१२ मंसिर २०७९, सोमवार

नदीका पक्षमा कविता !


कालीगण्डकी नदीमाथिको मनलाग्दी दोहनविरुद्धको अभियानमा कविहरू पनि एकाकार भएका छन् । कालीगण्डकी बचाउने पवित्र लक्ष्यप्रति कविहरूले सिर्जनाकामार्फत एक्येबद्धता जनाएका हुन् ।
निर्मम दोहन झेलिरहेको कालीगण्डकीलाई प्राकृतिक लयमा फर्काउन रचनात्मक दबाब बढाइरहेको ‘कालीगण्डकी बचाऔँ अभियान’ले कवितामार्फत राज्ययन्त्र र दोहनकारीमाथि खबरदारी सुरु गरेको हो । कविका कालीगण्डकी पक्षधर रचनालाई अभियानले ‘नदी सप्तक’ कृतिमा सङ्ग्रहित गरिने जनाएको छ । अभियानकर्मी आरके अदिप्त गिरीले देशभरका स्रष्टाका प्रतिनिधि कविता सङ्ग्रहमा समावेश हुने बताए ।
“खुलारूपमा कविता आह्वान गरेका छौँ, अहिलेसम्म ६० भन्दा बढी रचना प्राप्त भइसकेका छन्”, उनले भने , “अहिलेको समयका प्रसिद्ध कवि, लेखकहरूले पनि यस अभियानप्रति एक्येबद्धता र समर्थन जनाउनुभएको छ ।”
कवि श्रवण मुकारुङले रचेको ‘ए कालीगण्डकी…’ बोलको गीतलाई धुनबद्ध गर्ने काम भइरहेको अभियन्ता गिरीले सुनाए । कालीगण्डकी नदीको सभ्यता र महिमा बोल्ने मानक गीतका रूपमा त्यो स्थापित हुने उनको विश्वास छ । “कालीगण्डकी नदीले व्यहोरिरहेको सङ्कटलाई बाहिर ल्याउन हामीले काव्यको सहारा लिएका हौँ”, अभियानकर्मी गिरीले भने, “हरेक परिवर्तन र जनपक्षीय मुद्दामा स्रष्टाहरू जहिल्यै अग्रभागमा हुन्छन्, यसबाट हाम्रो अभियानलाई पनि सिर्जनात्मक र बौद्धिक बल प्राप्त हुन्छ ।”
अभियानका सिलसिलामा प्राप्त कवितालाई क्रमशः ‘डिजिटल’ सामग्रीका रूपमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने अभियानले जनाएको छ । सङ्कलित सबै कवितालाई पछि मात्र पुस्तकाकारका रूपमा प्रकाशन गरिने छ ।
यहाँका नदी र पर्यावरणप्रेमी युवाका बीचबाट केही महिनाअघि स्वतःस्फूर्त रूपमा जन्मिएको अभियानले बालुवा, गिट्टी उत्खननका नाममा भइरहेको अवैध दोहनको विरोधमा जनमत सिर्जनाको पहलकदमी अगाडि बढाएको छ । कोरोना महामारीको विषम स्थितिमा भौतिक कार्यक्रम गर्न नसकिए पनि सामाजिक सञ्जालका माध्यमबाट बौद्धिक विमर्श र बहस थालिएको अभियानकर्मी गिरीले बताए । क्रमिकरूपमा अन्य दबाबमूलक कार्यक्रम पनि गर्दै जाने योजनामा अभियानकर्मी छन् ।
“यो मामिला कुनै एक व्यक्ति, वर्ग, समुदायको होइन, यो सिङ्गो मानव जातिको साझा मुद्दा हो, सबै बोल्नुपर्छ”, अभियानकर्मी गिरीले भने, “बेलैमा सचेतरूपमा हस्तक्षेप गर्न सकिएन भने हाम्रा नदीनाला सबै नामेट हुनेछन्, यसले पारिस्थितिक प्रणालीमै ठूलो असर गर्नेछ ।”
उनले प्रकृति र मानवताप्रेमी जो–कोही नदीमाथिको क्रुर दोहनलाई टुलुटुल हेरेर बस्न नमिल्ने बताए । फोटो पत्रकारसमेत रहेका गिरीले कालीगण्डकी नदीको अस्तित्व सङ्कटमा पर्ने गरी ल्याइएको कालीगण्डकी ‘डाइभर्सन’ आयोजनाप्रति पनि बिमति राखे ।
नदी उत्खनन ‘डाइभर्सन’ जस्ता विषयमा राज्यले विकल्प दिनुपर्नेमा उनको जोड छ । गिट्टी, बालुवाका लागि खानीको विकास गर्नुपर्ने, ‘ड्याम’ बनाएर सङ्कलित नदीजन्य पदार्थलाई प्राधिकरणमार्फत वितरण गर्न सकिने अभियानकर्मी गिरीको भनाइ छ ।
कालीगण्डकी दोहनले नदीको सौन्दर्य र सभ्यता मात्र नासिने नभई समग्र मानव–प्रकृति चक्रलाई दुःखान्त स्थितिमा पुर्याउने भएकाले विरोधमा उत्रनुपरेको अभियानले जनाएको छ । धार्मिक, सांस्कृतिक गरिमा, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि जोडिएको कालीगण्डकी नदीलाई आफ्नै प्राकृतिक स्वरुपमा बग्न दिनुपर्ने अभियानकर्मीहरूको माग छ ।
विश्वमै दुर्लभ शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्रस्थल मानिन्छ । हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्ति क्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकी देशको मध्यभागको प्रमुख नदी–प्रणाली हो ।
कालीगण्डकीसँग आफ्नै प्राचीन सभ्यता छ । मुक्तिनाथबाट देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलले यसको धार्मिक महत्व एवं सांस्कृतिक पाटोलाई दर्शाउँछ । पछिल्ला वर्षमा पर्यावरणीय सन्तुलन नै खल्बलिने गरी कालीगण्डकीको तीव्र दोहन भइरहेको छ ।
राज्यको उचित र कठोर नीति नहुँदाको फाइदा उठाउँदै मनपरी ढङ्गले कालीगण्डकीमाथि दोहनको चक्र चलिरहेको छ । ठूला यन्त्र, उपकरणको सहायतामा भइरहेको दोहनका कारण नदी बिरुप बनिरहेको छ । अप्राकृतिक दोहनकै कारण वर्षातमा नदीको धार परिर्वतन हुँदा बाढीलगायतका विपद् निम्तिइरहेका छन् । कालीगण्डकी किनारमा बसोबास गर्ने लाखौँ मानिसको थातथलो र जीविका जोखिममा छ, र पनि दोहन भने चलिनै रहेको छ । नागरिक तहबाट बेलाबेला आवाज त उठ्ने गरेको छ, तर त्यो मधुरो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *