१७ चैत २०७९, शुक्रवार

तनावरहित जीवन !

आधुनिक मानिसले कुनै न कुनै बेला तनाव (स्ट्रेस) भोगिरहेको हुन्छ । अधिक तनाव हाम्रो लागि जोखिमपूर्ण छ । सकेसम्म तनाव कम गर्नुपर्छ । यसको निदान यसै गरी हुन्छ भन्न सकिदैन, किनभने तनाव उत्पन्न हुने कारण विविध हुन्छन् । धेरैजसो तनावको कारण हाम्रो जीवनशैली नै हो । जीवनशैली परिवर्तन गरेर तनाव घटाउन सकिन्छ । सकेसम्म प्रकृतिसँग नजिकको सम्बन्ध बनाएर जिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ । वर्षमा एक दिन भए पनि नदीमा गएर डुबुल्की लगाउने, पदयात्रा वा ट्रेकिङमा जाने, जनावरको सेवा गर्ने, बिरुवा र माटोसँग खेल्ने र हरेक दिन २-३ किलोमिटर हिँडने बानी गरे तनाव कम हुन्छ ।

नदीमा गएर स्नान गर्नुपर्ने (मकर सङ्क्रान्ति), तिहारमा जनावरको पूजा गर्ने, असार १५ मा हिलोसँग खेल्ने धान रोप्ने परम्पराले पनि हामीलाई वातावरण र जनावरसँगको सम्बन्धलाई महत्त्व दिएको प्रस्ट देखिन्छ । घरभित्र बाथरुममा नुहाउँदा शरीर हल्का (सफा) त हुन्छ, तर मन हल्का नहुन सक्छ । नदीमा गएर नुहाउँदा शरीर र मन दुवै चङ्गा हुन्छ । तन-मनमा एक किसिमको ऊर्जा थपिएँ अनुभव हुन्छ ।

बोटबिरुवाको सम्बन्ध मानिससँग अनादिकालदेखि चलिआएको छ । हाम्रा प्रकृतिप्रेमी पुर्खाले वरपीपल, तुलसीको पूजा गर्न थाल्नुलाई विविध पक्षबाट हेर्न सकिन्छ । तर, भौतिक प्रगतिसँगै यी सम्बन्ध टुट्दै गएको छ । त्यसैले हामी तनावमा हुन्छौं । जसरी हुन्छ तनाव कम गर्नुपर्छ। ध्यान, योग र प्राकृतिक जीवनशैलीबाट यो सम्भव छ।

योग शारीरिक र मानसिक स्वास्थ्यका लागि फलदायक हुने वैज्ञानिक अनुसन्धानबाट पुष्टि हुन थालेको छ योगको माध्यमबाट कोर्टिसोल, रगतको ग्लुकोज अनि प्लाज्मा रेनिनको मात्रा नियन्त्रण हुने गर्छ जसले गर्दा मेटाबोलिक डिजिज नियन्त्रण हुन सक्छ ।

योगको लोकप्रियता पश्चिमी जगतमा बढिरहेको छ सन् २०११ मा गरिएको अध्ययनअनुसार संयुक्त राज्य अमेरिकामा मात्र १ करोड ५ लाख मानिस योग गर्छन् । ४५ योगमा व्यायामका साथै नैतिक एवम् आध्यात्मिक तत्त्व पनि जोडिएका हुन्छन् अनुसन्धानकर्ताका अनुसार योगबाट व्यायामजत्तिकै वा त्योभन्दा बढी फाइदा मिल्न सक्छ

डिप्रेसन (निराशा) र तनावबाट बच्न पनि योगले विशेष भूमिका निर्वाह गर्न सक्छ । यसलाई हाम्रो दिनचर्यामा परिणत गर्न सकियो भने उच्च रक्तचाप तथा मोटोपन घटाउन, शरीरमा ऊर्जा प्रदान गर्न, छाला तन्तु र हड्डीलाई मजबुत बनाउन सकिन्छ यसका लागि तपाईंले दिनहुँ ३० देखि ४५ मिनेट समय छुट्टयाउनुपर्छ ।

आधुनिक व्यस्त जीवनमा तनाव हुनु स्वाभाविकै हो । तर, यसलाई सकेसम्म कम गर्नुपर्छ र सकिन्छ पनि। योग गरे रोग नलाग्ने अनि लागेको रोगको उपचारसमेत हुन सक्ने वैज्ञानिकहरू बताउँछन् केमोथेरापी गराइरहेका क्यान्सरका बिरामीमा गरिएको अध्ययनअनुसार प्राणायाम गरे निद्रा नलाग्ने, चिन्ता हुनेजस्ता समस्या कम हुन्छन् । औषधि उपचारका साथै उचित भोजन, व्यायाम र योगको सामूहिक असरबाट निरोगी हुन सकिन्छ ।

साना, तर महत्त्वपूर्ण निम्न आचरण सबैले दैनिक जीवनमा लागु गरौं:
१. खानेकुरा छनुअघि र शौचालय गएपछि साबुनपानीले हात धुन नभुलौं ।
२. दिनको दुईपटक दाँत माने बानी सानैदेखि बसालौ ।
३. दिनमा एउटा सिङ्गो फल खाने गरौं ।
४. सफा पानी प्रशस्त पिउने गरौं, घरबाहिर जाँदा उमालेर फिल्टर गरेको पानी थर्मसमा बोक्ने गरौं। प्लास्टिकको बोतलमा पाइने पानी किनेर खाने बानी निरुत्साहित गरौं ।
५. बिरामी नभए पनि वर्षमा कम्तीमा एकपटक रगत जचाऔं, रगतमा भएको चिल्लो र ग्लुकोजको मात्रा थाहा पाउने गरौं। ४० वर्ष उमेर पुगिसकेका छौं भने बेला-बेलामा आफ्नो रक्तचाप नाप्ने गरौँ ।
६. मासुको तुलनामा हरियो सागपात, फलफूल, दही र गेडागुडी खाने बानी बसालौं ।
७. ठिक समयमा सुत्ने, उठ्ने, खाने र चर्पी जाने आचरण निर्माण
गरौँ ।
८. सकारात्मक सोचका साथ शारीरिक र मानसिक रूपमा सक्रिय जीवन बिताऔं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *