१२ असार २०७९, आइतवार

अग्निपरीक्षामा नेपाल !

५० वर्षभन्दा उर्जामय समय खर्चेर बनाएको एमाले छाडेर अन्ततः माधव नेपालले नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) गठन गरेका छन् । निर्वाचन आयोगमा एमालेका ५५ केन्द्रीय सदस्य र २९ सांसदसहित नयाँ पार्टी बनाएका नेपालले चार महिनाभित्र यो दललाई मुलुककै सबैभन्दा ठूलो दल बनाउने उद्घोष गरेका छन् ।

एमालेलाई शक्तिशाली पार्टी बनाउन माधवकुमार नेपालले ठूलो योगदान गरेकोमा दुईमत छैन । करिब १५ वर्ष पार्टी नेतृत्वमा रहेका नेपालले त्यही पार्टीले नै आफूलाई प्रधानमन्त्री बनाएको भुल्ने कुरा भएन । देशका महत्वत्वपूर्ण परिवर्तनको लागि भएका आन्दोलनको अगुवा भएर,पार्टीलाई बहुदलीय प्रतिष्पर्धाको लागि तयार पारेर उनले नेपालको लोकतान्त्रिक पद्दतिलाई पनि यथोचित योगदान गरेकै छन् । तर, जीवनको उत्तरार्धमा घटित केही घटनाक्रमले उनी सम्पूर्ण जीवन अर्पेको पार्टीमै रहने वातावरण बनेन । एमाले र माओवादी केन्द्रको मिलनपछि जन्मेको नेकपा र त्यसमा आएको विग्रह,नवौं महाधिवेशनमा आफूलाई पराजीत गर्दै शक्तिशाली अध्यक्ष बनेका सहकर्मी केपी शर्मा ओलीका गतिविधिहरुले उनी पार्टीमा बस्नै नसक्ने परिस्थिति बन्यो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २ पटकसम्म असंवैधानिक तवरले संसद विघटन गरेपछि उनी स्पष्ट रुपले आफ्नै नेतृत्वको विरुद्धमा उभिए ।सडकमा आएर केपी ओलीविरुद्ध नाराबाजी गरे,सर्वोच्च अदालत गए अनि विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । आफ्ना गतिविधिहरु संविधान र लोकतन्त्रको पक्षमा भएको उनको जिकिरलाई सर्वोच्च अदालतको फैसलाले सत्य सावित गरिदिएको छ । यसमानेमा, उनले गरेको विद्रोहमा नैतिक र कानूनी वैधता रहेको छ । तर, पार्टी नै विभाजन हुने गरी उनीबाट भएका गतिविधिलाई नजरअन्दाज गरिहाल्ने अवस्था पनि छैन । पार्टी नेतृत्वलाई स्वीकार्नुको सट्टा समानान्तर संगठन संचालन गरिनुलाई उनको कमजोरीको रुपमा हेर्ने पंक्ति सानो छैन । समयले उनीसँग यो प्रश्नको उत्तर माग्ने नै छ । उनले यो प्रश्नको उत्तर कसरी दिन्छन् र आफूलाई कसरी प्रमाणित गर्छन् भन्नेमा अबको राजनीतिक यात्राको सफलता÷असफलता निर्भर रहेको छ ।

सधैं साथ रहेकाहरुले अन्तिम समयमा माधवको साथ छाडेका छन् । संख्यात्मक हिसाबले उनी एमालेबाट ‘चोइटिएको’ शक्तिको रुपमा मैदानमा ओर्लेका छन् । हिजो एमालेमा रहँदा बनाएको समानान्तर संगठन कमजोर अवस्थामा पुगेको छ । नयाँ पार्टी गठनसँगै उनीसामु संगठन सदृढ बनाउने, पार्टीलाई विधि र पद्दति अनुसार संचालन गर्ने एवं शक्ति आर्जन गर्नुपर्ने र आफूमाथिका आरोपहरुलाई गलत प्रमाणित गर्नुपर्ने चुनौती आइलागेको छ । पार्टीको मुली भएको नाताले उनले अब अर्काको आलोचना गर्न पाउने छैनन् बरु आलोचना खेपेरै सबैलाई समेट्दै अगाडि बढ्नुपर्ने बाध्यता आइलागेको छ । वामपन्थी शक्तिहरुको एकतासँगै समाजवादी धारको व्यवहारिक कार्यान्वयन एवं सशक्त रुपले कार्यकर्ता परिचालनले उनलाई स्थापित गराउन सक्छ । त्यो भनेको माओवादी केन्द्रसँगको एकीकरण पनि हो । एकीकरणले उनलाई शक्ति दिएपनि एमालेको लिगेसी बोकेका कार्यकर्ताहरुको व्यवस्थापन सजिलो छैन । नयाँ सरकारलाई सघाएका उनीसँग राजकीय सत्तामा सहभागिता जनाउने अवसर पनि रहेकै छ । राजनीतिको अन्तिम लक्ष्य सत्ता नै हो र माधवसँग सत्तामा जाने अवसर छ । उनले सरकारमा जाने संकेत गरिसकेका छन् । शक्ति आर्जनको लागि यो अवसर ‘वरदान’ बन्नसक्छ । तर, आफूमाथि हुने आन्तरिक र वाह्य आक्रमणलाई निस्तेज पार्न त्यति मात्रै काफी हुनेछैन । आउँदो स्थानीय र प्रदेश चुनावलाई केन्द्रमा राख्नुपर्ने बाध्यता अर्कोतर्फ रहेकै छ ।

कम्युनिष्टहरु जुट्नभन्दा फुट्न रुचाउँछन् र सानो नै सही, आफै सर्वेसर्वा हुने लालसा पाल्छन् भन्ने आरोलाई खण्डित बनाउनु नै उनको सबैभन्दा ठूलो चुनौति हो । आफू पार्टी नेतृत्वमा रहँदै एमाले विभाजन र एकीकरण देखेका उनले फुटेर जानेहरुसँग शक्ति कम हुन्छ भन्ने हेक्का राख्नुपर्छ । मूल पार्टीबाट हुने हरेकखालका आक्रमणलाई परास्त गर्न सकिएन भने फुटको औचित्य पुष्टि हुँदैन । चोइटिएको समूहको ‘नेता’ बन्ने कि,विचारसहितको शक्तिशाली नेता ? त्यो आगामी दिनमा माधवकुमार नेपालले निर्वाह गर्ने भूमिकाले नै तय गर्नेछ । तर, यति चाहिँ सत्य हो, उनले जति फुकीफुकी पाइला चाल्छन्, त्यति नै नेकपा समाजवादी पार्टीको आयातन बढ्ने छ ।

Leave a Reply

Your email address will not be published.