३ चैत २०७९, शुक्रवार

जाममा परेका बेहुलाहरुको कथा !

बिहे खान हिँडेको, चाउचाउ खाएर भोक मेट्दैछौं

 पहिरोलले नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा दजनौं यात्रुहरु अलपत्र परेका छन् । बिहान ५ बजेबाट झर्न थालेको पहिरो अझै पूर्ण रुपमा रोकिएको छैन । सडक सुचारु हुने र खुल्ने क्रम चलिरहेको छ ।

तर पूर्ण रुपमा सडक सञ्चालनमा नआएका कारण सवारीहरु लामो समय जाममा पर्ने गरेका छन् । मुग्लिनतर्फ जाने र भरतपुरतर्फ आउने सवारी साधानहरुको लामो लाइन छ । यसरी रोकिनेमा विवाहका लागि हिँडेका दुलाहा र जन्तीहरु पनि छन् ।

यसरी अलपत्र परेका ६ जना दुलाहाको सामूहिक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ, जुन तस्वीर गोरखाका सिरानचोक गाउँपालिका–५ का ज्ञानेन्द्रराज पोखरेलले खिचेका हुन् । उनी आफ्नो भतिजो आशिष पोखरेलको बिहेमा गाउँबाट बिहान ७ बजे नै चितवन हिँडेका थिए ।

तर मुग्लिनबाट करिब ५/७ किलोमिटर नारायणगढतर्फ आएपछि जाममा परे । चितवनको चनौलीमा दुलही लिन १२ जना जन्तीसहित आएका पोखरेल बिहान ९ बजे नै मुग्लिन आएको थियो । निकैबेर जाममा बस्दा दुलही लिन हिँडेका बेहुलाहरुको भेटघाट भयो । केही गाडीबाट झरेर एक आपसमा गफिन थाले ।

त्यहीँ बेलामा ज्ञानेन्द्रले यादगार क्षण हुन्छ भनेर सामूहिक तस्वीर खिच्ने प्रस्ताव गरे ।

ज्ञानेन्द्रका अनुसार जाममा परेका १२/१५ जना दुलाहा थिए । कोही गाडीमै बसेका थिए भने कतिपयले फोटो खिच्न मानेनन् । ६ जना तयार भए, ज्ञानेन्द्रले क्लिक फोटो खिँचे । अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै ज्ञानेन्द्र भन्छन्, ‘बल्लतल्ल कालीखोला कट्यौं, कतिबेला बेहुलीको घरमा पुग्ने हो थाहा छैन ।’

बिहान चाँडै केटीको घरमा पुग्ने र छिट्टै गाउँ फर्किने योजना बनेको भए पनि जामले चौपट भएको उनले सुनाए । भन्छन्, ‘विहे खान आएको, हामी सबे चाउचाउ खाएर प्राण धानिरहेका छौं । थकाइ पनि लाग्यो, सबै भोकले लखतरन भइसक्यौं ।’

ज्ञानेन्द्र सिरानचोक गाउँपालिकाका–५ का वडा सदस्य पनि हुन् । उनलाई अझै कति घण्टा जाममा बस्नुपर्ने हो थाहा छैन । ‘जन्तीको गाडी कटाउन प्रहरीले प्रयास गरिरहेको छ’ ज्ञानेन्द्रले अनलाइनखबरसँग भने, ‘मिलेसम्म आज राति नै बहुली लिएर फर्किन पाएँ हुथ्न्यो, पानी परे केटीको घरतिरै बास बस्नुपर्ला ।’

मुग्लिन नारायणगढ सडक खण्डको चारकिलोमा पुनः पहिरो आएर सडक अवरुद्ध भएको छ । त्यसलाई एकतर्फी खुलाउने प्रयास गरिरहेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले बताए । थप पानी नपरे एकतर्फी खुलाउँछौं’ खनालले भने, ‘पानी परे हाम्रो पनि केही लाग्दैन ।’

उनका अनुसार सडकको चौधा किलोमा खसेको ठूलो ढुंगालाई ‘रक ब्रेकर’मार्फत फुटाउने काम भरहेको छ । तर ढुंगा मसिनो टुक्रामा फुटेकाले समय लागेको छ भनेर यो खबर आजको अनलाइन खबरले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *