१६ चैत २०७९, बिहिवार

पर्वत-बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध !

पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ को सुन्दरेखोला, चुवाभिर र वडा नं. २ को नयाँपुलमा गएको पहिरोले सडक अवरुद्ध बनेको हो । चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भएपनि नयाँपुलको पहिरो हटाएर सडक सुचारु गर्न केहीदिन लाग्ने पर्वतका ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो । वर्षा रोकिएकाले सडक खुलाउने प्रयास भैरहेको उहाँले बताउनुभयो । सडकमा ठूलाठूला ढुङ्गा खसेका कारण लामो समय लागेको हो ।

सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्तासँगको सम्पर्क टुटेको छ । यस क्षेत्रवाट अन्यत्र जाने सवारीसाधनहरु पर्वतको सहस्रधारा र कुश्माबजारमा अलपत्र बनेका छन् भने अन्यत्रवाट आएका सवारीसाधनहरु पराधिमा अलपत्र बनेका छन् ।

उता म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुंगा सडक पनि अझै संचालनमा आउन सकेको छैन । सडक खण्ड अन्तर्गत पर्वतको जलजला गाउँपालिकाको अनियाघाट र ज्यामिरे लगायतका ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको हो । सडक खुलाउन प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *