प्रजिअ भन्छन्: ट्युवर ठानेर अनुमति नदिएको हुँ !
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकारहरुमाथि दुरब्यर्ववहार गरेका छन् ।
आइतबार द्वन्द्व पीडित अधिकार समाज म्याग्दीको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि प्रशासनमा पुगेका पत्रकार साधन राम्जाली र धिरनबहादुर खत्रीलाई समाचार, तस्बिर र दृष्य संकलन गर्न रोक लगाएर प्रजिअले कार्यकक्षबाट निकालेका हुन् ।
दृष्य र तस्बिर खिच्न रोक लगाई, धम्कीपूर्ण भाषा प्रयोग गर्दै कार्य
कक्षबाट निकालिएको पत्रकार राम्जालीले बताउनुभयो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सहसचिव राम्जाली म्याग्दी न्यूज डटकम, आदर्शसमाज दैनिकमा आवद्ध हुनुहुन्छ भने साधारण सदस्य खत्री कारोबार दैनिक, एभिन्युज टेलिभिजन, समृद्ध साप्ताहिक, कोरला पोष्ट लगायत सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ ।
“आयोजकले ज्ञापनपत्र पढ्न थालेपछि तस्बिर र दृष्य खिच्न क्यामेरा निकाल्दा प्रजिअले कसको अनुमतिमा खिच्नुभयो ? अनुमति बिना मेरो कार्यकक्षमा खिच्न मिल्दैन । बाहिर जानुहोस भन्दै धम्काउनुभयो,” राम्जालीले भन्नुभयो “हामिले परिचय दिँदापनि अपमानजनक ब्यवहार गरेर धम्काउँदै कार्यकक्षबाट निकाल्नुभयो ।”
सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोग मार्फत द्वन्द्वपीडितहरुका समस्या समाधान तथा माग सुनुवाईका लागि द्वन्द्व पीडित अधिकार समाज म्याग्दीका सचिब सुरेन्द्र केसीको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएका थिए ।
प्रजिअले समाचार संकलनका लागि गरेको अवरोध र पत्रकारहरुलाई गरेको दुरब्यवहारको नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले घोर भत्सर्ना गरेको छ । शाखा सचिब सन्तोष गौतमको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारीबाट भएको गैरजिम्मेवारपूर्ण ब्यवहार तथा कार्यशैली सच्चाउन माग गरिएको छ ।
“पत्रकारले स्वतन्त्र हिसाबले समाचार संकलन गर्न, नागरिकले सूचना पाउने अधिकारको संरक्षण, पारदर्शिता, सुशासन कायम गर्ने वातावरण बनाउन जोडदार माग गदैर्छौ,” सचिब गौतमले भन्नुभयो “प्रजिअको ब्यवहार आपत्तिजनक छ ।”
पत्रकारलाई भएको दुरब्यवहारप्रति म्याग्दी मिडिया सोसाइटी, नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालले पनि बिरोध र आपत्ति जनाएका छन् । प्रजिअ अधिकारीले भने पत्रकारलाई नचिनेर युट्युवर ठानेर अनुमति मागेर तस्बिर खिच्न अनुरोध गरेको प्रतिक्रिया दिनुभयो ।