हरेक वर्षको श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी पर्दछन् । यसवर्ष श्रावण २९ गते शुक्रबारको दिन नाग पञ्चमी परेका छन् । यसैदिन हिन्दू धर्मावलम्विहरुका घरका ढोकाहरुमा नागको पूजा गरि तस्वीर समेत टासिँदै छ । नागको सम्मानमा गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिन्छ । वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । ब्राह्मण पुरोहितबाट पूजाआजा गरि घरको ढोकामाथि टाँसिन्छ । घरमा नाग टाँसेपछि यसदिन खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।किन गर्ने नागको पूजा ?नागको पूजागर्दा वर्षभरि घरघरमा नागले दुःख दिँदैनन् भन्ने विश्वास गरिन्छ । नाग पूजाको प्रचलन वैदिक काल अघिदेखि नै चल्दै आएको र आर्य समाजले जहाँजहा रहे पनि कायम राखेको छ । हिन्दूधर्ममा नागलाई सर्पहरूका राजा मानिन्छ । पानीविना जीवहरू बाँच्न सक्तैनन् । नागहरू रिसाए भने पानीको अभाव सिर्जना गरिदिन्छन् । त्यस्तो सङ्कट नपरोस् भनेर पनि नाग पूजा गरिन्छ । नाग रिसाएर घर छाडी गएमा घरको जग नै पल्टिने वा घरमा दुःख दिने हुँदा घरको जग हाल्दा पनि नागपूजा गर्ने चलन छ ।हिन्दुहरू नागलाई शिव र विष्णुका रूपमा पूजा गर्दछन् । शिवले नागको माला लगाएका छन् र विष्णु जलमाथि शेषनागको शैयामा फणको छाता ओढी सुतेका हुन्छन् । गणेशको एक हातमा पनि नागवाण छ । कृष्णका दाजु बलराम र रामका भाइ लक्ष्मण शेषनागका अवतार मानिन्छन् । कृष्णले बालककालमै कालीनागको दमन गरेको प्रसङ्ग पाइन्छ । बुद्धमूर्तिको शिरमा मुकुटाकारका सर्पका आकृति छन् । जैन तीर्थहरहरूका शिरमा सर्पकार मुकुट हुन्छन् । पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेका थिए । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला छ । यी प्रमाणबाट नाग माहात्म्य बुझन सजिलो हुन्छ । भनिन्छ जुन घरमा नागको वास हुन्छ त्यो घरमा लक्ष्मीको वास हुन्छ । नागपञ्चमीका बारेमा एउटा किंवदन्ती यस्तो छःएकपटक एकजना किसानले खेत खनिरहेका बेलामा नागका तीनवटा बच्चा भेट्टायो र सबैलाई मारिदियो । ती बच्चाकी आमा आहारको खोजी गरी फर्केर आउँदा सबै बच्चा मृत अवस्थामा देखेर दुखित भई विलाप गर्न थाली । ऊ रिसाएर जसले मेरो बच्चा मार्यो उसलाई र उसको परिवारलाई मार्छु भनी त्यो किसानलाई लखेट्न थाली । उसले किसानलाई मारी र उसको घरतर्फ लागि । घरपरिवारका अन्य चारजनालाई पनि डसेर मारी तैपनि उसको रिस मरेन । किसानकी छोरी घरबाहिर रहेकीलाई पनि फणा उठाएर डस्न खोज्दा त्यो केटीले नगिनीसँग प्रार्थना गर्दै माफी मागेर बाँच्न पाऊँ, म तपाईलाई दूध पिउन दिन्छु भन्दै रोइकराई गर्न थाली । कचौरामा दूध ल्याएर नगिनीका अगाडि राखिदिई । सौभाग्यवश त्यो दिन श्रावण शुक्ल पञ्चमी परेको थियो । नगिनीलाई थकाइ, भोक प्यास पनि लागेको हुँदा उसले त्यो दूध पिएर आफूलाई शान्त पारी र ती कन्यालाई जीवनदान दिई । उसले अरु पनि केही माग्नुछ भने माग मं बरदान दिन्छु भनी । त्यसपछि किसानकी छोरीले हत्तपत्त मौका छोपी मरेका मेरा मातापिता र दुवै भाइलाई जीवनदान दिनुहोस् भनी नगिनीले तथास्तु भन्दै वरदान दिएर अलप भई ।यसरी एकजना किसानका परिवारलाई मृत्युको मुखबाट बचाएको सम्झनामा नागपूजा गर्न थालियो । त्यसै गरी गुरु गोरखनाथले नौ नागका आसनमा बसी बाह्र वर्षसम्म तपस्या गरेको जस्ता अनेक प्रसङ्गहरू पनि पाइन्छन् । यसदिन बिहानै घर सफा शुद्ध पारेर सुनपानी छर्केर नागको तस्विरमा विधिपूर्वक पूजा गरेर ढोकामाथि नाग टासिन्छ । वेद, पुराण उपनिषद्हरूमा नागमाहात्म्यको उल्लेख पाइन्छ भने साउनमा पानी बर्साउनमा, मेघ र अग्निबाट सुरक्षा दिएर शान्ति ल्याउनमा नागको विशेष भूमिका रहने बताइन्छ ।विश्वमा सबैभन्दा मूल्यवान् रहेको मणि शिरमा धारण गर्ने अक्षय खजाना पनि नागसँगै हुन्छ । नागहरू श्रीखण्डको सुगन्ध मन पराउँछन् । सङ्गीत भनेपछि हुरुक्कै हुन्छन् । गर्मीमा दुलोभित्र बस्ने र श्रावण शुक्ल पञ्चमीमा बाहिर निस्किने हुँदा वर्षा गराउनका लागि पनि नागलाई प्रसन्न राख्न आवश्यक छ । त्यसैले नागपञ्चमीमा नागपूजा गरिन्छ । नागका बाह्र नामहरू छन् जस्तै (१) अनन्त, १२) बासुकी, (३) पद्म, (४) शेष (५) कुलीक (६) कर्कोटक, (७) अश्वतर ८) तक्षक, (९) पिङ्गल, (१०) शङ्ख, (११) गोमन र (१२) महापदम । यी बाह्रवटा नागको स्मरण गरी पूजा गर्नुपर्दछ भनिएको छ तर हामी प्रायः अष्ट नागकै पूजा गर्ने गर्दछौं । ती हुन् अनन्त, वासुकी, पदम, महापद्म, तक्षक, कुलीक, कर्कट र शङ्ख । नागपञ्चमीका दिन खेतमा खनजोत गर्नुहुँदैन र सर्प मार्नु हुँदैन भन्ने मान्यता रहेको छ । भक्तपुरबासीहरूले नागपञ्चमीलाई अर्को विश्वासका साथ मनाउँछन् । यस विषयमा एउटा किंवदन्ती यस्तो छः एकपटक एकजना तान्त्रिक आफ्नो तन्त्रविद्याद्वारा नागको रूप धारण गरी सिद्धपोखरीमा गएर त्यहाँको डर लाग्दो सर्पलाई मारेको थियो । पोखरीमा प्रवेश गर्नुपर्व उसले आफ्नो साथीलाई भनेको थियो ‘म पोखरीबाट निस्केपछि तिमीले मन्त्र पढेर मलाई मान्छेमै फिर्ता गर्नू’ । पोखरीको डर लाग्दो सर्पलाई मारेर त्यो तान्त्रिक पोखरीबाहिर त निस्क्यो तर उसको साथी डर लाग्दो नागको आकृति देखेर डरले भाग्यो र मानिसमा फिर्ता हुन चाहने तान्त्रिक सर्प नै रहिरह्यो । त्यसैले भक्तपुरेहरूले उक्त तान्त्रिक सिद्धपोखरीमा सर्पकै रूपमा बाँचिरहेको छ भन्ने विश्वासका साथ नागपञ्चमीकै दिनमा सिद्धपोखरीमा गएर पूजा गर्दछन् । भविष्यपुराणको ब्राह्म पर्वमा नागको विष लागेर मृत्युको निकट पुगेको व्यक्तिको प्राण रक्षा गर्न मयूरको पित्त, बिरालीको पित्त, गन्धनाडीको जरा कुमकुम, तगर, कूट, कासमर्दको छाला तथा उत्पल, कुमुद र कमल यी तीनका केसर सबैको समान भाग लिएर गोमूत्रमा मिसाई पिसेर नस दिने वा गाजल लगाउनाले नयाँ जीवन प्राप्त गर्दछ । जहाँ ‘ॐ कुरुकुल्ले फट् स्वाहा’ मन्त्रको जप हुन्छ त्यहाँ कुनै सर्प आउँदैन भन्ने विश्वास गरिन्छ ।
बुलबुल साप्ताहिक समाचारपत्रबाट