नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग एमाले उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले छुट्टाछुट्टै भेट गरेका छन्। बुधबार बिहान नेता नेपाललाई भेट्न गौतम र श्रेष्ठ नेपालनिवास पुगेका थिए। श्रेष्ठले बिहान ८ बजे र गौतमले ९ बजे नेपाललाई भेटेका थिए।
भेटमा माओवादी केन्द्रका प्रवक्तासमेत रहेका श्रेष्ठले नेता नेपाललाई प्रतिगमन परास्त भएको र शेरबहादुर देउवाको नेतृत्वमा भर्खर सरकार बनेकाले सहयोग गर्न आग्रह गरेका थिए। उनले सरकारलाई विश्वासको मत दिएर पूर्ण अवधि चल्न दिने पक्षमा लाग्न नेता नेपालसँग आग्रह गरेको नेता नेपालनिकट एक नेताले जनाकारी दिए।
सरकारले विश्वासको मत नपाउने हो भने फेरि संसद् विघटन हुने अवस्था आउने र यो संविधान, लोकतन्त्रका लागि राम्रो नहुने श्रेष्ठले बताएका थिए।त्यसक्रममा नेता नेपालले पार्टीमा छलफल गरेर आफू अघि बढ्ने बताएका थिए। देउवालाई प्रधामन्त्री बनाउन एमालेको माधव नेपाल पक्षले पनि हस्ताक्षर गरेको थियो तर सर्वोच्च अदालतले सोमबार संसद पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि नेपाल पाँच दलीय गठबन्धनबाट बाहिरिएकाे चर्चा चलेकाे थियाे।
यस्तै, गौतमसँगको भेटमा दुई नेताबीच एमाले एकताका विषयमा छलफल भएको बताइएको छ। नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम पार्टीका अर्का नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। दुई नेताहरुबीच पार्टी एकताका विषयमा छलफल भएको थियो।