दक्षिण पर्वतको पैयुँ गाउँपालिकाले प्रमुख प्रशासनिक भवन निर्माण कार्य शुरु भएको छ । पैयूँ गाउँपालिका वडा नं. ४ हुवास स्थित भकुण्डे वगरमा भवन निर्माण शुरु गरिएको हो । भवनको शनिवार गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले शिलन्यास गरेका छन् ।
प्रशासकीय भवन साढे तीन तलाको हुने भएको छ । ३८ कोठा र लिफ्ट सहितको अत्याधुनिक भवन रु.५ करोड ४८ लाख ४८ हजार ९ सय ९० रुपैयाँको कुल लागतमा निर्माण शुरु भएको हो । १२ रोपनी क्षेत्रफलमा फैलिएको प्रशासकीय भवन निर्माण स्थलका लागि टकलाक, त्रिवेणी र हुवासका जग्गा धनीहरुले निशुल्क जग्गा उपलब्ध गराएका थिए ।
प्रशासकीय भवन निर्माणका लागि विवेक एण्ड कुवेर विल्डर्स वालिङ स्याङ्जाले जिम्मा पाएको छ । भवनको आगामी १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको हो । भवनको शिलन्यास गर्दै अध्यक्ष तिवारीले भौतिक पूर्वाधारले सुविधा सम्पन्न नहुँदा गाउँपालिकाका सेवाहरुमा समस्या भैरहेको बताउँदै भवन बनेपछि सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे । उनले निर्धारित समयमै भवन निर्माण सम्पन्न गर्न आग्रह समेत गरेका थिए । स्थापना कालदेखि उक्त गाउँपालिकाको भवन भाडाको घरमा संचालन हुँदै आएको थियो ।
भवन निर्माणका लागि पैयुँ गाउँपालिका वडा नम्बर ४ मा स्थानीयले निशुल्क ८ रोपनी जग्गा समे उपलब्ध गराएका थिए । गाउँपालिकाको भवनमा न्यायिक समितिको ईजलास, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन, स्वास्थ्य, शिक्षा, कृषि, पशु, सहकारी, सामाजिक शाखा, प्रशासन, लगायत विषगत शाखाका अलगअलग कोठाहरु बन्ने भएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेका अनुसार गाउँपालिकाको भवन मन्त्रालय शैलीमा बनाउन थालिएको हो । उनले सुविधा सम्पन्न भवन निर्माण भएपछि अहिले भाडामा संचालन हुँदै आएको मुख्य कार्यालय र विषयगत कार्यालयहरु आफ्नै भवनवाट स्थानान्तरण हुनेभएका छन् ।