१५ चैत २०७९, बुधवार

दार्चुलामा पहिरोमा परी तीन जनाको मृत्यु !

दार्चुलामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका-३ ज्यामिरेमा बुधबार राति अबिरल वर्षाका कारण आएको पहिरोमा परी एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रशाशन कार्यालय दार्चुलाले जनाएको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले ७२ वर्षीया गेउली ठगुन्ना र उनकी तीन महिनाकी नातिनी मन्जरी ठगुन्नाको पहिरोले घर पुरिँदा मृत्यु भएको बताउनुभयो।

यस्तै, घट्ट जाने क्रममा आएको पहिरोमा परी सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको मृत्यु भएको जोशीले जानकारी दिनुभयो। ज्यामिरेमा पहिरोले दुई घर पुरेको छ। सोही वडामा एक-एक झोलुंगे पुल पनि पहिरोका कारण क्षतिग्रस्त भएको छ। खारखोलाको लघु जलविद्युत आयोजान पनि बगेको उहाँले बताउनुभयो । वडा नम्बर ६ मा दुई दुई घट्ट पनि बाढीले बगाएको छ।

पहिरो र बाढीले पुर्‍याएको थप क्षतिको विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो। घटनास्थलमा सुरक्षाकर्मी पुगेका छन्। क्षतिको विवरण संकलनको काम भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *