तिनाउँ गाउँपालिकामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउँ गाउँपालिकामा ५ गिट्टिखानी बस्ने अन्दाजी ४५ वर्षीय बिर बहादुर गुरुङ रहेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता सुचना अधिकारी प्रहरी नायव उपरिक्षक त्वातीका अनुसार आज बिहान ४ बजे गिट्टिखानीस्थित सिद्धार्थ राजमार्गको छेउमा रहेका घरहरुमा माथिबाट पहिरो खस्न जाँदा घरमै पुरीएर गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको शव श्री कल्याणी आविमा राखिएको प्रहरीले बताएको छ ।
पहिरो परि घाईते हुनेमा पाल्पा तिनाउँ गाउँपालिका ५ बस्ने ७५ वर्षीय सुन्दरी गुरुङ, २६ वर्षीय रमेश परियार, २४ वर्षीय पुजा परियार, ५० वर्षीय बल बहादुर पुन, दिपेश पुन, २० वर्षीय आकाश तामाङ र दिल बहादुर राना रहेका छन् ।
पहिरोमा परी घाईते सात जान मध्ये पाँच जनालाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ भने दुई जना घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
घाईतहरुमध्ये गुरुङको अवस्था गम्भिर भए पनि अरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
सो ठाउँबस्ने अन्दाजी ४ वर्षीय आरोप परियार सुरक्षित स्थानमा भाग्ने क्रममा बेपत्ता भएकोले खोजी कार्यजारी राखेको प्रहरीले बताएको छ ।