शनिबार राती आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको रेडियो मेलम्चीको भवन बगाएको छ । राती साढे १२ बजे रेडियो मेलम्चीको भवन भत्काएर बगाएको स्टेशन मेनेजर देवराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार मध्यरातमा मेलम्ची खोलामा आएको बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा घरको भवन पनि बगाएको छ । राती आएको बाढीले धार परिवर्तन गरेर खोला छेउछाउका घर बगाउनुका साथै प्रहरी चौकीको भवन र रेडियो मेलम्चीको भवन बगाएको हो ।
यसअघि असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबेपनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन । बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो । तर शनिबार राती आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको रेडियोका स्टेशन म्यानेजर सुवेदीले बताए । मध्यराती आएको बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।