नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले छुट्टै ११ केभी ब्रेकर प्यानल राखी नयाँ फिडर जडान गरेको छ । विद्युतको अत्याधिक माग हुने बेनीबजार तथा आसपासका क्षेत्रमा दैनिक पटक–पटक विधुत ‘ट्रिप’ हुने समस्यालाई समाधान गर्न ११ केभि ब्रेकर राखिएको प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झा ले बताए ।
‘एउटै ब्रेकरबाट सेवा दिदाँ फल्ट आउनासाथ विधुत ट्रिप हुने समस्या थियो,‘एउटा ठाउँमा मर्मत गर्दा विधुत काट्नु पर्ने बाध्यता अव हटेको छ’ प्रमुख झाले भने ।
उनले जिल्लाभित्र विद्युत आपूर्तीमा देखिएको समस्या समाधानका लागि थप योजनाहरू बनाइएको बताए । पर्वतको मिलनचोक सबस्टेशनको ११ केभि क्षमताको प्रशारण लाइनबाट करिब ९५ लाखको टेन्डरमार्फत लाइन विस्तार गरिएपछि रत्नेचौर, सिंगा तातोपानी एउटै ब्रेकरबाट सञ्चालन भएको अवस्थामा अव फिडर टुक्राइएको छ । हालै सरुवा भएर गएका बेनी वितरण केन्द्रमा प्रमुख माधब महतले विधुत प्राधिकरण गण्डकी प्रदेश कार्यालय पोखरामार्फत बजेट विनियोजन गरी उक्त समस्या समाधानमा पहल गरेका थिए ।
नयाँ बे्रकरले सदरमुकाम बेनीबजार आसपासका झण्डै ५ हजार ग्राहक, वित्तिय संस्था, छापाखाना, विद्युतीय सञ्चार माध्यम, फर्निचर, ग्रिल उद्योगसँगै विद्युतीय उपकरणद्वारा सञ्चालित व्यवसायलाई सहज हुनेछ ।
बि.स ०६२ सालदेखि सबस्टेशनबाट पर्वत जलजला, रत्नेचौर क्षेत्रमा १ र बेनीबजार सहित पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकासम्म १ र उत्तरी म्याग्दी क्षेत्रको रघुगंग र अन्नपूर्ण गाउँपालिका १ गरी तीनवटा फिडरबाट विद्युत आपूर्ती भइहरेको थियो । तीन वटा फिडरको लम्बाई ६० किलोमिटर लामो रहेकोले बर्खाको हावाहुरी र पहिरोले तार पोलमा रुख पर्ने, पोल ढल्ने जस्ता समस्याका कारण समयमै विद्युत आपूर्ती नहुदाँ म्याग्दी उद्योग वाणिज्य संघले पटकपटक आन्दोलन र ज्ञापनपत्र बुझाएको थियो ।
मापदण्ड अनुसार सवस्टेशनबाट एक केभी बराबर ११ किलोमिटरसम्म विस्तार गर्नुपर्नेमा म्याग्दीमा एक केभी बराबर करिब ६० किलोमिटर सम्म लाइन विस्तार गरिएको थियो । यसैबीच प्राधिकरणको सक्रियतामा पश्चिम म्याग्दीको मालिका गापामा निर्माणाधिन ३३÷११ केभि सवस्टेसन निर्माणले समेत गति लिएको छ ।