बुधवार ९८ वर्षको उमेरमा निधन भएका बलिउड अभिनेता दीलिप कुमारलाई निर्देशकको रुपमा काम गर्ने पनि ठूलो सपना थियो । उनले सन् १९९६ मा आफ्नो सपना पूरा पनि गरे । उनले पहिलो पटक फिल्म ‘कलिंग’ को निर्देशन गरेका थिए । तर, दुर्भाग्य ! न यो फिल्म रिलिज हुन सक्यो न त अहिलेसम्म छायांकन नै पूरा भएको छ । फिल्मको ७० प्रतिशत छायांकन मात्र सकिएको छ ।
अब फिल्मका निर्माता संगीता अहीरले ‘कलिंग’ लाई पुनः निर्माण गरेर सिनेमा हलमा रिलिज गर्ने तयारी गरेकी छन् । फिल्ममा मीनाक्षी शेषाद्री, ज्याकी श्राफ, शिल्पा शिरोडकर, राज बब्बर, राज किरण, किरण जुनेजा, राधा सेठका साथै दीलिप कुमार पनि मुख्य भूमिकामा थिए । उनी फिल्ममा जस्टिस कलिंगको भूमिकामा थिए । फिल्मको मुम्बईमा भव्यसँग मुहूर्त गरिएको थियो ।
छायांकनको समयमा निर्माताबीचको मनमुटावले फिल्मको छायांकन अधुरैमा अड्कियो । फिल्म निर्माण भएको २५ वर्षभन्दा बढी भइसकेको छ । फिल्ममा काम गरेका प्रायः कलाकारहरु अहिले अभिनयमा सक्रिय छैनन् । यस्तो अवस्थामा अधुरो फिल्म पुनः निर्माण भएर दर्शकसम्म पुग्न असम्भव देखिन्छ । निर्माता संगीताका अनुसार, यो फिल्म दीलिप कुमारको ड्रिम प्रोजेक्ट थियो ।
उनले टाइम्स अफ इन्डियासँगको कुराकानीमा भनेकी छन्, ‘यो निकै दुर्भाग्यपूर्ण हो कि हामीले दीलिप सरलाई गुमायौं । उहाँ भइदिएको भए निकै राम्रो हुन्थ्यो किनकि यो उहाँको ड्रिम प्रोजेक्ट थियो । ‘कलिंग’ पछि उहाँले कुनै प्रोजेक्ट गर्नुभएन । फिल्मका लागि निकै समर्पित हुनुन्थ्यो । यो उहाँको सपना थियो । म के विश्वास दिलाउन चाहन्छु भने यो फिल्म जसरी पनि रिलिज हुन्छ ।