१२ असार २०७९, आइतवार

सरिताको ‘अन्तरङ्ग’

घायलश्री


आन्तरिक रङ्गहरुलाई नै अन्तरङ्ग भनिन्छ । अर्को अर्थमा भन्ने हो भने लगौैँटिया अर्थात् धेरै आत्मिय भएको वा भित्री विस्वास भएकोलाई नै अन्तरङ्ग भन्ने गरिन्छ । आफ्ना मनभित्रका विभिन्न रङ्गहरुको सङ्कलन गरेर ‘अन्तरङ्ग’ गजल सङ्ग्रह मार्फत् बजारमा आइपुगेकी छन् पाल्पाली नारी हस्ताक्षर सरिता रेग्मी ।
पिता दण्डपाणि खनाल र माता अयोध्या खनालको कोखबाट यस धरतीमा पाइला टेकेकी सरिता पेसाले प्राध्यापक हुन् तर उनको खास रुची भनेको साहित्य सिर्जना नै हो । सानै उमेरदेखि साहित्यप्रति झुकाव राख्ने उनको ‘अन्तरङ्ग’ स्वतन्त्र गजलहरुको सङ्ग्रह हो । यसमा ७८ स्वतन्त्र गजलहरु समावेश रहेका छन् भने डा.शङ्करप्रसाद गैरे, राधेश्याम ज्ञवाली, पुष्कर अथक रेग्मी, खत्री कमल जस्ता अग्रज साहित्यिक ब्यक्तित्वहरुको भूमिका तथा शुभकामनाहरुले यस सङ्ग्रहलाई थप खदिँलो बनाउन सहयोग पुर्‍याएका छन् ।


मैदानमा उत्रिनै नचाहानेहरुको न हार हुन्छ, न जीत नै । जो मैदानमा छ उसले कि त जित्छ, कि त सिक्छ भनेजस्तै गजलकार सरिताले साहित्य विशेष गरेर गजल लेखन तथा प्रकाशनको मैदानमा आफूलाई उभ्याएर एक अर्थमा जितेकी छन् भने अर्को अर्थमान गजल जस्तो जटिल विधामा कलम चलाएर धेरै सिक्ने अवसर पनि प्राप्त गरेकी छन् ।
कुटुनी बुढी खेलेर शैशवकाल बित्यो
खोला डाँडा तरेर हुर्किएकी म ।
दुई नम्बरको गजलमा आफूले वाल्यकालमा विताएका वालपनहरुलाई सवैको वालपनहरुसँग मिल्ने गरेर सरल रुपमा उतार्ने प्रयास गरेकी छन् ।
बेचेर धर्ती आफ्नै खण्ड/खण्ड पारी
तर विकास गर्न छुटेको यो देश ।
पाँच नम्बरको गजलमा देश लुटेराहरुलाई शब्दको झटारो हानेकी छन् भने सद्भावले मात्र देशको अस्तित्व जोगाउन सकिन्छ भन्ने सन्देश दिन खोजेकी छन् ।
घर धानी बस प्यारी कमाउन जान्छु
ठूलो पाटो बाको जीउनी थमाउन जान्छु ।
बाह्र नम्बरको गजलमा नेपालीहरुको वास्तविकता पोखिएको छ । मन नहुँदापनि आर्थिक अवस्थाका कारण परदेशिन बाँध्य लाखौं नेपालीहरुको चरित्रलाई उजागर गरेको छ ।
यसरी सरसर्ती हेर्दा ‘अन्तरङ्ग’ गजल सङ्ग्रहभित्र विशुद्ध गाउँले पात्रहरु भ्ेटिएका छन् । आफूले भोगेका, देखेका र सुनेका घटनाहरुलाई गजल मार्फत् एकत्रित गर्न सफल उनलाई सरल तथा सरस गजलकारको रुपमा चिन्ह सकिन्छ । सामान्य पात्रहरुलाई नायक बनाइनुले उनका सिर्जनाहरु ‘अर्गानिक’ रहेका छन् भन्ने बुझ्न सकिन्छ । अर्गानिक भावहरु सिर्जना गर्न सक्नु नै गजलकारको आफ्नै विशेषता रहेको बुझिन्छ । कहीँ बालापन सम्झेर, कहीँ मिचिएका देशका सीमा सम्झिएर त कहीँ परदेशिन बाँध्य नेपालीहरु सम्झेर विछिप्त उनले देश बनाउन पहिले सद्भाव र एकताको खाँचो रहेको औल्याएकी छन् ।
‘नारी उन्नयन तथा विकास प्रतिष्ठान’ पाल्पाले प्रकासन गरेको यस गजल सङ्ग्रहले सबैको मन जित्न सफल रहोस् । यस सङ्ग्रहमा भएका केही त्रुटिहरुलाई उनका आगामी कृतिहरुले मेट्न सकून्, हार्दिक शुभकामना ।

Leave a Reply

Your email address will not be published.