३ चैत २०७९, शुक्रवार

बच्चा जन्माउनुअघि आमालाई पनि थाहा हुँदैन कि म कस्तोे सन्तान जन्माउँदै छु भनेर — अमर न्यौपाने ।

मानिसको शरीर दुई सय छ ओटा हाडका टुक्राहरु जोडिएर बनेको हुन्छ तर त्यहि मान्छेको जीवन कति टुक्राहरु जोडिएर बनेको होला ? सायद यस प्रस्नको उत्तर कसैसग पनि छैन । यस्तै जीवनका प्रस्नहरुको उत्तर खोज्नका लागि पार्वतीपुर-७ पश्चिम रङ्गीला, चितवन हालः पटिहानी-७ व्रम्हपुरी, चितवनमा बाबा एकनाथ न्यौपाने र आमा हरिमाया न्यौपानेको कोखबाट जन्म लिएको एउटा युवकको नाम हो- अमर न्यौपाने । अक्षरलाई ढुङ्गा र माटो अनि शब्दलाई बला र भाटा मान्ने हो भने यिनैको कंयोजनमा उनले आजसम्म चार घरहरु निर्माण गरे । एम.ए. सम्मको अध्ययन गरेका उनी नेपाली साहित्य विशेष गरेर आख्यान लेखनका इञ्जिनियर नै हुन् । पानीको घाम, सेतो धरती, करोडौं कस्तुरी र गुलावी उमेर उनका सिर्जनाहरु हुन् । पानीको घाम आख्यानका लागि २०६६ सालको पद्मश्री साहित्य सम्मान र सेतो धरती उपन्यासका लागि २०६८ सालको मदन पुरस्कार र रामराज पन्त स्मृति पुरस्कार, २०१३ को अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्राप्त गरेका छन् । उनै स्रष्टा अमरसँग साहित्य वरिपरि रहेर बुलबुल पत्रिकाको लागि घालश्रीले गर्नुभएको कुराकानीको सारसंक्षेपः
सर्वप्रथम स्वागत छ यहाँलाई बुलबुलमा ?
—यहाँलाई धेरैधेरै धन्यवाद ।
तपाईको बाल्यकाल कसरी बित्यो ?
—खुब सम्झन खोज्छु बाल्यकालका क्षणहरू । तर एकदुई प्रतिशत पनि सम्झन्न सक्तिनँ । दुई वर्षसम्म आमाको दूध खाएको त सम्झना छैन । त्यसपछिका दिनहरू अलिअलि सम्झन्छु । आफूलाई संसारकै सुखी मान्छे सम्झन्थेँ । झुप्रो घर भए पनि घरमा बाआमा भएपछि एउटा बालकले आफूलाई संसारकै सुखी मान्छे सम्झँदो रहेछ ।
आफ्नो परिचय आफैले दिनुपर्दा के भन्नुहुन्छ ?
—म आफ्नो परिचय बनाउँदै छु । परिचय भनेको नाम होइन काम हो । आफूले गरेको कामको मूल्याङ्कन आफूले होइन अरूले गरिदिने कुरा हो । यहाँहरूले जसरी चिन्नुहुन्छ त्यही नै मेरो परिचय हो ।
साहित्य र जीवनलाई हेर्ने तपाईको दृष्टिकोण ?
—जीवनका पाइलाले लेखेको कुरालाई साहित्यमा लेखिन्छ । जीवन नदी हो भने साहित्य नदीबाट निकालिएको बिजुली ।


साहित्य के हो र कस्तो हुनुपर्छ ?
—जीवन र ध्यानको समागमबाट हृदयले जन्माउने सन्तानको नाम नै साहित्य हो । साहित्य यस्तै हुनुपर्छ भन्ने छैन । यो त आविष्कार हो । जन्माउनुअघि आमालाई पनि थाहा हुँदैन म कस्तो अनुहार, स्वभाव र क्षमताको सन्तान जन्माउँदै छु ।
तपाई कविता पनि लेख्नुहुन्छ तर पछिल्लो समय आख्यानबाटै नेपाली साहित्यमा अमर हुनुभयो । आख्यानै रोज्नुको मुल कारण ?
—कहिलेकाहीँ लाग्छ, कवितासँग मेरो प्रेम भयो आख्यानसँग बिहे । यो सब लेख्दै जाँदा आफै भएको हो । अहिले पनि कवितासँगको प्रेम उस्तै छ । कुनै दिन यो प्रेमलाई पनि उजागर गर्नेछु ।
तपाईका दुई कृति पानीको घाम र सेतो धरती दुवैले पुरस्कार जीत्न सफल भए । झन् सेतो धरती बजारमा आएपछि त तपाईको लेखनको प्रशंसा नगर्ने बिरलै भेटिन्छन् । यस्तो अमूल्य कृति ‘सेतो धरती’को जन्म कसरी भयो ?
—सेतो धरतीको जन्म प्रसङ्ग अर्थात् रचनागर्भ सेतो धरतीको आलम्बन शीर्षक दिएर पुस्तकमै लेखेको छु । पाठकहरूले पढ्नुभएकै होला । यो संक्षिप्त अन्तर्वार्तामा फेरि यहाँ उल्लेख गर्दा लामो होला र पाठकलाई पनि झर्को लाग्ला कि ?
तपाई सेतो धरतीमा अक्षरहरुसग यसरी खेल्नु भएको छ, भन्नेहरु भन्छन् कि अब अमर न्यौपाने अक्षरहरुसँग खेल्ने ठाउँ नै छैन, कुरा साँचो हो ?
—यो त पाठक तथा समीक्षकहरूले मूल्याङ्कन गर्ने कुरा हो । मेरो काम भनेको लेख्ने र परीक्षा दिने मात्र हो ।
सेतो धरतीमा तारा जस्ता पात्रलाई उभ्याएर के सन्देस दिन खोज्नु भएको ? छोटकरीमा भनिदिनुहोस् न ?
—सायद सन्देश दिन होइन एउटा रङविहीन समयको चित्रण गर्न खोजेको हुँ । बाहिरबाट हेर्दा रङविहीन भए पनि ताराको आन्तरिक जीवनमा प्रकृतिमा भएका सबै रङ थिए । हृदयका ती रङहरूलाई चित्रण गर्ने प्रयास नै सेतो धरती हो ।
के अब नेपाली लेखकहरु पनि लेखेरै बाँच्ने दिन आएका हुन त ?
सङ्घर्षकै अवस्था हो । राम्रो लेख्ने लेखकहरूलाई साहित्यप्रेमी पाठकहरूले लेखेरै जीवनयापन गर्न पे्ररित गरिरहनुभएको महसुस गरेको छु । यो खुसीको कुरा हो ।
केही मिडियाहरुमा तपाईको पारिवारिक जीवनका बारेमा नकारात्मक कुराहरु बाहिर आएका छन् यस बारेमा हाम्रा पाठकहरुलाई सत्य बताईदिनुहोसन ?
—यो मेरो नित्तान्त निजी जीवनको कुरा हो । यसलाई सार्वजनिक बहसको विषय बनाउनु राम्रो होइन । गर्नुपर्ने ठाउँमा यस बारेमा बहस गर्छु । मेरो वैवाहिक सम्बन्ध बिग्रिएको हो । यसलाई अपमान, बदनाम र चरित्रहत्या गर्ने किसिमले मिडियामा ल्याइनु अवश्य पनि राम्रो होइन । कसैले मेरो चरित्रहत्या गर्‍यो भन्दैमा म अरूलाई त्यसो गर्न चाहँदिनँ ।
अब तपाईको नयाँ कृति हामीले कहिले पढ्न पाउछौँ ?
—छिटै पाउनुहुनेछ ।
अन्त्यमा, साहित्यमा रुचि राख्ने विद्यार्थीहरुले जीवनमा पढ्नैपर्ने र तपाईलाई मन पर्ने पाँच साहित्यिक किताबहरुको नाम भनिदिनुहोस् न ।
—आ-आफ्नो रुचीअनुसार पढ्ने हो । मैले यही नै किताब पढ्नुपर्छ भन्दा विद्यार्थीहरूको रुचीलाई असम्मान गरेको जस्तो होला कि ? मलाई मन पर्ने किताबहरू धेरै छन् । पाँच ओटा भन्नु पर्दाः गुरुप्रसाद मैनालीको नासो, विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा, भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे, नयनराज पाण्डेको उलार, मनु मञ्जिलको ल्यामपोष्टबाट खसेको जून ।

“सेतो धरती” उपन्यासकी तारा पात्रसँग लेखक न्यौपाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *