पर्वतमा केही दिन यता तोडफोड तथा चोरीका घटना ह्वतै बढेका छन् । गत हप्ता पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थरमा एकैरात आधा दर्जन घर तथा कार्यालयहरुमा चोरी भए । स्थानिय अमृत गुरुङ्गको घरबाट साढे १३ तोला सुन र १ लाख नगद रुपैया चोरी भयो ।
त्यसैगरी भीमबहादुर क्षेत्रीको पसलबाट ५ हजार ५ सय नगद चोरी भयो भने चोरी गर्न पुगेको समुहले कुस्मा नगरपालिका वडा नं १४ को कार्यालय, पञ्चकोशी माबि र देबी मन्दिरमा समेत तोडफोड र चोरी गरेको प्रहरीले जनाएको छ ।
यस्तै गत शनिवार राति अज्ञात समुहले महाशिला २ भोक्सिङको वडा कार्यलय भवन तोडफोड गर्नुका साथै स्थानीय राम प्रसाद शर्माको पसलबाट नगद २५ हजार, ख्यामलाल पौडेलको पसलबाट १६ हजार, र तारा गुरुङको पसलबाट नगद ६ हजार र खाद्यान्नका सामाग्री चोरी भयो । त्यस्तै कुश्मा नगरपालिका, फलेवास नगरपालिका, महाशिला गाउँपालिका र विहादी गाउँपालिका लगायत अन्य पालिकामा चोरले आतंक नै मचाएका छन् । चोरको डरले चिच्याएर रात कटाएको फलेवास नगपालिका शंकरपोखरीका सरोज विश्वकर्माले बताउनुभयो । यता महाशिला गाउँपालिका वडा न.६ फलमखानीमा चोरलाई गाउँ पस्न नदिन युवाहरुको समुह नै बनाएर रातभर युवाहरुलाई परिचालन गरिएको वडा अध्यक्ष राम सुनारले बताउनुभयो ।
चोरीका घटना दिनप्रदिन बढ्दै जान थालेपछि गाउँगाउँमा त्रास छाएको महाशिला ५ लुंखुका स्थानिय गंगा बहादुर विकले बताउनुभयो । ‘एकपछि अर्को चोरीका घटना हुन थालेपछि कसरी जिउधन जोगाउने भन्ने चिन्ता छाएको छ,’ उहाले भन्नुभयो, ‘चोरको डरले धेरै रात जाग्राम बसेका छौ ।’
चोरीका घटना बढेपछि गाउँगाउँमा २४ सै घण्टा प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरिक्षक शिवराज बुढाथोकीले बताउनुभयो । उहाँले चोरीका घटना एउटै प्रकृतिको भएकाले चोरी गर्ने समुह एउँटै भएको हुन सक्ने समेत आसंका गर्नुभयो । बुढाथोकीले चोरी गर्नेको प्रहरी निरिक्षकको नेतृत्वमा विषेश अनुशन्धान टोली नै बनाएर खोजी कार्य गरिरहेको समेत बताउनुभयो ।