२५ जेठ २०८०, बिहिवार

कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु !

 जिल्लाको त्रियुगा नगरपालिका-२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोभिड सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो ।

सङ्क्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ सिल गरिएको छ । पन्ध्र दिनदेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम सुरु भएर बढ्दै गएसँगै पाँच दर्जनभन्दा बढी गाउँले सङ्क्रमित भएपछि शनिबार रातिदेखि यही साउन २४ गतेसम्मका लागि पूरै गाउँ सिल गरिएको वडाध्यक्ष खत्रीले बताए । 



स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार जिल्लामा १० दिन अघिसम्म पनि कोरोना सङ्क्रमण घट्दो दरमा थियो । एक हप्तायता पुनः सङ्क्रमण बढ्न थालेको उनले बताए । खैजनपुरमा सङ्क्रमण पुनः बढ्न थालेका कारण आज  बिहानदेखि स्वास्थ्यकर्मीको टोली परिचालन गरेर सबै गाउँलेको पीसीआर र एन्टिजेन परीक्षण सुरु गर्न लागिएको स्वास्थ्य कार्यलयका प्रमुख सुवेदीले जानकारी दिए । 

सङ्क्रमण फैलन थालेपछि खैजनपुरका दक्षिण-पूर्वको भूभाग जोगीदहसम्म र पश्चिम भुल्केसम्म र उत्तर त्रियुगा नदी किनारसम्मको क्षेत्रमा सिल गरिएको छ । गाउँ सिल गरेसँगै बिहान ७ देखि ९ बजेसम्म मात्र दैनिक उपभोग्य वस्तुका सामान्य पसल खोल्न अनुमति प्रदान गरिएको र सो समयबाहेकका समय पूर्णरूपमा लकडाउन गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *