पर्वतको फलेवासका दुई सामुदायिक बिद्यालयहरुमा स्कुल बस संचालन भएको छ । फलेवास नगरपालिकाको सहयोगमा नगरको वडा नं. ५ खानीगाउँ स्थित भवानी विद्यापिठ माबि र वडा नं.६ देविस्थान स्थित जनता माबिमा स्कुल बस संचालन भएको हो । मंगलबार एक कार्यक्रमका विच नगरप्रमुख पदमपाणी शर्मा, उपप्रमुख मन्जु अधिकारी,प्रवक्ता टिकाराम गौडेल,प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटा लगायतले उक्त बस बिद्यालयहरुलाई हस्तान्तरण गर्नुभएको छ ।नगरप्रमुख शर्माले दुवै विद्यालयका व्यवस्थापन समितिका अध्यक्षलाई बसको चावी हस्तान्तरण गर्नुभएको हो । विद्यालयमा बस सेवा सुरु भएपछि विद्यालय जाने विद्यार्थीहरुलाई सहज हुने भएको छ ।
शिक्षाको विकास नभएसम्म अन्य विकास हुन नसक्ने बताउदै नगरको शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न कार्यहरू गरेको नगरप्रमुख शर्माले बताउनुभएको छ । बस सेवा सुरु भएपछि विद्यार्थीहरु विद्यालय जान र फर्किदा घर जान लाग्ने समय पढाईमा खर्चिन पाउने बताउनुभयो ।
४१ सिट क्षमताका उक्त स्कुल बस २३ लाखमा खरिद गरिएको शर्माको भनाई छ । त्यस्तै नगरको वडा नं. १ कार्किनेटामा रहेको अन्नपूर्ण माबिलाई पनि यसै बर्ष स्कुल बस संचालनका लागि बजेट छुट्टाइएको बताइएको छ ।