हरेक वर्षको श्रावण महिनाको षष्ठी तिथिको दिनमा यो पर्व मनाईन्छ । हिन्दू सनातन धर्म शास्त्र एवं पुराणहरुमा उल्लेख गरिएअनुसार यस पृथ्वीलोक लगायत सारा ब्रह्माण्डका पालनकर्ता भगवान श्री हरि विष्णुको कलि युगको अधर्म र असत्यको अन्तिम चरम अवस्थामा, भविष्यमा धर्म र सत्यको रक्षा र पुर्नस्थापना गर्न अन्तिम अर्थात् दशौं आवतारको रुपमा यस मानवयुक्त पृथ्वीलोकमा अवतरण हुने कल्की अवतारको दिनलाई समस्त हिन्दू धर्मावलम्बी मानिसहरुले धुमधामका साथ विधि विधान अनुरुप कल्की जयन्तीको रुपमा मनाइंदै आएको धार्मिक विश्वास र परम्परा छ । यसदिन हिन्दू नेपालीहरुले पनि भगवान विष्णुको शक्तिपुरुषोत्तम अवतार श्री कल्की भगवानको भक्तिगान, स्तुति एवं विधिवत् पूजाआजा र ध्यान, जप-तप गरीकन श्री कल्की जयन्ती मनाइन्छ ।हिन्दू धर्म ग्रन्थहरु एवं हिन्दू पुराणहरु मध्येको कल्की पुराण र श्री मद्भागवत् गीतामा कथन गरिएअनुसार वर्तमान कलियुगको अन्तमा पृथ्वीमा व्याप्त अत्याचार, पाप, अधर्म, लुटपाट, हत्या हिंसा इत्यादिको अन्त्य गरि कलियुगको समापन अर्थात् समाप्ति गरेर सबै जीवप्राणीको उद्द्वार गर्न र सत्कर्म, धर्म र सत्यको रक्षा गरि सती युगको यस जगतमा पुर्नस्थापना गर्न भगवान श्री हरि विष्णुले अन्तिम अवतारको रुपमा कल्की अवतार भविष्यमा धारण गर्ने छन् भन्ने व्याख्या गरिएको छ । तिनै ६४ विध्या एवं गुणयुक्त ब्रम्हाण्ड नायक, महाशक्तिपुरुषोत्तम अद्धितीय भगवान श्री कल्कीको जयन्ती हरेक श्रावण मास षष्ठीको दिनमा भगवान श्री कल्की अवतारको भक्ति र श्रद्धापूर्वक जप-तप ध्यान एवं विधिसंगत पूजाआजा गरीकन मनाइने प्रचलन हिन्दू समाजमा रहिआएको छ ।