फलेवास नगरपालिकाको भवन सार्ने निर्णय कार्यान्वयन हुने भएको छ । सर्बोच्च अदालतको आदेश अनुसार साविकको स्थान खानीगाउँ स्थित सिंचाई कार्यालय बाट झकलकमा सर्ने भएको हो । नगरउप्रमुख मञ्जु अधिकारीले नगरपालिकाको केन्द्रको सार्ने निर्णयका बिरुद्धमा अदालतमा मुद्धा हालेपछि प्रक्रिया रोकिएको थियो । अदालतको नयाँ परमादेश आए संगै झकलकमै केन्द्र सर्ने निश्चित भएको हो । नगरप्रमुख पदमपाणि शर्माले केन्द्र सार्ने नगर कार्यपालिकाको बहुमतको निर्णय रहेको र अदालतले पनि कार्यपालिकाको निर्णय सदर गरेपछि सुविधासम्पन्न स्थानमा केन्द्र सर्ने बाटो खुलेको बताउनुभयो ।
हाल सिचाई कार्यालयमा भवन रहेका ठाउँमा नगरपालिकाको प्रशासकिय भवन बनाउन जग्गा अपुग भएको कारणले नगर कार्यपालिकाको निर्णय अनुसार नगरपालिकाले जग्गा प्राप्त गर्न आह्वान गरेकोसुचना अनुसार ६० रोपनी ८ आना जग्गा फलेवास नगरपालिका-५ खानीगाउँ मै प्राप्त भएकोले प्रशासकिय भवन बनाउन सर्वोच्च अदालतले फैसला गरेको हो ।
फलेवास नगरपालिकाको स्थाई केन्द्र झकलकमा सार्ने पक्षमा नगरपालिकाका अधिकाँश जनप्रतिनिधी सहमत भएपनि नगर उपप्रमुख भने असहमत थिईन् । उनले सर्बोच्चमा मुद्धा दायर गरेर एक पटक निर्णय फिर्ता लिन सफल भएपनि अदालतले आफ्नै आदेश उल्टाएर पुनः नगरपालिकाको केन्द्र खानीगाउँ स्थित सिंचाई कार्यालयबाट झकलाकमा सार्ने निर्णय गरेको हो ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले यसअघिको आदेश रोक्का गर्न आदेश दिएको हो । नगर कार्यपालिकाको निर्णय सबै अध्ययन गरेर अदालतले नियमसंग निर्णय गरेको ठहर गर्दै आदेश जारी गरेको जनाईएको छ । नगरपालिकाको प्रसासकीय भवन बनाउन टेण्डर समेत आव्हान भएर पूर्वाधार विकासको काम शुरु हुँदै गर्दा बिबाद भएपछि काम रोकिएको थियो । अब भने केन्द्र सर्ने र भवन बन्ने योजना नरोकिने जनप्रतिनिधीहरुले बताएका छन्
फलेवास नगरपालिकाको अहिले रहेको केन्द्रमा प्रसासनिक तथा अन्य शाखा कार्यालय विस्तार गर्न, पार्किङ स्थल बनाउन र खुल्ला मैदान बनाउन जग्गा नै छैन । झकलकमा ६० रोपनी जग्गाको व्यवस्थापन भएकाले उक्त स्थान नगरको केन्द्र बन्न प्रभावकारी रहेको स्थानीय बताउँछन् । नगरपालिकाको केन्द्रका बारेमा रहेको द्विविधा अन्त्य भएकोमा नगरवासीहरु खुशी भएका छन् । फलेवास नगरपालिकाले अदालतको आदेशको स्वागत गरेको छ ।