१२ असार २०७९, आइतवार

को हुन् सामाजिक अभियन्ता ?

– ईन्दु भुसाल

‘सामाजिक अभियन्ता’ वा ‘समाजसेवी’ यी शब्दावलीहरू आजकल निकै नै दुरुपयोग भएको पाइन्छ । खास गरी समाजिक सन्जलको बढ्दो पहुचले गर्दा पनि फेसबुकमा पोस्टिने गरेका तस्बिहरूले मान्छेलाई सामाजिक अभियन्ता भएको आत्मरतिमा रमाउने प्रशस्त मौका दिएको छ । हो, हामी सबैले कुनै न कुनै रूपले समाजमा आफूले सकेको योगदान दिनै पर्छ र हामीमध्ये धेरैले केही न केही राम्रो कार्यको लागि अग्रसर भएका पनि हुन सक्छौँ, यस्को मतलब हामीले आफूलाई सामाजिक अभियन्ता वा समाजसेवी भइसकेको महसुस गर्नु वा समाजिक अभियन्ताको आलङ्कारिक पदविमा नाक फुलाउन खोज्नु ती सबै वास्तविक समाजसेवी र सामाजिक अभियन्ताहरूको योगदानप्रति अन्याय हुने छ।
समाजमा केही मानिसहरू छन् जो स्थानीय नेताहरूको चाकडीमा उदयचल देखि अस्तायचलसम्म पुच्छर बनेर लागेका देखिन्छन् । अवाञ्छित रूपले कतिपय अनाधिकृत उपस्थिति देखाएर कार्यक्रमको मूल ध्येय नबुझी २,४, सेल्फी सस्तो मोबाइलमा कैद गरिहाल्छ्न् । त्यसै गरी जनताको रगत र पसिनाबाट जम्मा गरेको करबाट निर्माणाधीन मठ-मन्दिर, पाटी पौवा, कुलो, बाटो आदिको निरीक्षणको नाममा जनप्रतिनिधि, ठेकेदार वा उपभोक्ता समितिका मान्छेहरूसँग उपस्थित भई दुई चार सेल्फी मोबाइलमा कैद गरिहाल्छ्न् । खास गरी यस्ता व्यक्तिहरू पर्दापछाडि ठुलै स्वार्थमा लागेका हुन्छ्न् । कसैको भावी राजनीतिमा जनताको अगाडि प्रचारित हुने इच्छा रहेको हुन्छ भने केही व्यक्तिहरू स्थानीयस्तरमा विनियोजित विकास बजेटबाट आफैँ उपभोक्ता समितिको जिम्मेवारी लिएर केही फाइदा हासिल गर्नेतर्फ उद्दत रहेका हुन्छ्न् । वर्तमान परिस्थितिमा विकास निर्माणमा उपभोक्ता समिति नाम मात्रको हुने गरेको पाइन्छ ।

खास गरी उपभोक्ता समितिको उपादेयताअनुसार योजना कार्यन्वयन भएको हुँदैन र जनश्रमदान भन्ने कुरा पनि सजिलै मिल्दैन। अत: हरेक वडाको योजना अनुरूपका निर्माण कार्यको लागि जनप्रतिनिधिसमेतको मिलोमतोमा केही कार्यकर्ताहरूले कुनै न कुनै ठेकेदारहरू समातेर राखिएको हुन्छ जसले निश्चित समयमा कार्यसम्पन्न गरिदिन्छ । काम दिँदा नै ऊसँग केही सर्तहरू लागु गरिएका हुन्छ्न् जस्तै १० प्रतिशतसम्मको कमिसन, स्थानीयहरूको विरोध नहुने किसिमले कार्य गर्नुपर्ने, कमिसनको गोप्यता कायम राख्नु पर्ने आदि। फलस्वरूप गुणस्तरको कुनै ग्यारेन्टी हुँदैन । प्राविधिक मूल्याङ्कन जसो तसो मिलेकै देखिन्छ। हो यस्तै यस्तै निहित स्वार्थ बोकेका मानिसहरू स्थानीय क्षेत्रमा समाजिक सेवामा लागेको भ्रम छरिरहेका हुन्छन् र फेसबुकमा निर्लज्ज फोटोहरू बरम्बार पोस्ट्याएर सर्व साधारणको वाह वाह ग्रहण गर्ने अभिलाषा पूरा गरिरहेका हुन्छ्न्। त्यसैगरी केही मानिसहरू छन् जो स्थानीय क्षेत्रमा विगतका दिनहरूमा जनप्रतिनिधिहरूकै छत्रछायामा अवैध व्यवसायमा संलग्न भएर समाजमा एउटा छुट्टै निकृष्ट नाममा चर्चितहरू, जो हिजो पनि स्थानीय नेताहरुकै संरक्षणमा थिए र आज पनि। यी व्यक्तिहरू कुनै दल विशेषका कहिल्यै हुँदैनन्, यिनीहरू निर्वाचनको समयमा सबै नेताहरूसँग समभाव राख्छ्न्, आफ्नो हैसियतअनुसारको चुनावी खर्च पनि नेताहरूलाई प्रदान गर्छन् तर निर्वाचनमा जुन सुकै दलको प्रतिनिधिहरूले जिते पनि यिनीहरू ती प्रतिनिधिहरूका प्रिय पात्र हुने गर्छन् जसलाई हामी प्रायः नेताहरुकै साथमा देख्ने गर्छौँ । कहिलेकाहीँ यी व्यक्तिहरू समाज सेवाको नाममा एक डेढ लाख देखिने गरी नै समाजसेवाको नाममा प्रदान गर्छन् र कुनै समारोहमा तिनै नेताहरूबाट ढाकाको खादामा सम्मानित हुन्छ्न् अनि समाजिक सन्जालमा तस्बिरको साथमा त्यही शब्द लेखेर पोस्टिन्छ कि ” सामाजिक अभियन्ता…………..”।
यी तस्बिरहरूले नबुझ्नेहरूको लागि त वाह क्या वात! भन्ने कमेन्ट बर्सिन्छ भने समाज बुझ्ने हामी जतिको जागरुक व्यक्तिहरूमा एक चटक वा ढोङको हासो प्रस्फुटित भइरहेको हुन्छ। कोही यस्ता प्रवृत्ति पनि स्थानीयस्तरमा देखिन्छ्न् कि जो सुरक्षा निकायसँग बढी नजिक भएको देखिन चाहन्छ्न्, ती प्राय कुनै न कुनै राजनीतिक दल आवद्ध राजनीतिक कार्यकर्ताको निश्चित पदीय जिम्मेवारीमा रहेका हुन्छ्न् । कुनै न कुनै तरिकाले ती व्यक्तिहरू जनताले नरुचाएको, कानुनको केही हाँगाबाट वैध र केही कानुनी धारबाट अवैध देखिने व्यवसायमा लागेका हुन्छ्न् जसको कमाइ र कमाएको इतिहाससमेत समाजमा जगजाहेर हुन्छ, हो ती व्यक्तिहरू प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सुरक्षा निकायका जिम्मेवार राष्ट्रसेवकहरूको कार्यसम्पादनमा प्रायः कठिन व्यक्तिका रूपमा उभिएका हुन्छ्न् ।
ती व्यक्तिहरूको महत्वाकाङ्क्षी राजनीतिक स्वार्थ रहेकै हुन्छ र समय समयमा आफ्ना केही आम्दानीलाई समाजसेवा भन्दै देखाउने प्रचारात्मक अवसर सदुपयोग गरिहाल्छ्न् । यिनै व्यक्तिहरू जो सधैँजसो मदिरा लगायतका नशामा हरेक साँझ आफ्नो यथार्थ चरित्रको प्रतिबिम्ब भट्टीहरूमा प्रस्फुटन गरिरहेका हुन्छ्न्। यिनै समाजसेवीहरू जसलाई बाल्यकालमा पढ्न लेख्न अभिभावकहरूले धेरै पहल गरे तर पढाइमा यिनको ध्यान कहिल्यै लागेन। सधारण लेखपढ मात्र भएका यी व्यक्तिहरू समाजमा पढेलेखेका व्यक्तिहरूभन्दा धेरै चतुर छ्न् । अझ चतुरभन्दा पनि धुर्त्याइँमा अब्बल छन् ।
रातारात कमाउने पेसामा यिनीहरूको दिमागले विद्यावारिधि गरेको भान मलाई पनि हुने गर्छ। अन्त्यमा मेरो नजरमा यी सबै प्रकारका व्यक्तिहरुलाई सामाजिक अभियन्ता वा समाजसेवी भनेर बुझ्नेहरू अबोध हुन्, यी ढोङ्गी हुन् र समाजको लागि दुरगामी रुपले धमिरा हुन्। त्यसैले म यो निष्कर्षमा पुगेँ कि हामीले ‘सामाजिक अभियन्ता र समाजसेवी’ भन्ने परिभाषाको व्यापक दुरुपयोग भएको छ। मैले धेरै समाजसेवीहरू देखेको छु जो समाजले सधैँ रुचाए, जसलाई सधैँ समाजले हरेक कार्यमा सम्मान दियो, ती समाजसेवीहरूले आफ्नो चोखो कमाइ र अमूल्य समय समाजका लागि खन्याए । कति मेरो आँखामा छ्न् जसले चौतारा बनायो पाटीपौवा मठमन्दिर बनायो, कति त्यस्ता व्यक्तित्वहरू छ्न् जसले आफ्नो करोडौँको जग्गा स्कुलका लागि दियो तर समाजमा चर्चा गरेन र कतिले आफ्नो कमाइले दीनदु:खीलाई सेवा गरे र गर्दैछन् । कति संस्थाहरू जन्मिएका छन् समाजसेवा कै निम्ति पैसा, राहत बाँड्नु मात्र समाजसेवा होइन । समाजमा भैपरी आउने हरेक समस्यालाई चित्रण गरी सही तरिकाले खण्डन गरी पीडितको घाउमा मलम पट्टी लगाउनु पनि समाज सेवा हो । असली वा देखावटी समाजसेवी समाजले ढिलोचाँडो चिन्ने नै छ । अत: सही र सत्मार्गमा हिडाैँ । असली समाजसेवीलाई हौसला प्रदान गरौँ ताकि आगामी दिनमा सच्चा सामाजिक अभियन्तालाई थप प्रेरणा मिलोस् ।

Leave a Reply

Your email address will not be published.