माडी नगरपालिकाभित्र भएको ठूलो आर्थिक चलखेललगायत सबै स्थानीय तहमा भएको चर्को कर, भ्रष्टाचार र जनविरोधी कार्यका विरूद्ध जागरण अभियान सञ्चालन गर्ने र जनकारबाहीको दिशामा अघि बढ्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले आफ्नो चार महिने कार्यनीति सार्वजनिक गरेको छ ।
स्थानीय तहमा व्यापक आर्थिक र प्रशासनिक समस्या रहेको भन्दै पार्टीका चितवन जिल्ला इन्चार्ज सन्देशले भने, ‘सम्बन्धित निकाय नसच्चिए जनकारबाही हुन्छ, त्यो भनेको जनताले जे कारबाही गर्न खोज्छन् त्यही हो ।’ माडी नगरपालिकामा पछिल्लो समय जग्गा प्लटिङको विषयलाई लिएर मेयर ठाकुर ढकालको विरोध भएको छ ।
जिल्लाका मुख्य सरोकारका विषयलाई समेटेर नेकपाले किसान, मजदुर, उत्पीडित जनतासम्म पुग्ने ४ महिने कार्यनीति तयार पारेको इन्चार्ज सन्देशले बताए । जिल्ला इन्चार्जका रुपमा हालै जिम्मेवारी सम्हालेका सन्देशले पार्टीको पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका छन् । निर्णयसम्बन्धमा शुक्रबार नारायणगढमा पत्रकार सम्मेलन गरिएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी चितवन (विप्लव)को २१औँ पूर्ण बैठक असार १५, १६ र १७ गते भरतपुरमा बसेको उनले जनाए । अबको केही दिनमा सुरू गरेर ४ महिनामा काम सक्ने बताइएको छ । कोरोनाका कारण केही ढिला भएको पार्टीको भनाइ छ ।
त्यस्तै, यस पार्टीले क्यान्सर अस्पतालविरूद्धमा भएको षड्यन्त्रको विरोध गर्दै चितवनलाई मेडिकल सिटी बनाउन भूमिका खेल्ने बताएको छ । भरतपुरस्थित क्यान्सर अस्पताललाई अन्य निकायको मातहत राख्ने प्रयास भएकोप्रति उक्त पार्टीले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
जिल्लामा भएको बाढी कटान, डुबानलगायतका प्राकृतिक विपत्तिमा राज्यबाट भएको उदासीनताको भण्डाफोर गर्दै आफ्नो पार्टी उद्धार र राहतमा जोडिने उनले बताए ।
त्यस्तै, रोपाइँको समयमा मलमा भएको कालोबजारी र अभावको भण्डाफोर गरी किसानको समस्याका विरूद्धमा संघर्ष गर्ने, कोभिडको उपचारमा देखिएको लापर्बाही, चर्को शुल्कप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै इन्चार्ज सन्देशले निःशुल्क उपचारलाई व्यावहारिक तरिकाले कार्यान्वयन गर्ने बताए । केही दिनअघि पूर्वी चितवनको चाउचाउ उद्योगमा ११७ जना मजदुर निकाला गरेको र जिल्लाका अन्य क्षेत्रमा पनि मजदुरको समस्या रहेको भन्दै उनीहरुविरूद्ध गरिएका उत्पीडनको विरोधमा संघर्ष गर्ने उनले बताए ।
जिल्लाका ३० वटा सकुमबासी बस्तीका जनताको व्यवस्थापन र लालपुर्जा प्राप्तिको आन्दोलनलाई निर्णायक ढङ्गले अगाडि बढाउन पहल गर्ने, नारायणी, राप्ती, लोथर, रिउलगायतका खोलामा कमिसनको लोभमा प्राकृतिक दोहन भएकोमा यसलाई रोक्न पहल गर्ने, साथै जिल्लाका अवैध उत्खनन र क्रसरहरुलाई तत्काल बन्द गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने र त्यसविरूद्धको संघर्षलाई अगाडि बढाउने जिल्ला सेक्रेटरी मीनप्रसादले बताए । त्यस्तै, विद्यार्थीको अनलाइन पढाइ, भर्ना र मासिक शुल्क चर्को भएको भन्दै रोक्न पहल गर्ने उनले बताए ।
सरकारी र अन्य कार्यालयमा भएका कमिसन रोक्न तथा वन, मालपोत, नापीलगायतका कार्यालयबाट भएका जनविरोधी कार्यविरूद्ध संघर्ष गर्ने र जिल्लामा रहेका जनयुद्धलगायत घटनाका शहीदका परिवारको आवास, शिक्षा र स्वास्थ्यको व्यवस्था मिलाउन ठोस पहल गर्ने पार्टीको योजना रहेको उनले बताए ।
सरकारसँग ३ बुँदे सम्झौता गरी प्रतिबन्ध फुकुवा भएपछि नेकपा अहिले खुला राजनीतिमा जनतासँग भिजेर काम गरिरहेको जानकारी दिँदै इन्चार्ज सन्देशले भने, ‘हाम्रो लक्ष्य वैज्ञानिक समाजवाद हो, पुँजीवादी व्यवस्था काम छैन ।’