लेषक: पुरन्जन आचार्य