नेकपा एमालेका दुईजना लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थी र रमा घर्ती माधव कुमार नेपाल समूहमा खुलेका छन्।
विगतदेखि नै नेपाल समूहमा रहेको बताइएपनि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार रहँदासम्म उनीहरू स्पष्ट रूपमा खुलेका थिएनन्।
एमाले नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेर बहिर्गमन भएसँगै उनीहरु नेपाल समूहमा खुलेका हुन्। नेपाल निकट एमाले रुपन्देहीको शनिबारको बैठकमा सांसद पन्थी र घर्ती सहभागी थिए।
पन्थी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने घर्ती पाल्पाकी समानुपातिक सांसद हुन्। लुम्बिनी प्रदेश सभामा एमालेसँग ३७ सांसद छन्।
२ जना नेपाल पक्षमा खुलेपछि ओली पक्षसँग ३५ सांसद रहेका छन्। सांसद पन्थीले आफू सुरुदेखि नै माधव नेपाल समूहमै रहेको बताए।
‘म त पुस ५ पछि निरन्तर नेपाल समूहमै छु नि’-पन्थीले भने,-‘लुम्बिनीमा हामी शंकर पोखरेल नेतृत्वको सरकारलाई जोगाउन लागेको हो। पोखरेल सरकारलाई ढल्ल दिनुहुँदैन भनेर लागेको हो। तर, हामी उतै नै थियौँ।’
नेपाल समूहको बैठकले पार्टी एकता कायम गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेको छ।
दुई दुई पटक प्रतिनिधिसभा विघटन गरेको, नेकपा विभाजन र एमाले भित्र एकता कायम गर्न नसकेकोले पार्टी एकताका लागि नैतिकताका आधारमा राजीनामा दिन केन्द्रीय कमिटीलाई सुझाव दिने निर्णय गरिएको नेकपा एमाले रुपन्देहीका अध्यक्ष राजु गुरुङले बताए।
भदौ १५ भित्र पालिकास्तर जनवर्गीय संगठनको कमिटी निर्माण, भदौ मसान्तसम्म शाखा तहको कमिटी गठन र पुनर्गठन अघि बढाउने निर्णय गरेको नेकपा एमाले रुपन्देही उपसचिव सिद्धिचरण भट्टराईले बताए।