हाम्रो समाजमा एउटा उखान चलन चल्तीमा छ, ‘श्रीमान श्रीमतीको झगडा परालको आगो ।’ अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको प्रशंगमा यो उखान कसरी लागू हुन्छ भन्ने धेरैलाई लागेको हुनसक्छ । किनकि, न उनीहरु श्रीमान श्रीमती हुन् न त अहिलेसम्म प्रेम सम्बन्ध नै खुलेर स्वीकार गरेका छन् । तर, यो उखानको अर्थ र सन्देशसँग उनीहरुको सम्बन्ध दुरुस्तै मिल्छ ।
उनीहरुबीच कहिले ठूलै झगडा हुन्छ । जसका कारण लामो समय भेटघाट त टाढाको कुरा सोसल मिडियामा हाइ हेल्लो समेत हुँदैन । तर, केही समयमै फेरि मिल्ती हुन्छ । यो श्रृंखला २-३ वर्षदेखि चल्दै आएको छ । पहिलो पटक ‘रामकहानी’ मा काम गरेपछि उनीहरु एकअर्कासँग नजिकिएका थिए । त्यसयता उनीहरुले केही फिल्म र म्यूजिक भिडियोमा काम गरिसकेका छन् ।
उनीहरुबीच व्यवसायिक सहकार्य मात्र नभइ व्यक्तिगत रुपमा पनि निकै राम्रो सम्बन्ध बनेको छ । सम्भवतः यो जोडीले एकअर्कालाई जति विश्वास फिल्म क्षेत्रमा अरुलाई गर्दैन । तर, भनिन्छ छ नि नठोसी अगुल्टो बल्दैन । तसर्थ, जुनसुकै सम्बन्धमा बेलाबेलामा सामान्य ठाकठुक नराम्रो होइन । पूजा र आकाशको सम्बन्धमा पनि विचार नमिलेर सामान्य ठाकठुक परिरहेकै हुन्छ ।
तर, उनीहरुबीच यसपटकको ठाकठुक भने ठूलै कारणले भएको थियो । गत वर्षको लकडाउनमा टेलिभिजन कार्यक्रम ‘रजतपट’ का सञ्चालक प्रकाश सुवेदीले पूजालाई लक्षित गरेर एउटा अभिव्यक्ति दिएका थिए । जसका कारण पूजा लामो समय मानसिक द्वन्द्वबाट गुज्रनु पर्यो । उनकै कुरा विश्वास गर्ने हो भने ६ महिना उनले रोएरै विताएकी थिइन् । जसका साक्षी आकाश स्वयं थिए ।
यसपालीको निषेधाज्ञामा भने पूजाले जुन कार्यक्रमबाट आफू अपमानित भएको महशुस गरेकी थिइन्, त्यही कार्यक्रमले सुरु गरेको अभियानमा आकाश जोडिए । अर्थात्, उनले प्रकाश सुवेदीसँग हात मिलाए । जब पूजाले आकाश ‘रजतपट’ को अभियानमा जोडिएर राहत बाँडेको फोटो यत्रतत्र देखिन् तब उनी आकाशबाट झरेझैँ भइन् । किनकि, यो उनले कल्पना गरेको कुरा थिएन ।
आकाशको यो व्यवहारले पूजा कतिसम्म दुखी भएकी थिइन् भने उनी अब एकसाथ काम नगर्ने निर्णयमा पुगेकी थिइन् । उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘आकाशसँग व्यवसायिक सम्बन्ध मात्र स्थापित भएको रहेछ । ऊसँग एकतर्फी मित्रता मात्र रहेछ । अब हामीबीच सहकार्य हुने सम्भावना न्यून छ ।’ त्यसबेला पूजाले आकाशसँग प्रेम सम्बन्ध नरहेको पनि स्पष्ट पारेकी थिइन् ।
उनको यो बयानपछि मिडियामा पूजा र आकाशको जोडी टुटेको दाबीसहितका समाचार बने । दुईलाई एक भएको हेर्न चाहने दर्शकहरु बाँडिए । जोडी फुटेको खबरले रिलिजको पखाईमा रहेका फिल्मका निर्माताको भोक-निन्द्रा उड्यो । उनीहरुलाई लिएर फिल्म बनाउने सोचमा रहेका निर्माता/निर्देशक पनि हच्किए । तर, फुटको संघारमा पुगेको यो जोडीको फेरि मिलन भएको छ ।
संगीतकार अर्जुन पोखरेलले बिहीवार फेसबुकमा राखेको पूजा र आकाशसँगको तस्विरले उनीहरुबीच मिलाप भएको बुझ्न सकिन्छ । पोखरेलले नयाँ कामको तयारीका लागि भेट भएको र चाँडै छायांकनमा जाने उल्लेख गरेका छन् । यसको मतलब दर्शकले फेरि यो जोडीलाई स्क्रिनमा हेर्न पाउनेछन् । बुझिएअनुसार, संगीतकार अर्जुन पोखरेलको एक भिडियोमा उनीहरुले सँगै काम गर्दैछन् ।
पूजाको सबैभन्दा मनपर्ने संगीतकार अर्जुन पोखरेल हुन् । उनीहरुबीच दाजु र बहिनीको सम्बन्ध छ । ‘प्रेमगीत’ देखि पूजाका प्रायः फिल्मका गीतमा अर्जुनले नै संगीत भरेका छन्, जुन अधिकांश चर्चाको शिखरमा छन् । यसकारण पनि उनको प्रस्ताव पूजाले हत्तपत्त नकार्न सक्दिनन् । पूजा र आकाश छुटेको खबरले निराश भएका दर्शक उनीहरु मिलेपछि खुसीले गदगद भएका छन् ।