हामीलाई लाग्न सक्छ, खुर्सानीमा पिरो सिवाय केही हुँदैन । वास्तवमा यसले कान तताउने अनि आँखामा आँसु ल्याउने मात्र गर्दैन, मेटाबोलिजम पनि बढाउछ । ब्रिटिस जर्नल अफ न्युट्रिसनमा प्रकाशित एक रिपोर्टअनुसार चार साता नियमित खुर्सानी (प्रतिदिन ३० ग्राम) खाने गरे रगतमा पाइने लिपोप्रोटिन अक्सिडेसन नियन्त्रण हुन सक्छ ।
खुर्सानीमा पाइने क्याप्सासिनका कारण स्वाद पिरो हुन्छ । क्याप्सासिन बियामा बढी पाइन्छ । बियाँ निकाल्दा खुर्सानी कम पिरो हुन्छ । खुर्सानीमा मोटोपन घटाउने गुण पनि हुन्छ यसले रगतमा इन्सुलिनको मात्रा बढाई मधुमेहका बिरामीमा बढ्दो ग्लुकोजलाई तह लाउँछ ।
हामीकहाँ धेरै प्रजातिका खुर्सानी पाइन्छन् तीमध्ये कुनै ज्यादै पिरा हुन्छन् भने केही कम । हाम्रो दैनिक भोजनमा उपयुक्त मात्रामा खुर्सानी प्रयोग गर्ने हो भने खानेकुराको स्वाद मात्र बढ्दैन, शरीरलाई स्वस्थ राख्न पनि मद्दत पुग्छ । त्यसैले सानै उमेरदेखि थोरै मात्रामा खुर्सानी खाने बानी बसाल्नु राम्रो हुन्छ ।