४ चैत २०७९, शनिवार

विक्षिप्त मन

आभा निरु

विक्षिप्त नारी

विक्षिप्त मन लिएर एक्लै
गन्तव्य विहिन यात्रामा अवतरण हुँदै
न जीवनप्रति गुनासो
न विचलित सपनासँग
एकोहोरो रुवाबासी छ मनमा
न सवाल छ, न जवाफ
मुस्कुराउँछिन् उनी हरपल !

न दिलमा दोष थियो,
न तक्दिरमा खोट थियो ।
छातीभरि नेपाल आमा सजिएको आकृति
कहिले हेर्दै चिच्याउँछिन्
कहिले नियाल्दै कराउँछिन्
कहिले सम्झंदै बर्बराउँछिन् ।

“आमा !
त्यही हो अपराधी,
त्यही हो वलात्कारी ’”
भन्दै लखेट्छिन् हर पुरुष ।

आफूमाथि भएको बर्बरतामा
न्यायका दस्ताबेज नभेटेपछि
लुटिएको अस्मिता
र गलेको शरीरसँगै,
हाँस्दै कराउँछिन्,
“ए दानब !,
लुछ, म सिनो हुँ !”

दृष्य देख्दा लाग्छ,
“म किन नारी !”
उनको मुर्छित जीवन देख्दा लाग्छ,
नारी हुनु केवल अभिसाप मात्र !

आफै गलित महसुस हुँदै
चलेको पाउसँगै सुन्छु,
उ त फगत पागल हो ।
उसको जीवन र जगत पागल हो ।
सुस्केरा हाल्दै प्रश्न गर्छ मन,
“के यही हो नारीको साँचो जीवन ?”

सिन्धुपाल्चोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *