अभिभावकहरुसँग “एक दिवसीय मनोपरामर्श कार्यक्रम” सम्पन्न भएको छ । माउण्ट एभरेष्ट आवासीय मावि बेनीको आयोजनामा अभिभावकहरुलाई कोरोनाका कारण पुगेको असर र त्यसको न्यूनिकरणका सम्बन्धि परामर्श दिईएको थियो ।
आवासीय माविका प्रीन्सिपल राजु केसीका अनुसार उक्त अनलाइन कार्यक्रममा कान्ति वाल अस्पताल काठमाडौंका डा. सुस्मिता श्रेष्ठ, डा. रेशु कट्टेल र डा. कपिल शर्माले अहिलेको समस्या र यसको नियन्त्रण सम्बन्धि जनचेतनामूलक परामर्श दिनुभएको थियो । त्यसैगरी कार्यक्रममा सामाजिक संञ्जालको दुरुपयोग र यसका असर लगायतका विषयमा परामर्श दिइएको हो।
शनिबार बिहान ११ बजेबाट शुरु भएको कार्यक्रममा विद्यार्थीहरुमा झर्किने, छिटो रिसाउने, पढाइमा मन नगर्ने जस्ता समस्याहरु देखिँदै गएको आवासीय माविका प्रीन्सिपल राजु केसीले बताउनु भयो । केसीका अनुसार “अहिले विद्यार्थीहरु अनलाइन कक्षा पढिरहेका छन् । अनलाइन कक्षाका कारण बालबालिकाहरु नियमित मोवाइल, कम्प्युटर, ल्यापटप जस्ता विधुतिय उपकरणको सम्पर्कमा रहेका छन् । त्यतिमात्र हैन विभिन्न सामाजिक संजालमा बिद्यार्थीहरुको बाक्लो उपस्तिथि रहेको छ । सामाजिक संजालमा राम्रा र नराम्रा कुराहरुको पनि उत्तिकै प्रभाव पर्ने हुँदा बिद्यार्थीहरुलाई त्यसबाट छुटकारा गराउन यस कार्यक्रमले ठूलो भूमिका खेल्नेछ ।”
संगम म्याग्दीको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा १८० जना अभिभावकहरु सहभागी भएका थिए । विभिन्न लोकप्रिय कार्यक्रमहरु संचालन गर्दै आएको माउण्ट आवासीयले यसपटक अभिभावकहरुलाई जोड्ने प्रयास गरेको हो ।