जीवन यात्रा हो, यसलाई पूरा गर्न पाइला (पद) चाल्नुपर्छ । अन्य साधनबाट भन्दा आफ्नै पदबाट गरिएको यात्रा वा हिँडाइको विशेष महत्त्व छ । पदयात्रा साधना पनि हो, जसले शारीरिक र मानसिक स्वस्थता प्रदान गर्छ । सामाजिक र राजनीतिक चेतना जगाउन विभिन्न नेता, अभिनेता पदयात्रामा निस्कन्छन् । यसले आन्तरिक शक्ति उजागर गर्छ, व्यक्ति र प्रकृतिसँग भावनात्मक एकता कायम राख्छ ।
पाइला चलेपछि शरीरका सम्पूर्ण अङ्ग सक्रिय हुन्छन् । शरीरलाई चुस्त राख्न कठिन व्यायाम वा योग गर्न नसके पनि पाइला चाल्नु अर्थात् हिँडडुल गर्नुपर्छ। छोटो होस् वा लामो । स्वस्थ हुने सबैभन्दा सजिलो उपाय हिँड्नु नै हो । मानिसलाई स्वतन्त्रता प्यारो हुन्छ र यसको राम्रो उपभोग हिँडेर गर्न सकिन्छ (विशेष गरी एक्लै हिँडेर तपाईंले यस्तो महसुस गर्नुभएको छ ? बढी हिँडडुल गर्ने मानिस छरिता हुन्छन् अनि बढी स्वस्थ रहन्छन् । मोटोपनको समस्या ज्यादै कम हुन्छ ।
हिँड्ने संस्कृतिका सम्बन्धमा जापानी र अमेरिकी समाजलाई दाँज्न सकिन्छ । जापानीहरू अमेरिकीको दाँजोमा बढी हिँड्ने गर्छन् । सन् २००२ को रिपोर्टअनुसार जापानमा १५ वर्ष वा त्योभन्दा माथि उमेरका मानिस दैनिक औसत ७ हजार ४ सय २१ पाइला हिँड्छन् । अमेरिकामा भने पुरुष ५ हजार ८ सय ४० पाइला र महिला ५ हजार २ सय ७६ पाइला मात्रै हिँड्छन् । यसको अर्थ जापानीले हिँडडुलबाट अतिरिक्त करिब सय क्यालोरी खपत गर्छन् ।
घना आवादी भएका सहरमा नजिकै किनमेल गर्न जाँदा जापानीहरू कार वा सार्वजनिक यातायात प्रयोग गर्नुको सट्टा हिँड्ने गर्छन् त्यहाँका धेरैजसो बालबालिका सानैदेखि हिँडेरै स्कुल जाने गर्छन्, जबकि अमेरिकाका बालबालिका अभिभावकसंग मोटरगाडी वा स्कूल बसमा जान्छन् ।
यातायातको सुविधा राम्रो नभएको हाम्रोजस्तो मुलुकमा हिँडेरै एक ठाउँबाट अर्को ठाउँमा पुग्नुपर्छ । पहाडतिर छन् बढी हिँड्नुपर्छ । हिंड्नु हाम्रो लागि अनिवार्य आवश्यकता हो । त्यसैले नेपालीको शारीरिक सक्रियता हिडडुलबाट बढी हुन्छ । सम्पन्न परिवार अनि सहरिया वातावरणमा बस्ने मानिसमा भने हिँडाइ कम हुँदै गएको छ।
शारीरिक सक्रियता कायम राख्न कम्तीमा पनि सातामा ५ दिन २० देखि ३० मिनेटसम्म व्यायाम गर्न जरुरी छ । मायो क्लिनिकका अनुसार नियमित हिँड्ने गरे उच्च रक्तचाप, मधुमेह अनि कोलेस्टेरोल नियन्त्रणमा रहन्छन् । ट्रेकिङ गएर फर्कदा शरीर थाके पनि तपाईं मस्तिष्कमा नयाँ अनुभव र ऊर्जा थपिएको अनुभव गर्न सक्नुहुन्छ । शरीरको वजन र मुडलाई राम्रो राख्न हिँडडुल लाभदायक छ । मुड खराब भयो वा रिस उठ्यों भने एकै छिन बाहिर हिँड्ने गर्नुहोस् वा दगुर्नुहोस्, तपाईंको मुड सकारात्मक हुन थाल्छ ।
विकसित मस्तिष्क नै मानव जातिको परिचय हो। मस्तिष्क थाक्नु हुँदैन, यसमा ऊर्जा भरिनुपर्छ । धन होस् वा क्यालोरी, अधिक सञ्चयभन्दा उपयोग गर्न हाम्रो लागि लाभदायक हुन्छ ।
अमेरिकन हार्ट एसोसिएसनका अनुसार हिँड्ने गर्नाले क्यान्सर र हृदयरोग लाग्ने सम्भावना कम हुन्छ । त्यसैले मोटरगाडी नहुनेले मात्र होइन, फुर्सद, व्यस्त, धनी, गरिब सबैले हिँड्न जरुरी छ । वैज्ञानिकहरूका अनुसार फुर्सदको समयमा शारीरिक रूपमा सक्रिय हुनेहरू बढी बाँच्ने सम्भावना हुन्छ । राम्ररी हिँड्न सक्नेको आन्तरिक प्रणाली ठिक रहेको अनुमान गर्न सकिन्छ ।
हिँडाइको गति आफ्नो इच्छाअनुसार तय गर्न सक्नुहुन्छ जति धेरै पाइला चाल्नुहुन्छ, त्यति नै बढी स्वस्थ हुने सम्भावना रहन्छ जुन चीज जसका लागि बनेको हो त्यसको उपयोग त्यसैका लागि हुनुपर्छ । त्यसअनुरूप नहुनु भनेको अप्राकृतिक हो, विकृति हो, रोगी अवस्था हो हाम्रा पाइला चल्नका लागि बनेका हुन् । पाइला चाल्दै गरौं। यो हाम्रो कर्तव्य पनि हो । यसैमा हाम्रो कल्याण छ ।