हाम्रो गाउँघर वरिपरि पाइने कोइरालोको फूल हेर्दा सुन्दर मात्र छैन, यसबाट बन्ने अचारले जोकोहीलाई मोहित पार्न सक्छ । कोइरालो सहजै प्राप्त गर्न सकिने औषधिको गुणयुक्त वनस्पति हो, जसलाई तरकारी र आचारका रूपमा खान सकिन्छ । कोइरालोको फूललाई सुकाएर लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।
जनावरमा गरिएको अनुसन्धानअनुसार कोइरालोको फूलमा छालाको क्यान्सर नियन्त्रण गर्ने गुण हुन्छ । कोइरालोको बोका कलेजो (लिभर) टोनिकका रूपमा प्रयोग गरिन्छ । यसले कलेजो स्वस्थ राख्न सक्ने वैज्ञानिकहरू बताउँछन् । दम, जन्डिस (कमलपित्त), कुष्ठरोग, एन्टिमाइक्रोबिएल र छालासम्बन्धी रोग निदानमा पनि कोइराला लाभदायक हुने बताइन्छ । भारतमा गरिएको अनुसन्धानअनुसार यसमा पाइने पोलिफेनोलमा एन्टिइन्फ्लामेट्री गुण हुन्छ ।
यतिधेरै गुण भएको कोइरालो अचेल कहिलेकाहीं मात्र बजारमा देखिन्छ । वनबाट कोइरालो हराउँदैछ । नयाँ पुस्तालाई त यसको महत्त्व थाहा पनि नहोला । त्यसैले कोइरालो रोप्ने गरौं, आफू खात्री र अरुलाई पनि खान प्रोत्साहन गरौ ।