बेनीको न्युरोडमा आइतबार साँझ ड्युटीमा रहेका प्रहरीले चलाएको मोटरसाइकले सर्वसाधारणलाई ठक्कर दिएको छ । ठक्कर खानेमा हाडेभिरको ग्यारेजमा काम गर्ने सोनाम खान रहेका छन् ।
क्याम्पसचोकबाट हुलाकचोकतर्फ जादै गरेको बा २ ब ५८४६ नम्बरको प्रहरी चढेको मोटरसाइकल र हुलाकचोकबाट क्याम्पसचोक जादै गरेको ग ८ प ८८५१ नम्बरको मिस्त्री चढेको मोटरसाइकल जुधेर दुर्घटना भएको हो । घटनाका प्रत्यक्षदर्शी प्रमोद शर्माले पानी परिरहेको अवस्थामा दुई वटा मोटरसाइकल ठोक्किदा दुर्घटना भएको बताउनुभयो । प्रहरीको मोटरसाइकलमा दुई जना सवार थिए । अर्को मोटरसाइकलमा हाडेभिरको ग्यारेजमा काम गर्ने सोनाम खान नाम गरेको मिस्त्री सवार थिए । मोटरसाइकलमा सामान्य क्षति र सवार तीन जनालाई सामान्य चोटपटक लागेको छ । उनीहरु तीनै जनालाई तत्कालै स्वास्थ्य परिक्षण गराउन बेनी अस्पतालमा लगिएको थियो । घटनास्थलमा पुगेका स्थानीयले मदिराको गन्ध आएको र प्रहरी चढेको मोटरसाइकल गलत साइडमा गएर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुको भनाई छ ।
प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले सो दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको बताउनुभयो । उहाँका अनुसार मोटरसाइकल चलाएका प्रहरीको स्वास्थ्य परिक्षण गर्दा मापसे गरेको देखिएको छैन भने दुर्घटना भएको मोटरसाइकल चलाएका मिस्त्रीको सवारी चालक अनुमतिपत्र नभएको पाइएको छ ।
सामाजिक संजालमा प्रहरीको व्यापक विरोध भएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीले आफ्नो आधिकारिक फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गरेको छ ।