बेनी नगरपालिका- ५ डडुवाकी २० वर्षीया सविना भण्डारी र मंगला गाउँपालिका-१ का १३ वर्षीय बिमल विकको मृत्यु
यात्रुबाहक जीप दुर्घटना हुँदा दुई यात्रुको घट्नास्थलमै मृत्यु भएको छ भने अन्य ६ यात्रु घाइते भएका छन् ।
मृत्यु हुनेमा बेनी नगरपालिका- ५ डडुवाकी २० वर्षीया सविना भण्डारी र मंगला गाउँपालिका-१ का १३ वर्षीय बिमल विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरु मध्ये ३ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ भने ३ जना (अनिल, अस्मिता र गीता)लाई टाउकोमा चोट लागेकोले सिटी स्क्यान सहितको थप उपचारको लागि पोखरा पठाइएको छ । बेनी अस्पतालका अनुसार दुर्घटनामा परी घाइते हुनेमा मंगला गापा-१ पूर्णगाउँका सुदन आचार्य (२५), एन्जिला भण्डारी (२६), अनिल रसाईली (१९), अदिना नेपाली (८), गिता खत्री (३५) र अस्मिता राम्जाली(३६) रहेका छन् भने टाउकोमा चोट लागेका चालक रसाइलीको स्वास्थ अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सदरमुकाम बुधबार साँझ बेनीबाट मंगला गाउँपालिकाको-२ सिमलचौर मिठौला हुँदै मंगला गाउँपालिका-१ पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जीप बुधबार राति करिब ८:२० बजे सिमलचाैरभन्दा माथि मिठौला भन्ने स्थानको घुम्तिबाट तल खोचमा बग्ने नेवारे खोलामा पल्टिएर दुर्घटना भएको हो । उक्त स्थान पहिले देखिनै जोखिमपूर्ण मानिएको स्थान हो भने कच्ची बाटो र वर्षाको कारण पहाडी क्षेत्रको यात्रा थप जोखिम रहेको छ ।